अवसरवादी हाेइन म मूर्ख भएँ

ZEN Travels

पाली कांग्रेसभित्रको राजनीतिमा मीनेन्द्र रिजाल चिनाउनुपर्ने नाम होइन । धरानमा जन्मेर मोरङलाई राजनीतिक कर्मक्षेत्र बनाएका मीनेन्द्रले पछिल्लो समय मोरङबाटै सांसद बन्ने बाटो तयार पारेका हुन् । उनलाई पितापुर्खाकै पालादेखि मीठोमसिनो खान र राम्रो लगाउन दुःख थिएन।

२००० सालसम्म धनकुटा बस्दै आएका उनका चारभाइ बुबाहरु धरान झरे । आ–आफ्नो सुर गरेका रिजाल परिवारका दुई भाइ त्यहाँबाट पनि विराटनगर बस्न थालेका हुन् । डाक्टर रिजालका जेठो दाजुबाहेक सबै तीन भाइ धरानमा जन्मे र हुर्के । कक्षा तीनसम्मको अध्ययन धरानमै सकेका रिजाल परिवार २०२२ सालमा स्थायीरुपमै विराटनगर झयो ।उनले जनता हाइस्कुलबाट विद्यालय शिक्षा पूरा गरे भने उच्च शिक्षाका लागि काठमाडौं आएर अमृत साइन्स कलेजमा भर्ना भए । रिजालको ध्यान त्यतिबेला राजनीतिभन्दा बढी पढ्नमै थियो।

स्कुलदेखि नै राजनीतिमा चाख राख्ने रिजाल विद्यालय शिक्षादेखि नै तेज थिए । सधैंजसो कक्षामा प्रथम हुने उनी कक्षा ६ मा अध्ययनकै क्रममा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्वागतमा विराटनगर विमानस्थल पुगेका थिए । त्यहाँ रिजालका काका महाप्रसाद पनि बिपीको स्वागतमा पुगेका रहेछन् । काकाले पनि ‘तँ पनि आइस् ? ठीकै गरिस्’ भनेपछि उत्साहित बनेका मीनेन्द्रको दिमागमा बिपीको स्वागतमा आएर गज्जब काम गरेँछु भन्ने पस्यो । त्यससँगै राजनीतिप्रति उनको आकर्षणलाई अझ बलियो बनायो । बिपी स्वागतमा पुगेको केही समय बित्न नपाउँदै कक्षा ६ मै अध्ययनरत रिजालले विद्यार्थी युनियनको निर्वाचनमा प्रतिस्पर्धा गरे र जिते पनि।

नेता रिजालका भिनाजु मोहन सापकोटा त्यतिबेला कांग्रेसी राजनीतिमा सक्रिय थिए । राजनीतिमा चाख राखेर निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका उनलाई भिनाजु मोहनले नामै कांग्रेस राखिदिए । ‘भिनाजुले मीनेन्द्र होइन कि कांग्रेस नै भनेर बोलाउन थाल्नुभयो,’ रिजाल बाल्यकाल स्मरण गर्दै भन्छन्, ‘त्यसले राजनीतिमा लाग्न थप उत्साह मिल्यो ।’ कक्षा ५ मा अध्ययन गर्दा रिजालका हेडसर दुर्गा सुवेदी थिए । उनी पनि कांग्रेसी राजनीतिका चलेको नाम थियो । सुवेदीका कारण पनि राजनीतिमा लाग्न प्रेरणा पाएको उनले सुनाए।

२०२९ सालमा देशव्यापी विद्यार्थी आन्दोलन भयो । त्यतिबेला दश कक्षामा अध्ययनरत मीनेन्द्रले आफ्नो स्कुलबाट आन्दोलनको अगुवाइ गरे । २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनापछि बिस्तारै त्यहाँ जोडिएका उनका सहपाठीमध्येका एक संघीय समाजवादी फोरमका नेता अशोक राई पनि थिए।

एसएलसीमा राम्रो अंक ल्याएर पास भएका रिजाल उच्च शिक्षाका लागि काठमाडौं आए । आइएस्सी अध्ययनका लागि उनी अमृत साइन्स कलेजमा भर्ना भए । पढाइतिर बढी ध्यान दिनुपर्छ भन्ने मानसिकता बोकेका रिजाल राजनीतिमा थोरै समय मात्र सक्रिय भए । तर बिएस्सी पढ्न थालेपछि राजनीतिक रफ्तार पुनः बढाए । यही कारण उनी २०३३ सालमा जेलसमेत परे।

त्रिचन्द्र कलेजमा अध्ययन गर्दाताका रिजाल त्यहाँको युनिट अध्यक्ष बने । आन्दोलनका लागि नेविसंघले केन्द्रीय अध्यक्षकै नेतृत्वमा भ्याली कोअर्डिनेसन कमिटी गठन ग¥योे । त्रिचन्द्रबाट रिजाल उक्त कमिटीमा सहभागी थिए भने कीर्तिपुरबाट बलबहादुर केसी र शिव भुर्तेल, महाराजगञ्जबाट प्रकाशशरण महत र वाल्मीकि क्याम्पसबाट इन्द्रमणि अधिकारी सहभागी थिए । जसको काम आन्दोलन गर्ने र कार्यक्रम बनाउने थियो । त्यसबेला नेविसंघका केन्द्रीय अध्यक्ष शेरबहादुर देउवा थिए।

२०३५ सालको आन्दोलन स्मरण गर्दै रिजाल सुनाउँछन्, ‘क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिइने घोषणाको विरोधमा हामीले त्रिचन्द्र ठप्प बनायौं ।’ उनीहरुलाई जस्तै बिपी कोइरालालाई पनि तत्कालीन सरकारले फाँसीमा चढाउँछ कि भन्ने डरका कारण विद्यार्थीलाई आक्रोशित बनाएको थियो।

पाकिस्तानकी प्रधानमन्त्री बेनेजीर भुट्टोका पिता जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको विरोधमा नेविसंघले प्रदर्शन गर्नुका साथै पाकिस्तानी दूतावासमा ज्ञापनपत्र बुझाएको थियो । प्रहरीले हस्तक्षेप गरी बलबहादुर केसीसहितका विद्यार्थी नेताहरुलाई गिरफ्तार गर्याे । विद्यार्थीमाथि हस्तक्षेपको विरोधमा फेरि अर्को दिन विरोधस्वरुप बन्द गर्याे । संघले सुरु गरेको आन्दोलनप्रति कांग्रेसभित्र पनि दुई धार देखियो । जसले गर्दा आन्दोलन घोषणामा भने केही दिन विलम्ब भयो । औपचारिक आन्दोलन घोषणा भएको तेस्रो दिन रिजाल गिरफ्तार भएर जेल परेका थिए।

भुट्टोलाई फाँसी दिइएको विरोधमा भएको आन्दोलनले त्रि–चन्द्र क्याम्पसको परीक्षा रोकियो । यसबाट विद्यार्थीलाई असर गरेकामा आन्दोलन अघि नबढाउने तर उक्त परीक्षा भने विश्वविद्यालयलाई अर्को दिन सारिदिन आग्रह गरे । कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले त्यसका लागि पहल गर्दै विश्व विद्यालयका उपकुलपति जगतमोहन अधिकारी (मनमोहन अधिकारीका भाइ) लाई आग्रह गरे । अधिकारीलाई फोन गर्दै भट्टराईले भनेको स्मरण गर्दै रिजाल सुनाउँछन्, ‘त्रिचन्द्रको जाँच रोकिएछ । विद्यार्थीहरुको भविष्य बिग्रने भयो । त्यहाँको सबै तहको जाँच अर्कोदिन गराइदिनुस्।’

तर, अधिकारीले उक्त कुरा सुन्न तयार नभएको बताउँदै रिजालले भने, ‘बिपी र राजाबीचको दूरी बढाउने यही मौका हो जस्तो ठानियो र कुनै पनि हालतमा परीक्षा नसार्ने भएपछि आफ्ना मागसहित औपचारिक रुपमै विद्यार्थी हड्ताल सुरु गरेका हाैं।’

त्यसअघि नै केसी र मल्ल थुनामा परिसकेका थिए । राष्ट्रिय मेलमिलाप नीतिसहित बिपी कोइरालाको स्वदेश फिर्ताले आन्दोलनको वातावरण बन्दै गएको थियो । विद्यार्थी आन्दोलन घोषणाले डढेलोकै रुप लिन पुग्यो र त्यसकै बलमा २०३६ सालमा जनमत संग्रह घोषणा भयो । त्यसबेला रिजाल नेविसंघको केन्द्रीय सदस्य थिए।

विद्यार्थी संघको राजनीतिमा सक्रिय रिजालले जनकपुर महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भए । यसपछि उनी अध्ययनका लागि २०४४ सालमा अमेरिका गए । नौ वर्षसम्म उनी त्यहीँ अध्ययनमा व्यस्त रहे । नेपालमा प्रजातन्त्र पुनर्स्थापना हुँदा रिजाल न्युयोर्क विश्व विद्यालयमा पिएचडी गर्दै थिए।

‘२०४८ सालको आम निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बनेपछि अवसरको खोजीमा गुटुटु आउनुपर्ने हो नि तर म आइनँ,’ रिजाल भन्छन्, ‘तीन वर्ष सोही विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रुपमा पढाएँ।’

रिजाललाई नेपाल आउने चाहना थियो तर नेपाल फर्कने साइत नजुरेका बेला पार्टी नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन अमेरिका पुगे । त्यस क्रममा रिजाल र देउवाको भेट भयो । विद्यार्थी राजनीतिकै समयमा सँगै काम गरेका देउवाले रिजाललाई स्वदेश फर्कन प्रस्ताव गरे । ‘नेपाल फर्कन त मन लागिरहेको थियो, उहाँले मलाई हिँड्नुस् भन्नुभयो । प्रधानमन्त्रीले हिँड्नु भनेपछि उत्साहकै कुरा भयो,’ रिजाल भन्छन्, ‘मेरा साथीहरु प्रकाशशरण महतसहितले मीनेन्द्रजी जाने हो भन्नुभयो । तर, प्रधानमन्त्रीले पत्याउनु भएन।’

नेपालबाट अमेरिका आएका व्यक्ति स्वदेश फर्कने कुरा गर्छ तर कोही नफर्केने प्रधानमन्त्री देउवाले जवाफ फर्काएका थिए । देउवाले भने जस्तै मीनेन्द्र तत्कालै स्वदेश फर्केनन् । ‘विश्व विद्यालयमा पढाइरहेको थिएँ,’ उनले भने, ‘एक वर्षको करार थियो र फर्कने हुँदा पहिला नै जानकारी गराउनुपर्ने भएकाले प्रधानमन्त्रीलाई करार नसकिउञ्जेल आउन नसक्ने जानकारी गराएँ ।’ यसपछि उनी २०५३ सालमा मात्र उनी नेपाल फर्किए । नेपाल फर्केको दुई साता नबित्दै तत्कालीन प्रधानमन्त्री देउवाले रिजाललाई राजनीतिक सल्लाहकारमा नियुक्त गरे।

‘बिपीलाई नजिकबाट हरेक दिन जसो काठमाडौंमा भेटेर कुरा सुन्ने अवसर नपाएको भए सायद म अमेरिकाबाट फर्कन्न थिएँ होला,’ रिजाल भन्छन्, ‘फर्कनुपर्ने केही पनि थिएन । राम्रै करियर बनेको थियो तर राजनीति प्रतिको मेरो हुटहुटीले नेपाल फर्कायो।’

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार रहँदासम्म सक्रिय राजनीति गर्नेबारे उनले सोचेका थिएनन् रे ! त्यसैले त काठमाडौं विश्व विद्यालयका उपकुलपछि सुरेशराज शर्माको आग्रहमा पार्ट टाइम पढाउन थालिसकेका थिए । त्यसको केही वर्षपछि आफैँ अध्यक्ष भएर एपेक्स कलेज स्थापना गरे र त्यहाँ पनि पढाउन थाले । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हटेपछि रिजाल विश्व बैंक, युएनडिपी, एडिबीजस्ता धेरै संस्थाको कन्सलट्यान्सीमा व्यस्त भए।

शेरबहादुर देउवा २०५८ सालमा दोस्रोपटक प्रधानमन्त्री भए । देउवाले उनलाई त्यतिबेला पनि राजनीतिक सल्लाहकारका लागि प्रस्ताव गरे तर उनले राष्ट्रिय योजना आयोगको सदस्य हुन चाहेको बताए । प्रधानमन्त्री देउवा यसमा सहमत भए।

राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते देउवा नेतृत्वको सरकारले निर्वाचन गराउन नसकेको भन्दै अपदस्थ गरे । केही दिनपछि लोकेन्द्रबहादुर चन्द नेतृत्वमा सरकार भयो । त्यसपछि योजना आयोगबाट उपाध्यक्ष नारायण खड्कासहित राजाको कदमको विरोध गर्दै सामूहिक राजीनामा दिए । लोकतान्त्रिक सिद्धान्तप्रति निष्ठा राख्ने व्यक्तिका सामु राजाको यो क्रियाकलाप असह्य थियो । तसर्थ उनले राजनीतिमा सक्रिय नै हुनुपर्ने आवश्यकता महसुस गरे । आवश्यकतालाई देउवाले पार्टी केन्द्रीय सदस्यका मनोनित गरेर बाटो खुलाए।

त्यो बेला उनलाई विश्व बैंकबाट राम्रो जागिरको अफर आएको थियो । अर्कोतिर राजाले अपदस्थ गरेर सडक संघर्षमा पुगेको पार्टी र शेरबहादुर देउवा थिए । ‘मैले विश्व बैंकको अफर छाडेर प्रधानमन्त्रीबाट हटाइएका शेरबहादुर देउवासँगै हिँडेँ,’ रिजाल सम्झन्छन्, ‘सबैले मलाई एकातिर मूर्ख भन्थे । विश्व बैंकको जागिर खाँदा पनि मलाई धर थिएन । त्यस्तो बेलामा मलाई अवसरवादी भन्थे । अब मेरालागि मूर्ख हुने कि अवसरवादी बन्ने भन्ने दुई बाटा थिए । मैले मूर्ख बन्ने बाटो समातेँ र  पार्टीको केन्द्रीय सदस्य भएँ।’

माओवादीविरुद्ध संकटकाल लगाउने विषयमा पार्टीभित्र विवाद हुँदा तत्कालीन प्रधानमन्त्री देउवाले संसद विघटन गरेपछि त्यतिबेला नेपाली कांग्रेस विभाजित भइसकेको थियो । गिरिजाप्रसाद कोइराला नेतृत्वमा नेपाली कांग्रेस र देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएको थियो।

राजाले असोज १८ को कदम नउठाएको भए उनी सक्रिय राजनीतिमा हुने थिएनन् भन्ने लाग्छ । उनी भन्छन्, ‘योजना आयोगको उपाध्यक्ष हुन्थेँ होला । पार्टीलाई कुनै न कुनै ढंगले योगदान गर्थेँ होला । पार्टीले कहाँसम्म कति काम लगाउँथ्यो थाहा थिएन तर अहिलेजस्तो दिनरात क्रियाशील राजनीतिबाट पार्टीको नेता, देशको मन्त्री, सांसद हुनेबाटो हुने थिएन।’

पार्टी राजनीतिमा निकै सक्रिय र व्यस्त रिजाल कांग्रेसको १२ औं महाधिवेशनपछि देउवा गुटबाट अलग भए । तत्कालीन सभापति सुशील कोइरालासँग नजिक भएर काम गरे रिजालले । ‘मेरो राजनीतिक जीवनलाई मलजल गरेर अघि ल्याउन शेरबहादुर देउवाको योगदान महत्वपूर्ण छ,’ रिजाल भन्छन्, ‘सुशील कोइरालाले दिनुभएको जिम्मेवारीले थप मद्दत पुग्यो।’

तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि भएको पार्टीको १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा संसदीय दलको मात्र होइन पार्टी नेतृत्वमा पुगे । देउवाविरोधी गुटमा पुगेका रिजाल त्यसपछिका दिनमा फेरि एकपटक दुविधामा परे । पार्टी नेतृत्वबाट सहयोग नहुने आँकलन गरेका उनले अब राजनीति गर्ने कि नगर्ने भनेर सोच्न थाले।

‘पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछिको सुरुका दिनमा आन्दोलन गरेर सत्ताजस्तै थियो,’ रिजाल भन्छन्, ‘पार्टीभित्रका मेरा नजिकका साथीहरुको भागभङ्गी आन्दोलनबाट सत्ता पल्टाएजस्तै थियो । राजनीति गर्ने कि नगर्ने मेरा लागि ठाउँ छ कि छैन ? राजनीति छाड्ने समय आएको कि भन्ने लागेको थियो।’

२०५९ सालदेखि संविधान निर्माणसम्मका मुलुकभित्रको राजनीतिक उतारचढावमा व्यस्त रिजाल फुर्सदिला बने । त्यसपछि रिजाल फेरि अध्ययनमा जुटे । विल डुरान्टको ‘हिस्ट्री अफ सिभिलाइजेसनको १४ हजार पेजको किताब अनलाइनबाट किने र अध्ययन सुरु गरे । मानसिक रुपमा पार्टीमा मेरो काम छैन, अब यसबाट बाहिर जानुपर्छ भन्नेमा पुगेका रिजालले झन्डै एक वर्ष लगाएर किताब पढेर सके । जुन किताब बिपी कोइरालाको पनि प्रिय थियो।

‘पार्टीमा अब मेरो काम छैन भन्ने मेरो स्वीकार युक्ति थियो,’ उनले भने, ‘किताब अलिअलि पढ्न बाँकी नै थियो । तर, स्थानीय तहको निर्वाचनको तयारीदेखि प्रतिनिधिसभा निर्वाचनसम्म पहिला जस्तै व्यस्त भएँ ।’ देशभरि पार्टी निर्वाचनमा पराजित हुँदा पनि परिणाम आफ्नो पक्षमा पारेका रिजाल भन्छन्, ‘एकदमै कामै नभएर किताब पढेर बसेको जस्तो होइन तर पहिला जस्तो व्यस्त पनि छैन।’

संसद् र पार्टीमा केही भूमिका भए पनि पुग्नेगरी काम भने आफूलाई नभएको रिजाल सुनाउँछन् । ‘अर्को गुटको नेता पार्टी सभापति र दलको नेता हुनुहुन्छ तर पनि केही भूमिका नभए जस्तो छैन,’ रिजाल भन्छन्, ‘अब आफ्नै गुटभित्र रहेको स्वरुप ग्रहण गर्न खोजिरहेको छ अहिले । जसले गर्दा आफ्नो गुटले मलाई त्यति उपयोग गरेजस्तो लाग्दैन । यद्यपि पार्टी विधान मस्यौदामा जिम्मेवारी दिएको छ।’

परिवारलाई अत्यन्त कम समय दिने गरेको स्वीकार गर्दै रिजालकी श्रीमतीले समय नदिएकोमा असन्तुष्टि जनाएकी छैनन् । त्यसका लागि श्रीमतीप्रति आफू कृतज्ञ रहेको जनाउँदै उनले भने, ‘मेरो व्यस्ततालाई बुझेर नै उनी सन्तुष्ट छिन्।’

श्रीमतीको पनि आफ्नै पेसागत जीवन भएकाले आफूलाई सहज भएको सुनाउँदै रिजालले भने, ‘हामी दुवै आ–आफ्नो काममा व्यस्त छाैं । त्यसले गर्दा हामी सँगै समय बिताउन नपाउँदा झन्झट छैन । केटाकेटी हुर्किसकेका छन्।’

छोरा अमेरिका बस्न थालेको १५–१६ वर्ष भइसक्यो भने छोरी पनि सात÷आठ वर्ष अमेरिका बसेर नेपाल फर्केको अढाइ वर्ष भयो । छोरा र छोरी दुवैको आ–आफ्नो प्रोफेसनल लाइफ रहेको सुनाउँदै रिजाल थप्छन्, ‘एकअर्कालाई हामीले खासै समय दिन सकेका छैनौं तर सबैजना व्यस्त भएकाले व्यवस्थापन भइरहेको छ।’

आफ्ना दुई सन्तान कसरी हुर्के भन्ने आफूलाई धेरै थाहा नभएको रिजाल सुनाउँछन् । ए लेबल पास गर्नेबेलासम्म घरकै रेखदेखमा उनीहरु रहेको बताउँदैै रिजाल भन्छन्, ‘छोरा र छोरी हुर्काउनेमा मेरो धेरै संलग्नता रहेन । त्यसैले मेरो परिवारको केन्द्रमा मेरी श्रीमती छिन् ।’ छोराछोरी हुर्काउन श्रीमतीले पूरै समय दिएको बताउँदै उनले भने, ‘मेरो राजनीति जीवनमा मद्दत गर्ने काम, छोराछोरीलाई हुर्काउने र सहयोग गर्ने काम पनि गरिन्।’

परिवारलाई समय दिन नसकेकोमा मीनेन्द्रलाई भने आत्मग्लानि छ । पैदलै हिँडेर घुम्न रमाउने रिजालकी श्रीमती दुर्गाले छोराछोरी विदेशिएपछि पटक–पटक त्यसरी घुम्नका लागि रहर गरेकी छन् । श्रीमान्–श्रीमतीसँगै घुम्न हिँड्नका लागि दुई तीन वर्ष पर्खेको सुनाउँदै रिजाल भन्छन्, ‘मेरो ताल देखेपछि उनलाई पनि लाग्यो होला यसबाट पार लाग्दैन । त्यसपछि उनी आफैँ ट्रेकिङमा निस्किन्।’

श्रीमती रिजालले अन्नपूर्ण बेसक्याम्प, अन्नपूर्ण सर्किटसहित अन्य ठाउँमा पुगिन् । वन डे हाइकिङमा त उनी बेलाबेलामा निस्किराखेकी हुन्छिन् । ‘पैदल यात्रामा उनको साह्रै रुचि छ,’ उनले भने, ‘म बाहेक पनि माइती, कलेज वा साथीहरुसँग निस्कने काम भइरहेको छ तर मैले नै समय दिन सकेको छैन।’

राजनीति आफूले बनाएको योजनाअनुसार नहुने बताउने रिजाललाई आफ्नो एउटा तहको उमेर बितेको लाग्न थालेको रहेछ । धेरै समय दिनरात राजनीति गर्न गाह्रो हुने बुझाइमा रहेका रिजाल भन्छन्, ‘अबको पाँच–छ वर्ष गुणस्तरीय समय निकाल्न नसकिएला तर केही समय निकालेर श्रीमती, परिवारसँग बिताउँला भन्ने लाग्छ।’

बढीमा आठ–दसवर्ष मात्र सक्रिय राजनीतिमा जीवन बिताउने उनको अहिलेको योजना छ । पार्टी र राष्ट्रिय राजनीतिमा धेरै ठूलो महत्वाकांक्षा पनि बाँकी नरहेको सुनाउँदै रिजाल भन्छन्, ‘पहिलाको महङ्खवाकांक्षा बेग्लै हो । जुन गहिरिएर सोचेर आएको थिएन ।’पार्टीको आन्तरिक राजनीतिले पनि केही सीमा निर्धारण गरेको बुझाइमा रहेका रिजाल पार्टीका सामु देखिएका चुनौतीहरुको सामना अब दाइ पुस्ताबाट सम्भव नरहेको निष्कर्षमा पुगेका छन्।

विल डुरान्टको ‘हिस्ट्री अफ सिभिलाइजेसन’को अध्ययनपछि दर्शनशास्त्रप्रति रिजालको मोह बढेको छ । त्यस्ता पुस्तक पढ्ने, युट्युबमा रहेका वाचनहरु सुनेर समय बिताउने गरेका छन् । तत्कालै गर्नुपर्ने कतिपय काम छाडेरै पनि कहिलेकाहीँ दर्शनशास्त्रको अध्ययन र प्रवचनहरु सुन्ने गरेको बताउने रिजाल भन्छन्, ‘राजनीति पछाडि पनि जीवन छ भन्ने मलाई विश्वास छ।’

कांग्रेसभित्र भने रिजाललाई निकै महत्वाकांक्षी र घमण्डी नेताका रुपमा हेर्नेहरुको संख्या कम छैन । सम्पन्न परिवारमा जन्मेकाले रिजाल बाल्यकालदेखि सक्रिय राजनीतिमा आउँदासम्म दुई÷चार पैसा खर्च गर्न सक्ने थिए । पढ्नमा पनि राम्रै रहेका रिजाल अमेरिका बढ्न मात्र गएनन् एमबीएमा विश्व विद्यालय टप गरेको रिजाल सुनाउँछन् । ‘बाहिर पढेर पनि आएको मन्त्रीसन्त्री भएपछि बाहिर मेरो ग्ल्यामर देखियो । त्यसबाट मान्छेहरु आफैँ हच्केका हुन्,’ उनले थपे, ‘यो अलि ठूलो हो कि, यो चढेको छ कि बढेको छ कि भन्ने लागेको मात्र हो । झट्ट हेर्दा कतिलाई त्यस्तो लागेको पनि होला । मेरो खुला स्वभाव छ । लागेको कुरा पनि सिधा भन्छु र सुन्न पनि तयार छु । म अरुलाई पनि हजुर भन्दिनँ आफूलाई भनेको पनि मन पर्दैन।’

आफ्नो आत्मसम्मान अलिकति पनि तलमाथि भएको आँच पुग्ने कामलाई सहन नसक्ने सुनाउँदै रिजाल भन्छन्, ‘टाढाबाट हेर्नेलाई मेरो आत्मसम्मानलाई आत्माभिमान हो कि जस्तो देखिएला । तर, मैले आत्मसम्मान र आत्मअभिमानको सीमारेखा बुझेको छु।’

राजनीतिमा सक्रिय रहँदा आउने ताली र गालीमा छोराछोरीलाई खासै वास्ता नभएको रिजालले सुनाए । २०६२–०६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसद सदस्य बने पनि उनको छोराले पाँच÷छ महिना पछि मात्र थाहा पाएको उनले सुनाए । त्यो पनि माइकल गिलले रिजालका छोरालाई क्यालिफोर्नियामा खान बोलाएका रहेछन् । त्यसबेला उनैले रिजालका छोरालाई बुबा सांसद बनेको सुनाएका रहेछन् । त्यसपछि छोराले उनलाई इमेल गरेर संसद सदस्य बनेको हो भनेर सोधेका रहेछन्।

सुशील कोइराला नेतृत्व सरकारमा सञ्चारमन्त्री भएपछि केही नेताहरुले आफ्नो भाग खोसेर खाइदिएजस्तो गरेको सुनाएँ । मन्त्री भएको पाँच–छ महिनापछि आफूलाई हटाउन ज्यान फालेर लागेको स्मरण गर्दै उनले भने, ‘एकातिर म नयाँ ठाउँमा गएको छु अर्कोतिर त्यहीँका साथीहरु भाग खोसी दिएजस्तो गर्दा स्वतन्त्ररूपमा काम गर्न पाइनँ । प्रधानमन्त्रीलाई अनेकथरी कुरा सुनाउँथे।’

अन्य केही मन्त्रालय बाहेक सञ्चार सबैभन्दा बढी आलोचना हुने र गालीखाने रहेको सुनाउँदै उनले भने, ‘मैले चाहिनेभन्दा बढी गाली खाएँ । त्यो पनि मनगणन्ते कुरा लेख्थे । यी सबै कुराले मान्छेको मनलाई प्रभावित गरिहाल्थ्यो।’

सञ्चारमन्त्रीबाट हटेको दिन आरामको श्वास फेरेको सुनाउँदै रिजालले भने, ‘त्यसपछि सुशील कोइरालाको निधनले गुटको राजनीतिमा निकै उतारचढाव आयो । त्यहाँ पनि मेरो खासै भूमिका थिएन ।’ देउवा पार्टी सभापति, संसदीय दलको नेता हुँदै प्रधानमन्त्री भएपछि पनि उनले भूमिका पाउने कुरै थिएन । त्यसपछि रिजाल फेरि राजनीति छाड्ने मनस्थितिमा थिए तर संसदीय चुनावको टिकट पाए । मोरङको तेस्रो कमजोर क्षेत्रमा टिकट पाए पनि सबैको साथ र सहयोगले चुनाव जितेका उनी साथ दिनेहरुलाई धन्यवाद दिन कञ्जुस्याइँ गर्दैनन्।

राजनीतिले जुराएको सम्बन्ध
नेपाली विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेकै बेला रिजालको डेरा र नेविसंघको कार्यालय एउटै थियो । रिजालसँगै शिव भुर्तेल बस्थे । एक सय रुपैयाँ भाडा तिर्ने उनीहरु साँझ ओछ्याउन लगाउँथे बिहान त्यसलाई पट्याएर राखेर नेविसंघको कार्यालयमा परिणत गर्ने गरेका थिए।

२०३६ सालमा पद्यकन्या क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानलबाट को को लड्ने भनेर मीन पाण्डे (खड्का) नेतृत्व टोली कार्यालयमा आयो । नेविसंघको टोलीमा दुर्गा भट्टराई पनि थिइन् । पहिलो भेटमै दुर्गासँग प्रेमभाव अंकुरण भएको सुनाउँदै ल क्याम्पसको निर्वाचन सकिए पनि माइकहरु पु¥याउन बाँकी थियो । दुर्गासँग नजिकिन बहाना खोजिरहेका रिजाललाई के खोज्छस् .. जस्तै भयो । यहीँबाट दुवैको मनमा प्रेमभाव अंकुरन भएको थियो । दुवैका आ–आफ्ना स्वभावका कारण प्रेमजीवन अघि बढाउन समस्या परेन । ज्योति भण्डारी (प्याकुरेल) ले पनि यी दुईलाई नजिक बनाउन महत्वपूर्ण भूमिका खेलिन् । झन्डै साढे तीन वर्षको प्रेमपछि रिजालले २०४० सालमा मागी विवाह गरे।

बिहेमा पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालासहित थुप्रै नातागोता सहभागी थिए । बिहेकै लागि भनेर केही समयका लागि कांग्रेस नेता डा. गंगा उप्रेतीले घरै दिएका थिए । रिजालले दुर्गालाई त्यही घरमा भित्र्याए । दुर्गा बानेश्वरकी प्रतिष्ठित भट्टराई परिवारकी सदस्य थिइन् । दुर्गाका दाइहरू (काकाका छोराहरु) हरिबोल भट्टराई, मनमोहन भट्टराई राजनीतिमा अहिले पनि छन्।

ब्याचलरमा अध्ययनरत दुर्गाले त्यसपछि टियुबाट समाजशास्त्रमा एमए गरिन् । त्यसपछि ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टमा मास्टर्स गरिन् न्यूयोर्क विश्वविद्यालय अमेरिकाबाट । २०४२ सालमा रिजालको पहिलो सन्तान (छोरो) प्रजन्यको विराटनगरमा जन्म भयो, छोरी अनिता भने अमेरिकामा जन्मिइन्।

‘यसपालिको दसैं विशेष छ’
मीनेन्द्रको घरमा यसपालिको दसैं विशेष हुँदैछ । उनका लागि दसैं सधैँ विशेष नै थियो । उनलाई दसैँ र विविध चाड भन्नेबित्तिकै बाल्यकाल र नयाँ लुगाको सम्झना आउँछ । राजनीतिमा लागेपछि भने ३१ वर्षदेखिको दसैं केवल औपचारिकतामा सीमित बन्न पुगेको छ । आफू केटाकेटी छँदासम्म दसैं आफ्नो विशेष चाड भएको सम्झदै उनले थपे, ‘दसैंको अवधिभरि बुबाले नवरात्र पूजा गर्नुहुन्थ्यो । केटाकेटी नै भए पनि म आफैं पनि चण्डी पाठ गर्थेँ । दसैं भनेको असाध्यै ठूलो उत्सव थियो।’

पूजापाठको हिसाबले मात्र होइन नयाँनयाँ लुगा पाउने र खसीबोका किन्ने कुराले पनि दसैंलाई अझ महत्वपूर्ण बनाउने गरेको सुनाउँदै उनले भने, ‘सम्पन्न परिवार भएकाले दसैं राम्रोसँग मनाउँथ्यौं।’

कक्षा नौमा पढ्ने क्रममै पितृवियोग खेपे पनि त्यसपछिका दसैंहरुमा पनि दाजुले पिताको भूमिका निर्वाह गरेको सुनाए । अध्ययनका लागि २०४४ सालमा अमेरिका गएपछि धार्मिक अनुष्ठानसहितको परम्परागत दसंै औपचारिक बन्न पुगेको उनले सुनाए । अध्ययन र त्यसपछिको नौ वर्ष अमेरिका बसाइको क्रममा दसैं आफ्ना लागि तिथि मात्र भएको सुनाउँदै मीनेन्द्र भन्छन्, ‘न बिदा न केही, काममा जानुअघि नुहाइघुवाइ र श्रीमती तथा छोराछोरीलाई दसैँको टीका लगाइदियो, सकियो । त्योभन्दा बढी विदेशमा अरु के हुनु ?’

नेपाल फर्केपछिको सक्रिय राजनीति र पेसागत जीवनले गर्दा दसैं कम प्राथमिकतामा परेको सुनाउँदै कांग्रेस नेता मीनेन्द्र भन्छन्, ‘२०५६ सालमा आमा बित्नुभयो । त्यसपछि त झन् दसैंको महत्व कम भएर गयो ।’दसैंको टीका लगाउन दाजुको घर विराटनगर पुग्ने गरेका रिजाल भन्छन्, ‘पछिल्ला ३१ वर्षमा ०५३ देखि ०५६ को तीन वर्षबाहेक दसैं भनेको प्रमुख चाड हो मान्नुपर्छ बाहेक त्यत्रो ठूलो के–के नै हुन्छ भन्ने भान हुँदैन।’

राजनीतिमा सक्रिय भएकाले पार्टीका नेता तथा कार्यकर्ताको चाहना दसैंमा विराटनगरमै होस् भन्ने रहने गरेको सुनाउँदै भने, ‘साथीभाइको चाहनालाई पनि सम्मान गर्छु ।’ विगतको दसैंभन्दा यसपालिको दसैं भने विशेष र भव्य बनाउने योजनामा मीनेन्द्र दम्पति अहिलेदेखि नै जुटेका छन् । मीनेन्द्रले दसैंको पञ्चमीका दिन छोरा प्रजन्यको बिहे गर्ने तयारीमा छन् । दसैंका बेला पारेर अमेरिकामा रहेका छोरा नेपाल आएको मौका छोपेर विवाहको तयारीमा रहेका मीनेन्द्र भन्छन्, ‘यसपालिको दसैं दुई चरणमा मनाउँछौ । पहिलो छोराको वैवाहिक कार्यक्रम र त्यसपछि दसैं पर्व मनाउने।’ नागरिक दैनिक पत्रिकामा समाचार छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला