राजा भन्थेः बीपी अमूल्य छन्

ZEN Travels

दाजुलाई छुटाउने क्रममा राजासँग पटक पटक वार्ता गरेका गिरिजाले लेखकलाई थुप्रै रोचक प्रसंग सुनाएका छन्। अघिल्ला भेटमा सधैँ राजनीतिक कुरा मात्र गर्ने राजाले त्यसदिन चाहि परिवार र खेतिपातीबारे सोधे। त्यसपछि उनी फटाफट नेताहरुको मूल्य सुनाउन थाले। राजासँगको वार्तालाप कोइरालाले लेखकलाई यसरी सुनाए।

राजाः हेर गिरिजा सबैको मूल्य हुन्छ।
गिरिजाः सरकारले के भन्नु भएको हो मैले त बुम्झ सकिन नि।
राजाः बाख्राको मोल यति, भेडाको मोल यति। कसैको मोल पाँच सय, पाँच हजार, दश हजार यस्तै मोल हुन्छ नि। त्यस्तै मान्छेको पनि मूल्य हुन्छ।

राजाको कुरा सुनेर गिरिजा झसंग भए। के हो? किन मोलको कुरा गर्न थाले? कतै आफूँलाई नै किन्न खोजेका हुन कि भन्ने पनि उनलाई लाग्यो। मनमा यस्तै कुरा खेलिरहेका थिए। एकैपटक उनको कानमा राजाको आवाज ठोक्किन पुग्यो– फलानाको मूल्य यति, फलानाको यति। भन्दाभन्दा टंकप्रसादको मूल्य यति भने। –को मूल्य यति भन्दै जाँदा उनकै जेठा दाजु मातृकाको मूल्य सुनाइदिए। राजा एकोहोरो नेताहरुको मूल्य सुनाउँदै थिए। गिरिजालाई एकदमै तनाव भइरहेको थियो।

कुन बेला राजाले बीपीकै मूल्य यति भनेर सुनाइदिने छन् भन्ने लाग्यो उनलाई। जे भएपनि अस्विकार गरेर हिँड्छु, कुरै गर्दिन भनेर बसेका थिए उनी। गिरिजाले लेखकसँग भनेः अब राजाले सान्दाजुको मूल्य सुनाउछन्। जेसुकै भएपनि उफ्रिन्छु भनेर बसेको थिएँ। राजाले भने, एउटा मान्छेको मात्र मूल्य छैन। भित्तामा टाँसिएको एउटा तस्विरतर्फ देखाउँदै भने– यसको मात्र मूल्य छैन। (नेपाल, २०६७÷०६८)

गिरिजाले भित्तातिर नजर लगाए। बीपीको फोटो थियो। त्यहि बैठक कक्षमा उनले पहिल्यै पनि पटकपटक राजासँग भेटिसकेका थिए। तर, त्यसअघि बीपीको फोटो देखेका थिएनन्। गिरिजाले मनमनै सोचे– सान्दाजुको तस्विर आजै राखिएको हुनुपर्छ। अब बीपीको मूल्य सुनाउँछन् अनि जेसुकै भएपनि राजासँग झोक्किएर निस्कन्छु भन्ने सोचेर बसेका गिरिजालाई ‘बीपीको मूल्य छैन’ भन्ने राजाको भनाइले एकदम नरम बनाइदियो। उनको दिमागमा राजाको आवाज रिप्ले भइरहेको थियो – यसको मात्र मूल्य छैन। सबैको मूल्य छ। राजाले भने– म बीपीको इज्जत गर्छु। अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यस्तो मानिस छैन। गिरिजा राजासँगको वार्ता सकरात्मक हुँदै गएको बुझेर दरबारबाट फर्किए।

त्यसको केहि समयपछि राजाले नारायणहिटी दरबार (महेन्द्र मञ्जिल)मा मन्त्रिपरिषद बैठक डाके। भर्खरै मन्त्री भएका रवीन्द्रनाथ शर्माका लागि दरबारमै भएको बैठकमा भाग लिने त्यो नै पहिलो अनुभव थियो। त्यहि बैठकमा बीपीलाई छाड्नु पर्छ भनेर प्रधानमन्त्री थापाले राजालाई प्रष्ट शब्दमा भनेका थिए। (शर्मा २०६८ः २५६)

त्यहीताकाको अर्को एक प्रसंगबारे पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले भनेका छन्, ‘हामी तीन जना राजा महेन्द्र, सूर्य बाबु र म थियौँ। सूर्य बाबुले बीपीसँग भएका कुरा राजालाई सुनाउदै उनी लगायत जेलमा रहेका नेता कार्यकर्तालाई मुक्त गर्न भन्नु भयो। राजा त्यो कुराबाट आश्वस्त नभएको बुझियो। बीपीलाई छाड्ने मनस्थितिमा राजा नभएको बुझियो। (थापा २०६८ः ३६३) उपचारका लागि राजा लण्डन जाने तय भइसकेको थियो। जानुपूर्व बीपीलाई रिहा गर्ने भनेर वार्ता थालेका उनी अब भन्न थाले ‘फर्किएपछि विचार गरौँला।’ ‘अस्पष्ट आसय थियो राजाको। आफ्नो चाहना अनुसार प्रधानमन्त्रीको राय आयोस् भन्ठानेर राजाले सूर्यबहादुरतिर हेर्दै भने, ‘के गर्ने त पीएम?’ तत्कालिन प्रधानमन्त्री थापाले भनेका छन्, ‘मैले नहिच्किचाइ छोड्नु पर्छ सरकार भनेपछि सरकारको मुखै बदलियो र कान रातो भयो। रिस र आवेग थियो चेहरामा। एकछिन चकमन्न भयो। अनि अँ तिम्रो विचार यहि हो त पीएम भन्ने हुकुम भयो। मैले हो सरकार भनेँ। (थापा २०६८ः ३६३)।’

एकछिनपछि राजाले सूर्यप्रसादलाई भने, ‘ल भन सूर्यप्रसाद तिमी बीपीको जिम्मा लिन्छौ? सूर्यप्रसादले एकछिन पनि नरोकिइ तुरुन्छ ‘सरकार म जिम्मा लिन्छु भने (थापा २०६८ः ३६३)।’ राजा अलमलमा परे, एकातिर सूर्यप्रसाद बीपीको जिम्मा लिन्छु भन्छन्, अर्कोतिर बीपीकै भाइ गिरिजाचाहिँ सान्दाइ आत्मसमर्पण गर्नुहुन्न भन्छन्। दुबैको कुरा बुझ्न एकदिन राजाले सूर्यप्रसाद र गिरिजालाई एकसाथ दरबारमा बोलाए। त्यो भेटमा राजाले भने, ‘होइन सूर्यप्रसाद एउटा केही त गर्नु पर्यो नि बीपीलाई छुटाउन। मैले त छोड्छु भनेकै छु।’ सूर्यप्रसादले भने, ‘हो सरकार, विन्तीपत्रको मस्यौदा बनाउँ। बीपीलाई छुटाउनु पर्छ।’

सूर्यप्रसादले विन्तीपत्र हालेर छुटाउने कुरा गरेपछि राजाकै सामुन्य गिरिजा रिसाएर भने, ‘सुर्जा बाबु तपाइको पुच्छर काटिएको छ भन्दैमा अरुको पनि त्यस्तै छ भन्ने नठान्नुहोस्। फेरि हेर्नुस् सुर्जा बाबु, तपाई र राजाले पनि बीपीलाई चिन्नु भएको छैन। उहाँ मर्नुहुन्छ। तर, अण्डरटेक दिनुहुन्न। तपाइले भनेर हुन्छ (नेपाल २०६७ः ७८)?’ यति भनेर उनी चुप लागे।

गिरिजाले लेखकसँग भनेका थिए, ‘ल लेखौँ न त केहि राजाले भने। सुर्जा बाबु खसाखस लेख्न थाल्नु भयो वा त्यहाँ! के के लेख्नु भयो कुन्नि। अनि राजालाई फ्याट्ट दिनुभयो।’ राजासँग भेटेको अर्को दिन सूर्यप्रसाद र गिरिजा दुबै बीपीलाई भेट्न सुन्दरीजल पुगे। ‘राजासँग सकरात्मक कुरा भएको छ बीपी बाबु’ सूर्यप्रसादले कुरा सुरु गरे। त्यसपछि आफूले राजासँग बसेर लेखेको कागज कोटको खल्तीबाट निकालेर बीपीलाई दिए। गिरिजा केही नबोली बसेका थिए। त्यो कागज पढेपछि बीपीको अनुहारै बदलियो। रिसको झोकमा कागज हातले कच्याककुच्चुक पारेर गोलो बनाई सूर्यप्रसादको मुखमा हानिदिए र भने, ‘तपाई तत्काल फर्किहाल्नुस् (नेपाल २०६७ः ७९)’

त्यो दिनको भेटपछि बीपीलाई लाग्यो, बन्नै लागेको वातावरण विग्रियो। सूर्यप्रसाद र गिरिजा फर्किए। बन्दीगृह सैनिकको सुरक्षा घेरामा थियो। महिनामा एकपटक परिवारसँग भेट्न दिइएको थियो। बाँकी समय एकान्तमा विताउनुको विकल्प थिएन। बेला बेलामा जनरलहरु निरीक्षणका लागि आइपुग्थे। उनीहरुका छाती अनेक प्रकारका तक्मा, व्याजहरुले ढाकिएका हुन्थे। उनीहरु भन्ने गर्थे, ‘हजुर हामीले त नूनको सोझो गर्नु पर्यो।’ एउटा रोचक घटना भएको थियो, त्यसबेला। बन्दीगृह निरीक्षणमा पुगेका एक जनरलले बडो विश्वासका साथ बीपीलाई भने, ‘सर हामी त हुकुमका बन्दी हौँ। हामी हुकुम बाहेक केहि जान्दैनौँ।’
बीपीः कसको हुकुम?
जनरलः माथिको।
बीपीः माथिको भनेको को?
जनरलः हाम्रा उच्चाधिकारीको आदेश।
बीपीः ऐन कानुनलाई मिचेर दिएको आदेश पनि?
जनरलः हजुर। ‘कानुन र हाम्रा उच्चाधिकारीहरुका आदेश आपसमा बाझ्छन् भन्ने कुरा बुझ्दैनौँ। हाम्रा लागि माथिको आदेश, हुकुम, अर्डर, जे भन्नोस्, सर्वोच्च हुन्छन्। हाम्रा लागि आदेश अकाट्य छ।’
बीपीः माथिको आदेश भएपछि तपाइहरु कुनै पनि अपराध (बलात्कारसम्म पनि) गर्न तयार हुनुहुन्छ त?
जनरलः हो हजुर।
बीपीः साँच्चै तपाई बलात्कार पनि गर्न सक्नु हुन्छ? आदेश पाए उ त्यो (सुन्दरीजलतिरको पहाडका गाउँ देखाउँदै) गाउँका आइमाइहरुलाई बलात्कार पनि गर्न सक्नु हुन्छ?
जनरलः सक्छु हजुर।
बीपीः आदेश पाए के तपाई आफ्नी आमालाई बलात्कार गर्न सक्नु हुन्छ?
जनरलः सर, (सानो स्वरमा, नुर गिरेको अवस्थामा) म तपाइसँग बहस गर्न सक्दिन सर।
बीपीले त्यो घटनालाई व्याख्या गर्दै भनेका छन्, ‘हरेक चिजको एउटा सीमा हुन्छ। त्योभन्दा माथि कोही जान सक्दैन। जसरी नूनको सोझो र आदेश पालक हुनुमा गर्वं गर्ने जनरलले पनि सबै आदेश पूरा गर्न सक्दैनन्।’ बन्दीगृहमा यस्ता घटना भइरहन्थे।

राजा बीपीलाई छोड्न आतुर थिए। तर पूरै आत्मसमर्पण गराएर। बीपी मर्न तयार थिए तर, राजासामु आत्मसमर्पण गर्न तयार थिएनन्। राजाको चाहना बीपी कमसेकम एकवर्ष नेपालभित्र राजनीतिक गतिविधि नगरेर बसुन भन्ने थियो। त्यसैले गिरिजासँगको भेटमा उनको प्रायः जिज्ञासा हुन्थ्यो, ‘बीपी छुटेपछि के गर्छन्?’ गिरिजा भन्थे, ‘सरकार राजनीतिक मानिस भएकाले राजनीतिक कुरा राख्दै जनतामाझ जानुहुन्छ। एकपटक देश घुम्नुहुन्छ।’ राजाले सोध्थे, ‘देश घुम्दा के भन्छन् त?’ गिरिजाले भन्थे, ‘राजनीतिक मानिसले राजनीतिक कुरा त गर्छ नै। तर उहाँ आफ्नो लेभलमा बसेर कुरा राख्नु हुन्छ। देशको परिस्थिति बुझ्नु हुन्छ।’

राजाले एकैपटक भने, ‘बीपीसँग भएको सबै सहमति र वार्ताको च्याप्टर अब बन्द भयो। अब तिम्रा दाइलाई अरु १० वर्ष थुनिदिन्छु।’ गिरिजालाई पनि झोक चलेर आयो। उनले भने, ‘ठिकै छ सरकार, घरको झगडा घरमै मिलाउनु पर्छ भन्ने लागेर यो प्रयास गरेकोे हुँ। अब घरको झगडा बाहिरबाट मिलाउनु पर्ने रहेछ। भारत गएर इन्दिरा गान्धीसँग भेट्छु। म पनि हेर्छु, बीपी कसरी छुट्नु हुन्छ। दरबारभित्र राजालाई भेट्दै गर्दा उनी जुरुक्क उठे र हिँडिहाले। राजासँगको वार्ता अलमलियो।

त्यसपछि गिरिजा दिल्ली गए। भारतीय प्रधानमन्त्री इन्दिरालाई भेटेर बीपीलाई छुटाउने रणनीतिमा थिए उनी। भेटका लागि जयप्रकाश नारायणले पहल गरेका थिए। समय पनि मिलिसकेको थियो। तर इन्दिरालाई भेट्न नपाउँदै दिल्लीस्थित नेपाली दूतावासले गिरिजालाई खबर गर्यो, ‘तपाइको टिकट दूतावासमा छ। तत्काल काठमाडौँ जानु पर्यो। सरकारले बोलाइबक्सेको छ।’ गिरिजालाई राजासँग झोक चलेको थियो। उनले दूतावासका अधिकारीलाई भनिदिए, ‘म त जान्न, राजाको त्यो थोत्रो कुरा सुन्न। तिम्रो राजालाई गएर भनिदेउ।’

दरबारको पहलमा जयप्रकाश नारायणले सम्झाएपछि मात्र उनी काठमाडौँ फर्किए। एयरपोर्टमा सामानको प्रतिक्षामा थिए उनी। एकजना मानिस आएर भन्यो, ‘गिरिजाबाबु दरबार जाउँ। तपाइको सामान घरमा पुगिहाल्छ। तपाइलाई दरबारमा बोलाइबक्सेको छ जाउँ।’ उसले मोटरमा राखेर गिरिजालाई दरबार पुर्यायो। त्यो भेटमा राजाले उनलाई तीनवटा शब्दमात्र भने।
राजाः बीपीलाई कहाँ छोड्ने?
गिरिजाः जहाँबाट पक्रेको हो त्यहिँ छोड्नु पर्छ।
राजाः घरमा छोडे हुन्न?
गिरिजाः हो, घरमा हुन्छ।
राजाः कति बजे?
गिरिजाः जाडोको समय छ, सात बजे ठिक होला।

राजाले सुवर्ण, सूर्यप्रसाद, गिरिजा र भारतसँग एकसाथ सम्वाद चलाएका थिए। बीपीलाई छुटाउन भारतीय राजदूत राजबहादुर सिंह सक्रिय थिए। बीपीलाई छाड्ने निश्चित भएपछि कांग्रेसको कार्यकारी सभापतिको हैसियतमा सुवर्ण शम्शेरले कार्तिक १४ गते निसर्त राजालाई सहयोग गर्ने व्यहोराको वक्तव्य जारी गरे। वक्तव्यमा भनिएको थियो, ‘जब राजाले देश नै खतरामा छ भनिसकेको छ, देश खत्तम भयो भने राजासँग हामीले कसरी लड्ने? राजासँग लड्नलाई पनि त देश रहनु पर्यो। जब राजाले नै देश खतरामा छ, मलाई सबैले सहयोग गर्नु पर्छ भनेपछि राजासँग बार्गेनिङको कुराचाही गर्नु हुँदैन। हामीले अनकण्डिसनल राजालाई सपोर्ट गर्नु पर्छ।’

सुवर्णको त्यही वक्तव्यको आधारमा सुन्दरीजलको आठवर्ष लामो बन्दी जीवनबाट २०२५ कार्तिक १४ गते बीपी र गणेशमान छुटे। बेलुकीको सात बजे सुरक्षाकर्मीले दुबै नेतालाई बीपीका भाई तारिणीको चाबहिलस्थित घरमा ल्याएर रिहा गरेका थिए।

(पत्रकार जगत नेपालको  २०७५ मंसिर ७ गते सार्वजनिक ‘बीपीको विद्रोह’ पुस्तकबाट साभार)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला