प्रहरीकै संरक्षणमा बालुवा तस्करी

ZEN Travels

कपिलबस्तु ।

स्थानीय तहले समयमै नदीजन्य पर्दाथ ठेक्का नलगाउँदा नदीहरुबाट चोरी तस्करी बढेको छ ।

जिल्लाको बाणगंगा नदीमा सबैभन्दा बढी बालुवाको चोरी निकासी भइरहेको छ ।

बाणगंगा नदी अन्तरर्गत श्रीङ्गीघाट क्षेत्र, बाणगंगा पुलदेखि तलको क्षेत्र, लक्ष्मणघाट र कोपवा क्षेत्रमा रातीको समयमा बालुवा चोरी हुँदै आएको छ ।

स्थानीय ट्याक्टर व्यवसायी तथा प्रहरीको मिलेमतोमा बालुवाको अवैध चोरी निकासी भइरहेको स्थानीयबासीको गुनासो छ ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रहरीहरुकै संरक्षणमा अवैध बालुवा तस्करी मौलारहेको स्थानीयबासीहरुको आरोप छ ।

‘रातभरी नदीमा लाईट निभाएर ट्याक्टरहरुले बालुवा, मिस्कट र ढुंगा चोर्छन् ,प्रहरीलाई जानकारी गराए वेवास्ता गर्छन,’ स्थानीय मुकुन्द अर्यालले भने ।

नदीजन्य पर्दाथ चोरी गर्ने गिरोहले प्रहरी निरिक्षक चन्द्र केसीलाई दैनिक प्रति ट्याक्टर १५ सय रुपैंयाँको दरले रकम बुझाउने गरेको स्थानीयको दावी छ ।

राती ११ बजेदेखि २ बजेसम्म नदीबाट बालुवा चोरी गरी डम्प गर्ने र अर्को दिन सप्लायर्सको नाममा रसिद काटेर उपभोक्ताहरुसम्म पुर्‍याउने गरिएको छ ।

नदीमा दैनिक ५० देखि ७० वटासम्म ट्याक्टरले नदीजन्य पदार्थ ओर्साने गरेको स्थानीयबासीले जानकारी दिए ।

स्थानीयबासी माधव अधिकारीका अनुसार नदीजन्य पदार्थ चोरीका लागि स्थानीय दिनेश मल्ल, रामु पुन, प्रकाश पाण्डे, कृष्ण पाण्डे, मधु विसी, सन्तोष विकले प्रहरी निरिक्षक केसीलाई रकम बुझाउने गरेका छन् ।

‘राती ११ बजे देखि खोलामा ट्याक्टरको ताँती लाग्छ, जनताले थाहा पाउँछन् तर प्रहरी निदाउँछ’, बनगाईका रामु अधिकारीले भने ।

कतिपय ट्याक्टरले त रुपन्देहीको हर्रैया, सालझण्डीसम्म चोरीका बालुवा रातारात पठाउने गरेको अधिकारीको भनाइ छ ।

बाणगंगा नगरपालिकाले नदीजन्य पर्दाथ निकासी ठेक्कामा ढिलाई गरेकै कारण चोरी बढेको नगरबासीको आरोप छ ।

असोज/कार्तिकमै ठेक्का गर्नुपर्नेमा नगरपालिकाले अहिलेसम्म ठेक्काको सूचनासम्म सार्वजनिक नगरेको भन्दै स्थानीय रुष्ट  छन् ।

दैनिक लाखौं रुपैंयाँ राजश्व उठ्ने नदीजन्य पदार्थ चोरी नियन्त्रण र ठेक्कामा नगरपालिकाले उदासिनता देखाएको स्थानीय पम्फा क्षेत्री बताउँछिन् ।

तर यता, बाणगंगा नगरपालिका राजस्व प्रमुख शान्ताराज आचार्यले नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का प्रक्रिया सुरु गरेको बताए ।

आईइ रिपोर्ट एक साता भित्र आउँछ त्यसपछि ठेक्का सूचना निकाल्छौं उनले भने ।

नदीबाट बालुवा चोर्ने २७ वटा ट्याक्टरलाई कारवाही गरिएको बताउँदै राजस्व प्रमुख आचार्यले जनशक्ति अभावले चुहावट नियन्त्रण गर्न नसकिएको स्वीकारे ।

यता, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र केसीले आरोपहरु निराधार भएको बताए ।

आफू आए लगत्तै ३० वटा भन्दा बढी ट्याक्टर पक्राउ गरेको र नियमित गस्ती भइरहेको दाबी गर्दै केसीले कसैसंग लाइन नलिएको स्पष्ट पारे ।

नदी क्षेत्र ठूलो भएको कारण जनशक्ति नहुँदा कतै चुहावट भएको हुनसक्ने केसीको भनाई छ ।

नदीजन्य पर्दाथ चोरीमा प्रहरी निरिक्षकको संलग्ताबारे जिल्ला प्रहरी कार्यालयले अनभिज्ञता जनाएको छ ।

प्रहरी प्रवक्ता डिएसपी रबी रावलले प्रहरीले नदीजन्य पर्दाथ चोरीमा त्यस प्रकारको कुनै संलग्नता नभएको र सक्रियताका साथ नियन्त्रणमा लागेको बताए ।

‘आरोपका बारेमा हामी सम्बन्धित तहसंग जानकारी लिन्छौ, अनुसन्धान गर्छौ, संलग्ता भए कारवाही हुन्छ’, उनले भने । (तस्विर सौजन्यः राजेश चौधरी)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला