आगामी निर्वाचनमा कांग्रेस पहिलो बन्छ : शशांक

ZEN Travels

चितवन ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् ।

सोमबार भरतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसको शक्ति अहिले पनि रहेको भन्दै पार्टीलाई एक ढिक्का बनाउनसके कसैले जित्न नसक्ने बताए ।

‘कम्युनिस्टहरु लोकतन्त्रमा विश्वास नराख्ने पार्टी हुन् । जनताको पक्षमा उभिएको पार्टी कांग्रेसलाई जनताले रुचाएका छन्’–उनले भने–‘आउँदो निर्वाचनमा नेपाली कांग्रेस प्रमुख दल बन्छ, यो मेरो दावा हो ।’

महामन्त्री कोइरालाले आगामी मंसिर ५ देखि १० गतेसम्म हुने तय गरिएको कांग्रेसको महासमिति बैठक सर्नसक्ने संकेत गरे । महासमिति बैठक १० दिनजति पर धकेलिनसक्ने उनको भनाइ थियो ।

पार्टीको महाधिवेशन हुन दुई वर्ष बाँकी रहेकाले सबैको सल्लाह, सुझावअनुसार नै सभापतिको टुंगो लाग्ने उनले बताए । अहिलेको परिस्थितिलाई पार गराउनसक्ने नेता सभापति बन्नुपर्नेमा उनले जोड दिए ।

उनले कम्युनिस्ट सरकारले विकास गर्न नसक्ने टिप्पणी गरे ।

लामोसमय कांग्रेस सत्तामा भएकै बेलामा देशमा विकास भएको महामन्त्री कोइरालाको दाबी छ । उनले धेरै सपना नबाँड्न प्रधानमन्त्री केपी ओलीलाई आग्रहसमेत गरे ।

‘क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउन नदिइने’

फरक प्रसंगमा महामन्त्री डा. कोइरालाले भरतपुर क्यान्सर अस्पतालको जग्गामा महानगरपालिकाललाई सिटी हल बनाउन नदिइने बताए ।

क्यान्सर अस्पताललाई प्रतिष्ठानकारुपमा विकास गर्नुपर्ने भएकाले जग्गा सिटी हलका लागि नदिइने उनले उल्लेख गरे ।

‘म प्रचण्ड र केपी ओलीसँग नै कुरा गर्छु । त्यहाँ बनाउन हुँदैन । अन्यत्र बनाउनुपर्दछ’–उनले भने ।

केही दिनअघि चितवन आएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले क्यान्सर अस्पतालककै जग्गामा सिटी हल बन्ने संकेत गरेका थिए ।

क्यान्सर अस्पताल सन्चालक समितिलेसमेत अस्पतालको ७८ विगाहा जग्गामध्ये पाँच विगाहा भरतपुर महानगरपालिकालाई सिटी हल बनाउन दिने सम्बन्धमा स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ । मन्त्रालयबाट फाइल मन्त्रिपरिषदमा पुर्‍याइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला