युरोप भ्रमणमा निस्केका अध्यक्ष मल्ल भन्छन्–गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिउँ देशलाई फाइदा हुन्छ

ZEN Travels

-एकसातादेखि युरोप भ्रमणमा रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विदेशमा रहेका गैरआवासीय नेपाली नागरिकहरुलाई राज्यले दोहोरो नागरिकता दिनुपर्नेमा जोड दिनुभएको छ । गत गाउँपरिषदमा गाउँसभाबाटै दोहोरो नागरिकता दिनुपर्ने प्रस्ताव पारित गरेर केन्द्र सरकारलाई निर्णयार्थ सिफारिस गर्नुभएका अध्यक्ष मल्लले युरोपका विभिन्न देशमा रहेका नेपालीहरुसँगको भेटमा दोहोरो नागरिकताको प्रस्ताव पारित गर्न जनप्रतिनिधिहरुमार्फत सबैले केन्द्र सरकार र संघीय संसदलाई दवाव दिनुपर्नेमा जोड दिनुभएको हो । ‘विदेशमा बस्ने नेपालीहरुलाई सरकारले नागरिकता दिँदा उनीहरुलाई आफ्नो देशप्रति थप जिम्मेवार बनाउँछ र नेपालको समृद्धिका लागि लागानी गर्ने वातावरण बन्छ ।’– अध्यक्ष मल्लले भन्नुभयो । उहाँले विदेशमा रहेका नेपालीहरुलाई देशमा लगानीमैत्री वातावरण बनाउन आफूले दोहोरो नागरिकताको प्रस्ताव गाउँसभाबाटै पारित गरेको दावी गर्नुभयो । ‘हामीले त दोहोरो नागरिकता देशको आर्थिक समृद्धिको हितमा छ भनेर गाउँसभाबाटै पारित गरेका छौं तर त्यो सबै निर्णय गर्ने अधिकार संघीय संसदलाई रहेकोले त्यो सम्बन्धी कानून बनाउन सबैले दवाव दिनुप¥यो ।’–उहाँले थप्नुभयो ।

अध्यक्ष मल्लले आफू युरोप भ्रमणमा रहँदा नागरिकहरुलाई छिटोछरितो सेवा, नागरिकमैत्री प्रशासन र नागरिकलाई विकासबाट लाभान्वित कसरी गराउने भन्ने विषयमा त्यहाँका जनप्रतिनिधिहरुसँग समेत छलफल गरेको वताउनु भयो । अध्यक्ष मल्लले आफ्नो भ्रमणको युरोपका विभिन्न देशले गरेको विकास मोडालिटीलाई अध्ययन गरि प्रयाप्त संभावना बोकेको जलजला गाउँपालिका लगायत सिंगो पर्वतको समृद्धिका लागि अन्तराष्ट्रिय स्तरको लगानी भित्राउने उद्देश्य रहेको वताउनु भएको छ ।

यसअघि बेलायत भ्रमण गर्नुभएका मल्लले अन्तराष्ट्रिय पर्वत सेवा समाजसँगको साझेदारीमा जलजलाका बाढीपीडितहरुका लागि घर बनाइदिने सम्झौता गराई महत्वपूर्ण उपलब्धी प्राप्त गर्नुभएको थियोभने यसपालिको अन्य देशमा भएको भ्रमणबाट त्यहाँ रहेका नेपालीहले जिल्लामा प्रयाप्त लगानी गर्ने आफूलाई आश्वासन दिएको वताउनु भएको छ । त्यही क्रममा अन्तराष्ट्रिय पर्वत सेवा समाजले च्यारिटी सो मार्फत संकलन गरेको रकममध्य जलजलाको विकासका लागि अध्यक्ष मल्लको आग्रहमा ३५ लाख तत्काल सहयोग गर्ने प्रतिवद्धता जनाएको समेत उहाँले बताउनु भयो । विगत लामोसमयदेखि उद्योग संचालन गरेर सयौं युवाहरुलाई रोजगारी प्रदान गर्दै आउनु भएका मल्ल एक सफल युवा व्यवसायीका रुपमा समेत परिचित हुनुहुन्छ ।

जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि युरोपका विभिन्न देशमा उहाँले गरेको भ्रमणबाट ती देशमा भएका विकासका अलग–अलग विशेषताहरुलाई जिल्लामा भित्राएर काम गर्न सकिने वताउनु भएको छ । ‘युरोप भ्रमणले मलाई धेरै कुराको शिक्षा दिएको छ, हाम्रो गाउँमा खेर गएको जमीनमा माटो अनुकलको व्यवसायिक खेती गर्ने, यहाँको जलासयबाट ठूलठूला हाइड्रोहरु निर्माण गर्न सकिने र जिल्लामा भएका अनुपम प्राकृतिक स्थलहरुका माध्यमबाट प्रशस्त अर्थ आर्जन गर्न सकिन्छ तर लगानी गर्ने पैसा हामीसँग छैन त्यसैले पनि विदेशमा भएका नेपालीहरुलाई लगानीका लागि अपिल गर्न म युरोप आएको हुँ ।’– अध्यक्ष मल्लले भन्नुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला