देउवा पथभ्रष्ट’भएका कारण कांग्रेसको ओरालो यात्रा सुरु -दामोदर नेपाल

ZEN Travels

आधुनिक नेपालका ठूला राजनैतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेस अहिले इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको छ । पछिल्लो चुनावमा नराम्रो पराजय भोगेको कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा पनि कमजोर भएको सर्बत्र आलोचना छ ।

२००७ मा प्रजातन्त्र स्थापना पछि भएको निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर पाएको कांग्रेसलाई २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापनापछि पनि बहुमत प्राप्त थियो । त्यसपछि भएका आवधिक निर्वाचनहरुमा पनि सम्मानजनक मत पाउँदै आएको कांग्रेस अहिले भने पूरै धरापमा पर्यो । निर्वाचनपछि भएको समीक्षामा कांग्रेसजनहरुले यो पराजयका विविध कारणहरु खोजे होलान् । तीमध्येका केही (बताउन मिल्ने) कारणहरु सार्वजनिक पनि गरिए । तर, जति लुकाउन खोजे पनि सतहमै छताछुल्ल भएको तथ्य प्रस्ट छ – कांग्रेसको पराजयको कारण पार्टीको नेतृत्व नै हो ।

नेतृत्व गैरजिम्मेवार हुँदा कांग्रेस हारेको तथ्य लुकाइराख्नु जरुरी छैन । निर्वाचनमा पराजित भएपछि केही कांग्रेस उम्मेदवारले नेतृत्वको कमजोरीका कारण पराजित भएको प्रतिक्रिया दिँदा पार्टी सभापति शेरबहादुर देउवा उल्टै जंगिए । देउवाले त्यतिबेला खरो प्रतिक्रिया दिएका थिए –‘चुनावमा आफू हार्ने अनि पार्टीलाई दोष लगाउने ?’ यो अभिव्यक्ति दिइरहँदा देउवा देशका प्रधानमन्त्री थिए । प्रधानमन्त्री भएर देशकै नेतृत्व गरिरहेको व्यक्तिले के यस्तो अभिव्यक्ति दिन सुहाउँछ ? देउवा त्यतिबेला पार्टीले हारे पनि आफूले जितेको दम्भमा यस्तो बोलेका थिए । तर, उनले बुझ्नुपर्ने कुरा के हो भने छोराछोरीले हारेर आफूले जित्दा कुनै पनि पिता खुसी हुन सक्दैन । के पार्टीले हारेर आफूले आफ्नो क्षेत्रमा जित्दा दम्भ देखाउने देउवा कांग्रेसका लागि योग्य अभिभावक हुन् ? कांग्रेसजनले सोच्नुपर्ने बेला भइसकेको छ ।

मानिलिउँ देउवालाई जनताले रुचाए । अन्य क्षेत्रमा पार्टी होइन उम्मेदवारलाई नरुचाएर मतदाताले मत दिएनन् । त्यसोभए सभापति महोदय, अब अर्को गम्भीर प्रश्न उठ्छ अघिल्लो चुनावमा आफूले जितेको र कांग्रेसको पकड भएको ठाउँ आफ्नी पत्नीलाई दिँदा उहाँलाई चाहिँ किन जिताउन सक्नुभएन ? किनकि पत्नी आरजुलाई देउवाले भावी प्रधानमन्त्री बनाउने मनसुवाका साथ प्रत्यक्ष निर्वाचनमा अघि सारेका थिए । मतदाताले उनलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न सकेनन् र मत दिएनन् । सत्तामा आफू नभए पत्नीलाई स्थापित गराउँ भन्ने देउवाको त्यही संकुचित मानसिकतालाई मतदाताले लोप्पा ख्वाएका हुन् । सत्ताको लागि जेसुकै गर्न सक्ने देउवाको मानसिकताकै कारण कांग्रेस बढारिएको तथ्य लुकाइराख्नु जरुरी छैन ।

देशमा दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार छ र निर्वाचनले कांग्रेसलाई वाचडगको भूमिका निर्वाह गर्न प्रमुख प्रतिपक्षी बनाएका छन् । सरकारले दुई तिहाइको दम्भमा मनलाग्दी गरेर अगाडि बढिरहेको छ । खबरदारी गर्नुपर्ने प्रतिपक्षी सुतेको छ । सरकार गठन भएको ९ महिना भइसक्यो । अझैसम्म सरकारले जनताको अपेक्षाअनुरुप काम गर्न सकिरहेको छैन । यस्तो अवस्थामा खबरदारी गर्न छोडेर प्रमुख प्रतिपक्षी दलका नेता कहाँ व्यस्त छन् ? उत्तर सुन्दा हाँसो उठ्छ – उनी त पार्टीको विधान मिचेर भर्खरै पार्टीमा भित्रिएका नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउँदैछन् ।

जनपक्षीय काम गर्नको लागि सरकारसँग बहस गर्नुपर्ने बेला आफ्नै पार्टीभित्र आफ्नै परिवारसँग विवाद गरिरहेछन् । सभापति महोदय, तपाइँ पार्टीको अभिभावक हो । छिमेकीले परिवार भाँड्न खोजे भने त्यसको खबरदारी गर्ने दायित्व अभिभावकको हो । छिमेकीलाई खबरदारी गर्नुपर्ने बेला छोराछोरीसँग विवाद गरेर बस्नेलाई के अभिभावक भन्न सकिएला ?

कांग्रेसजनलाई नमिठो लाग्ला तर सत्य यही हो – देउवा कांग्रेस सभापति हुनु कांग्रेसको भविष्यको लागि खतरनाक छ । यो कुरा बुझ्न केही इतिहासका तथ्य खेलाउनुपर्छ । जतिबेला कांग्रेसमा बीपी थिए कांग्रेस सही थियो । त्यसपछि गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद हुँदासम्म पनि कांग्रेसले बाटो बिराएन । सुशील कोइराला हुँदासम्म पनि कांग्रेसले सिद्धान्त छाडेको थिएन । किनकि त्यतिबेला कांग्रेसीजनका अभिभावक थिए । पार्टी नेतृत्वले दूरदराजका कार्यकर्ताहरुको पनि संरक्षण गथ्र्यो । त्यसैले त देशमा कांग्रेस थियो । र, कांग्रेसले नै देशका ठूला परिवर्तनको नेतृत्व गरिरहेको थियो । पछिल्लो समय सुशील कोइरालाले संविधान जारी गर्दै ठूलो राजनैतिक परिवर्तनको नेतृत्व गरेका थिए ।

जब सुशील रहेनन् त्यसपछि कांग्रेसभित्र अभिभावक रहेनन् । महाधिवेशनमा कांग्रेसीजनले अर्को विकल्प देखेनन् र शेरबहादुर देउवालाई पार्टी सभापति बनाए । यो कांग्रेसीजनको चाहना भन्दा बढी बाध्यता थियो । जब देउवाको हातमा कांग्रेसको नेतृत्व गयो त्यसपछि कांग्रेस सिद्धान्तविहीन भयो । किनकि देउवा पहिलेदेखि नै सिद्धान्तप्रेमीभन्दा बढी सत्ता र शक्तिको लोभी थिए । देउवामाथि यो आरोप लगाइरहँदा दुई दशकअघि फर्केर हेर्नु उचित हुन्छ जब उनले फगत सत्ताकै लागि दरबारसँग साँठगाँठ गरेर पार्टी विभाजन गरेका थिए । त्यसपछि दरबारले दिएको ललिपपको लोभमा जनताको बलिदानीले आर्जेको प्रजातन्त्र दरबारमा लगेर बुझाएका थिए । हुन त उनले त्यसको सजाय पनि त्यतिबेलै पाए जब दरबारबाटै असक्षमको बिल्ला लगाएर गलहत्याइए । जुन कांग्रेसको नेतृत्वमा जनताले बलिदान दिएर बहुदलीय प्रजातन्त्र ल्याएका थिए त्यही प्रजातन्त्र दरबारमा लगेर बुझाउने व्यक्ति कांग्रेसको अभिभावक बन्न सक्छ ? कदापी सक्दैन । उनी लोभीपापी हुन् र जनताले आर्जेको प्रजातन्त्र दरबारमा लगेर बुझाएको कलंकको टीका उनको निधारमा लागेको छ त्यो कदापी मेटिने छैन ।

कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गै रहन्छ । देउवा त्यही कुकुरको पुच्छर हुन् जो कहिल्यै सोझिँदैन । उतिबेला सत्ताको लागि प्रजातन्त्र दरबारमा बुझाउन पछि नपरेका देउवाले अहिले पनि त्यो चरित्र देखाइछाडे । सत्ताको लागि पार्टीको सिद्धान्तलाई तिलाञ्जली दिए । स्थानीय निर्वाचनमा आफ्नो पार्टीको सिद्धान्तभन्दा पूरै विपरित सिद्धान्त भएको पार्टी माओवादीकी उम्मेदवार रेणु दाहाललाई मतदान गर्न कार्यकर्तालाई बाध्य पारे । सभापतिको निर्देशनकै कारण बाध्य भएर कांग्रेस मतदाताले पनि रेणुलाई मतदान गरे । तर, के ती कांग्रेसीजनले हँसिया हथौडामा मत हाल्दै गर्दा उनीहरुको मन रोएन होला ? आफ्नो दलभन्दा विपरित सिद्धान्त भएको दलका उम्मेदवारलाई मत हाल्न लगाउँदा कहाँ गयो पार्टीको सिद्धान्त ?

देउवाको सत्ताको लागि जेसुकै गर्न तयार हुने चरित्र यत्तिमै सकिँदैन । उनले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका बेला महन्थ ठाकुरलाई मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए । देउवाले बिर्से कि महन्थ तिनै हुन् जसले कांग्रेसबाट विद्रोह गरेर अर्को पार्टी बनाएका थिए । सत्ताका लागि आफैंलाई लत्याएका व्यक्तिको पाउ पर्दा देउवालाई पार्टीको सिद्धान्तले अलिकति पनि झस्काएन । देउवाले बिना पार्टीको फाइदा (व्यक्तिगत फाइदा त थियो होला) उपेन्द्र यादवलाई मत हाल्न पनि कांग्रेस कार्यकर्तालाई अह्राए, डा. बाबुराम भट्टराईलाई पनि मत दिन लगाए । हुँदा हुँदा लाजै पचाएर कमल थापालाई भोट हाल भनेर आफ्ना कार्यकर्तालाई भने । २०६२÷६३ को जनआन्दोलनमा आफ्नै पार्टीका कार्यकर्तालाई दमन गर्ने कमल थापालाई मतदान गर्नुपर्ने कारण के थियो सभापति महोदय ?

कांग्रेसको नेतृत्वमा देश धर्मनिरपेक्ष र गणतन्त्र भएको हो । कांग्रेसको नेतृत्वमा ल्याइएको त्यही धर्मनिरपेक्षता र गणतन्त्र खारेज गर्दै हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गरिरहेका कमल थापालाई मतदान गर्नु के देउवाको राजनैतिक सिद्धान्त थियो ? पटक्कै थिएन । यो सबै देउवाले फगत सत्ता पाउनको लागि गरेका थिए । आफ्नै पार्टीले ल्याएका उपलब्धी दरबारमा बुझाउने । आफ्नै दलको नेतृत्वमा प्राप्त उपलब्धी खारेजीको माग गर्नेलाई मतदान गर्ने र आफ्नै पार्टीलाई लात हानेर जानेको पाउ पर्ने सभापति देउवालाई के अझै पनि कांग्रेसीजनले अभिभावक मानेर बस्ने ?

सच्चा कांग्रेसीजनले कांग्रेस त्याग्न सक्दैनन् र सभापतिले जेसुकै गरेको भए पनि अर्को निर्वाचनमा रुखमै मत हाल्नेछन् । के ती सच्चा कांग्रेसीजनको मत त्यही व्यक्तिलाई शक्तिमा पठाउनका लागि हो, जसले व्यक्तिगत स्वार्थको लागि आफ्नै पार्टीका उपलब्धीलाई बेचेर खान पछि पर्दैन ? कांग्रेस इतिहासकै कठिन मोडमा छ । अब पनि नेतृत्व नफेरिने हो भने कांग्रेसको अस्तित्व बाँकी रहने छैन । कांग्रेसलाई प्रजापरिषद बन्न दिने कि नदिने यो कांग्रेस नेता कार्यकर्ताकै हातमा छ । बेलैमा नसच्चिने हो भने कांग्रेस इतिहासमा मात्र सीमित रहनेछ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला