सुन्तलाको जोन कहाँ–कहाँ छ ? परियोजना कार्यान्वयन एकाइ सुस्त

ZEN Travels

गण्डकी ।

सरकारले सुन्तलाका लागि सम्भावना भएको जाजरकोटका तीन स्थानीत तहमा ‘सुन्तला जोन’ स्थापना गरेको थियो । कुशे गाउँपालिकाको दम्दाला, भेरी नगरपालिकाको वडा नं २ र नलगाड नगरपालिकाको वडा नं ३ लाई समेटेर अघेल्लो वर्षको माघमा जोन क्षेत्र घोषणा गरी काम शुरु गरिएको थियो ।

गत वर्ष रु १० लाखको सुन्तला बेचेका कुसे गाउँपालिका वडा नं ५ दमदालाका किसान शक्तिबहादुर वलीले यस वर्ष आधा उत्पादन घटेको बताउनुभयो । एक्लै ३५ रोपनी जग्गामा सुन्तला खेती गर्नुभएका वलीले गत वर्षको तुलनामा यस वर्ष आधा सुन्तला उत्पादन घटेको बताउनुभयो ।

उहाँले सुन्तलाका बोट सुक्ने, पात सुक्ने र दाना पनि कालो भएर कुहिने समस्याका कारण यो वर्ष बोटमा सुन्तला निकै कम फलेको जानकारी दिनुभयो । वलीजस्तै अर्का किसान चन्द्रबहादुर मल्ल पनि सुन्तलाको बोटमा ढुसी रोगले सुन्तलाका दाना कालो हुने, डाँठ सुक्ने, पात पहँेलो हुने र पछि पुरै बोट सुक्ने कारण आफूहरू ठूलो मर्कामा परेको र सरकारले केही सहयोग नगरेको गुनासो गर्नुहुन्छ ।

उहाँले सरकारले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत घोषणा गरिएको ‘सुन्तला जोन’ कार्यक्रमले जाजरकोटका उत्पादक किसानलाई राहत दिन नसकेको बताउनुभयो । किसानका समस्या समाधान गर्ने, नियमित रूपमा बारीको प्राविधिक रूपले रेखदेख गर्ने तथा सुन्तलाका बोटको सुरक्षाका लागि किसानलाई सल्लाह सुझाव दिन कर्मचारीले नसकेका कारण यस वर्ष सुन्तला जोन घोषणा गरिएको जिल्लामा उत्पादन निकै घटेको कुसे–५ का स्थानीयवासी शिक्षक डिल्लीबहादुर थापाले बताउनुभयो ।

परियोजना कार्यान्वयन एकाइ सुस्त

सुन्तालाका बिरुवा रोगका कारण समस्य आए पनि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ कार्यान्वयन एकाइ कार्यालयले कुनै पनि सहयोग नगरेको किसानको गुनासो छ । कार्यालयका प्रमुखदेखि कर्मचारी फिल्डमा नजाने र पाँकटियास्थित जोनको कार्यालय सहयोगीको भरमा खुल्ने गरेकाले किसानले कुनै सुविधा पाउन नसकेको शिक्षक थापाको आरोप छ ।

जोन प्रमुख टङ्क रिजालले किसानले सुन्तलाको बोट लगाउन नजानेका कारण बोट सुक्ने समस्या देखिएको छ, सुन्तलाका बोटहरू लगाउँदा ठूलो खाडल नबनाएका कारण सुन्तलाका जराहरू ढुङ्गा या चट्टानमा ठोक्किने भएकाले अहिले बोटमा पात सुक्ने, डाँठ सुक्ने र फल कालो हुने समस्या देखिएको बताउनुभयो ।

उहाँले अहिले जाजरकोटमा ५४ हजार सुन्तलाका बोट लगाइएको बताउनुभयो । अहिले जिल्लाको १८० हेक्टर जमीनमा सुन्तला खेती भइरहेको र यसलाई बढाएर ५०० हेक्टर बनाउन आफूहरूले काम गरिरहेको प्रमुख रिजालको दाबी छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला