तिहार किन मनाउने ?

ZEN Travels

गिरिराज शर्मा,

पोखरा, कार्तिक १९, २०७५

कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन सम्म मनाइने चाड तिहार अथबा दीपावली हो । पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिनलाई काग तिहार ,दोस्रो दिन कुकुर, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौं दिनलाई भाइ तिहार भनिन्छ । पाँच दिनसम्मको यो समयलाइ यमपञ्चक पनि भनिन्छ ।

प्रथम दिवस – काग तिहार :- 
यमपञ्चकको पहिलो दिन कागको पूजा गरगरिन्छकाग अत्यन्त चलाख पंक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् ।कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो ।यमराजको दूत कागलाई सन्देशवाहक पंक्षी भनिन्छ । काग शुभ तथा अशुभ खवर संप्रेसण गर्ने चरा हो ।यस दिनलाई आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्तीको रूपमा मनाउने चलन पनि छ।
काग निमन्त्रणा श्लोक :-
ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतास्तथा । वायसा प्रतिगृहृणन्तु मया दत्तं वलिंत्विमम्।।

द्वितीय दिवस – कुकुर तिहार :-
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाईन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर पनि यमराजको दूत र प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोरीबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
चतुर्दशीको दिन प्रात कालमा शरीरमा तेलको प्रयोग गरी स्नान गरिन्छ । जसलाई अभ्याङ्गस्नान भनिन्छ । यसलाई सामान्य भाषामा नर्के नुवाउने भनिन्छ, । स्नान पश्चात् दीप दान गरिन्छ ।
दीप दान श्लोक
‘दत्तो दीपश्चतुर्दश्यां नरकप्रीतये मया । चतुर्वर्तिसमायुक्तं सर्वपापापनुत्तये’ ।।

तत्पश्चात कुकुरको पूजा गरी पुष्प माला लगाइदिइ मीष्ठान्न परिकारहरू खान दिइन्छ ।

कुकुरलाई भोजन दिने श्लोक:-
‘द्वौ श्वानौ श्यामशबलौ वैवश्वद्कुलोद्भवौ । ताभ्यमन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा ।


तृतीय दिवस – गाई तिहार :-
यमपञ्चकको तेस्रो दिन अर्थात अौँशी तिथिको दिन बिहान विधिपूर्वक गाईको पूजा गरि माला लगाईदिइ , मिष्ठान्न भोजन तथा गोग्रास अर्पण गरिन्न्छ ।
गौ प्रार्थना श्लोक :-
‘लक्ष्मीर्या लोकपालानां धेनुरूपेण संस्थिता । घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु’।।
गावो मे अग्रतः सन्तु गावो मे सन्तुपृष्ठत : गावो मे हृदयं सन्तु गवां मध्ये वसाम्यहम् ।।

खाने कुरा दिँदा :-
‘सुरभिर्वैष्णवी माता नित्यं विष्णुपदेस्थिता । गोग्रासं च मया दत्तं त्वं गृहाणानुकम्पया’ ।। 
यसैदिन साँझ दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा अर्चना गर्ने प्रावधान छ तर तिथिको घटबढले यदाकता चतुर्दशीकै साँझ लक्ष्मीपूजा गर्नुपर्ने पनि हुनसक्छ । दीपावलीलाई दीपमालिका र लक्ष्मीपूजा गरेको रातलाई सुखरात्रि भनिन्छ । लक्ष्मीपूजन गर्दा दीप, कलश , गणेश पूजा गरी पूर्णघडामाथि तामाको थाली राखेर अष्टदल लेख्नुपर्छ र माझमा सुनको लक्ष्मीको प्रतिमा राखी प्राणप्रतिष्ठा, ध्यान, आहृवान गर्दै विधिपूर्वकले पूजा गर्नु पर्दछ । लक्ष्मीलाई शोडषोपचार बिधिले पूजा गर्ने र ” ॐ श्रीयै नमः” मन्त्र उच्चारण गर्नु लाभदायक हुन्छ ।
यसै दिन महिलाहरुले आँगनलाई सफा–सुग्घर पारी रातो माटोले लिपपोत गरी लक्ष्मीको स्वागतार्थ ढोकामा सयपत्री तथा मखमली फूलका माला एवं झिलिमिली कागजले सजाउँछन् । त्यसपछि ढुकुटी, कुचो, नाङ्लो, तामाका पात्र आदिको पूजा गरिन्छ । यो दिन आफ्ना गहना पूजा गर्ने चलन छ ।


चतुर्थ दिवस : गोरु तिहार , गोबर्धन पूजा:-
गोरु तिहार वा गोवर्धन पूजा यमपञ्चकको चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार “गोवर्धन” गोकुल नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैनथे। कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।

आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।

भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्
प्रतिपदाको दिन गोरु, गोवर्द्धन पर्वत र वलि राजाको पूजा गर्ने परम्परा छ । कतैकतै गोरु र बलिराजाको पूजा औँसीकै दिन गर्ने चलन पनि भेटिन्छ ।
गोवर्धन प्रार्थना :-
‘गोवर्द्धन धराधार गोकुलत्राणकारक । कृष्णबाहुकृतच्छाय गवां कोटिप्रदो भव ।।
बलि प्रार्थना :-
‘बलिराज नमस्तुभ्यं दैत्यदानववन्दित । इन्द्रशत्रोडमराराते विष्णुसान्निध्यदो भव ।।

भन्ने मन्त्र पढ्नुपर्ने विधान छ । यसै दिन नेवार समुदायमा म्ह (आत्मा) पूजा गर्ने चलन पनि छ ।

पञ्चम दिवस – भाईटिका :-
यमपञ्चकको अन्तिम दिन अर्थात द्वितीयाको दिन दाजुभाइ र दिदीबहिनीको पूजा हुन्छ । पूजनका क्रममा दीप कलश, गणेश पूजन गरेर पूर्ण घडामाथि तामाको थाली राखी अष्टदल लेखेर यमराज, यमुना, यमुनापरिचारिका, यमदूत, सूर्यादि नवग्रह, मार्कण्डेय आदि अष्टचिरञ्जीवी आदिको विधिपूर्वक पूजा गर्नुपर्दछ । धूप-दीप- नैवेद्य, वस्त्र, भेटीघाटी समर्पण गरी प्रार्थना गर्नु पर्दछ ।

यमराजको प्रार्थना श्लोक:
‘धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करै सार्द्धं सूर्यपुत्र नमो$स्तुते।।
तत्पश्चात् दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई पूजा गरी प्रार्थना तथा पूजा गरि , निधारमा सप्तरंगी टीका लगाईदिइ बस्त्र तथा मिष्ठान्न परिकार दिएर मनाइन्छ ।
यो पर्व दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट हुने एवं सम्बन्ध प्रगाढ बनाउने शुभ अवसर पनि हो । दिदीबहिनीद्वारा कहिल्यै नसुक्ने तेल तथा दूबोले छेकी नओइलाउने मखमली एवं धेरै पत्र हुने सयपत्री फूलको माला लगाइदिने चलन छ । शत्रुले दु:ख दिन नसकून् भनी ढोकामा ओखर फोरी सप्तरंगी टीका लगाइदिएर मीठा–मीठा परिकार ख्वाउने चलन छ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गर्छन् ।
गाईको पूजा किन गर्ने ?

सनातन धर्म अनुरुप गाईलाई माताको रुपमा पूजा र सम्मान गरिन्छ , गाईमा सवै देवीदेवताहरुको निवास हुन्छ ।वैदिक ग्रन्थमा उल्लेख छ– ‘गावो विश्वस्य मातरः’ अर्थात गाई संसारका सम्पूर्ण प्राणीकी आमा हुन् ।
भगवान शिवका वहान नन्दी(साढे), भगवान इन्द्रसँग कामधेनू, भगवान श्री कृष्ण गोपाल हुनु ले पनि गाई पूज्य छ। भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।मध्य भागमा सवै देवीदेवताको बास हुन्छ । गाईको रौं रौमा महर्षिहरुको , पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गंगा,आँखामा सूर्य र चन्द्रमा, अादिको वास रहन्छ । गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिक मानिन्छ ।गाईको दुध, दही, घ्यू, गहुँत गोबार सबै अौषधीपूर्ण हुन्छन् । दुध, दही, घ्यू त गाईले भन्दा भैसीले धेरै दिन्छ तर गुणका हिसावमा गाई भन्दा राम्रो केही छैन ।

गाईको दूध, गाईको दुधबाट बनेको उत्पादनको तुलना अरुसँग हुनै सक्दैन ।गाईको दुध धेरै शक्तिशाली हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । गाईले अक्सिजन लिन्छ र अक्सिजन नै छाड्छ । मानिसले अक्सिजन लिन्छ र कार्वनडाइअक्साइड फाल्छ । मानिसलाई स्वास फेर्नको लागि अक्सिजनको आवश्यकता पर्छ ।गाईको गहुँतमा यस्तो एक तत्व हुन्छ जसले हृदयरोगका लागि लाभकारी कार्य गर्दछ । जनावरहरुमा गौमाताको सर्वश्रेष्ठ गुण भएकाले गाईलाई नेपालमा राष्ट्रिय जनावरको रुपमा घोषित गरिएको हो । हरेक साल हिन्दुहरुको चाड तिहारमा गाईको पूजा गरिन्छ । त्यसपर्वको दिनलाई गाई तिहारे औँसी भनिन्छ । हरेक हिन्दुका घर–घरमा गाईको पुजा गरिन्छ । कुनै शुभकाय गर्दा गाईको गोबर र गहुँत चाहिन्छ । गाईको गोबरले घर लिपेर शुद्ध बनाउने चलन छ । गाईको गोबरमा किटाणु मार्ने क्षमता हुँदा स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । गाईको दुधले देह शुद्धीका साथै स्वस्थ्यलाभ र बौद्धिक क्षमतामा वृद्धि गर्छ । रामायणमा राजा दीलिपले राज्यमा सुखशान्ति दिलाउन र आफ्ना शाखा संतानमा सद्प्रेरणा, सद्बुद्धि जगाउन गाईृको सेवा गरेको कथा छ। त्यस्तै भागवत आदि पुराणहरुमा गाईको महत्त्वका बिषयमा धेरै कुराहरु उल्लेख गरिएको छ । स्वयं भगवान कृष्ण नै गोपाल हुनुहुन्छ । महागरुड पुराणमा पनि गाईको ठूलो महत्त्व बताईएको छ ।
टिका किन लगाउने ??
दुई आँखीभौंको विचको भाग अर्थात् भृकुटी, जहाँ टीका लगाइन्छ, त्यो पिनियल ग्लैण्डको केन्द्र (योग विज्ञानका अनुसार आज्ञा चक्रको केन्द्र वा त्रिनेत्र) हो । त्यसैले यस केन्द्रमा टीका लगाउनाले आज्ञा चक्र वा पिनियल ग्लैण्ड सक्रिय हुन्छ, जसले गर्दा मस्तिष्क शक्ति तथा चेतना शक्ति बढ्छ । सप्तरङ्गी टिकाको आ-आफ्नै प्रतीकात्मक अर्थ र महत्व छ ।रंगहरुको उत्पत्ति सूर्यको किरणबाट भएको वैज्ञानिक तर्क छ । सूर्यको ज्योतिमा पनि सप्त रङ्ग हुन्छन् । बैजनी , आकाशे , नीलो , हरियो , पहेँलो , रातो , सुन्तला । ऋषिमुनिहरुले पनि सूर्यको सप्तरङ्गी किरण बुझेर सूर्य चिकित्सा पद्धतिको बिकाश गरेका थिए । नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिनुहुन्छ । लोकहितका लागि महादेवले बिष पान गरि नीलकण्ठ भनेर कहलिनुभयो । पहेँलो रंग बिष्णु र कृष्णको प्रिय मानिन्छ । रातो रंग गणेश प्रिय छ, साथै यो सौभाग्यको प्रतीक पनि हो ।


दीपावली किन गरिन्छ ?

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेका थिए । त्यस्तै यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको मानिन्छ । यी सबै प्रसङ्गका आधारमा दीपावलीको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।
देउसी भैलोको चलन कसरी चल्यो ??
भगवान श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिकमासको बाक्लो कालो अमावस्याको त्यो रातिमा दियाहरूको उज्यालोले पृथ्वी नै उज्यालो भएको थियो । अयोध्या वासी मानिसहरुले घरघरमा गल्ली-गल्लीमा “देव श्रीराम” (हाम्रा राम देउता हुन्)को नारा लाउँदै घुमेकाथिए । देव श्रीरामबाट विकृत हुँदै “देउसिरी राम, देउसिरे ,देउसी” भएको अनुमान गरिन्छ । देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्। देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ । सत्ययुगमा एक जना बलिभन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए। उनले एक यज्ञको आयोजना गरे । यसमा जसले जे मागे पनि दान दिन्छु भन्न थाले । वलीको यो घमण्डलाई नाश गर्नका लागि भगवान बिष्णुले वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न त्यहाँ पुगे र तीन पाउ जमिन दानको याचना गरे यसमा बलिले सोचे यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउ सिर बाट देउसीरे भएको हो भन्ने प्रमाण पनि छ । बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन्।
तिहारको सामाजिक महत्व::-
यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो अन्न उत्पादन गरी अन्न रूपी संपत्ति घरमा ल्याउने समय ,जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजा-आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ। “बसुधैव कुटुम्वकम् ” यो भावलाई पनि तिहारले प्रष्ट पार्दछ । काग, कुकुर , गाई , गोरु आदिको पूजा गरिने हुँदा प्राणीहरुलाई गरिने सम्मानको पनि उच्च स्थान छ भन्ने बुझ्न सकिन्छ । प्रकृतिको पूजा र प्रकृतिको तहलाइ बिग्रन नदिन र बचाई राख्न हामी सबैको कर्तव्य हो , गोबर्धन पूजाले यो भावलाई प्रतीत गर्दछ । धनी , गरिव , सुखि , दुखी भन्ने भावलाई हटाइ सबैको घरमा गई देउसी भैलो खेल्नु एक समानता र सौहार्दताको प्रमुख उदाहरण हो । दाजुभाइ र दिदिबहिनी बीचमा क्लेशता हटाई एक अर्काको सम्मान र प्रेमको भाव उत्पन्न गराउने हुनाले यो एक पारिवारिक पर्व हो । हप्तामा सात दिन हुन्छन् , सप्तरङ्गी टिकाको प्रभावले सातै दिन शुभ रहुन ।मखमली फूल कहिल्यै अोईलाउँदैन , त्यस्तै सुख कहिल्यै नओइलाओस् । अोखर फुटे जस्तै दुख र दरिद्रता नाश भएर जाओस् । यस्ता बिशेष र गहन अर्थ यो पर्वले प्रतीत गरिरहेको हुन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला