निर्मला पन्त हत्याकान्ड झन् रहस्यमय

ZEN Travels

काठमाडौं-

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना झन् रहस्यमय बन्दै गएको छ ।

हत्या भएको चार महिना बितिसक्दा पनि प्रहरीले अझै हत्यारा पत्ता लगाउन सकेको छैन ।

सरकारका वरिष्ठ मन्त्रीले नै हत्यारा पक्राउ परिसकेको दाबी गरे पनि प्रहरीले अझै सार्वजनिक नगर्दा घटना झन् रहस्यमय बनेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको एक भनाइले निर्मला पन्तका हत्यारा पत्ता लागेकै हो कि भन्ने देखिन्छ । यद्यपि, प्रहरीले अहिलेसम्म हत्याका अभियुक्त सार्वजनिक गरेको छैन ।

हत्याको अनुसन्धानका लागि प्रहरीले विभिन्न समिति गठन गरेको थियो । तर, अहिलेसम्म कुनैपनि छानबिन समितिले ठोस निष्कर्ष निकाल्न सकेका छैनन् ।

हत्या भएको चार महिना बितिसक्दा पनि यो घटना रहस्यकै गर्भमा छ ।

गत साउन १० गते बेपत्ता भएकी बालिका पन्तको शव ११ गते फेलापरेको थियो ।

निर्मलाको बलात्कार र हत्याको घटनालाई लिएर देशभर आन्दोलन चर्कियो । यो अझै जारी छ ।

घटना अनुसन्धानमा प्रहरीको चर्को आलोचना भयो र प्रहरीले नै प्रमाण नस्ट गराएको आभास जनमानसमा छ ।

घटना रहस्यमय र जटिल बन्दै गएपछि साथै प्रहरीमाथि नै आक्षेप लागेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्नेतको नेतृत्वमा गत भदौ ३१ गते ९ सदस्यीय छानबिन समिति गठन गर्‍यो ।

सो समिति गठन भएलगत्तै घटनास्थल पुगी अनुसन्धान थाल्यो । जसले हत्याकान्डको रहस्य पर्दाफास गर्ने विश्वास आमनागरिकले गरेतापनि सो समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

यसअघि, सरकारले गठन गरेको सहसचिव हरि मैनाली नेतृत्वको समितिले पनि घटनाको छानबिन गरेपनि अभियुक्त किटान गर्न सकेको थिएन ।

यसैबीच, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पछिल्लो समय तीनजनालाई पक्राउ गरी छानबिन अगाडि बढाइरहँदा प्रहरीले फेरि पनि आमनागरिकलाई झुक्याउन खोजेको हो कि भन्ने कतै–कतै आभास परेको छ ।

घटनामा संलग्न भनिएका दुईजना दुर्व्यसनी रहेको र निर्मलाको हत्या हुँदा उनीहरु चोरीकान्डमा हिरासतमै रहेको पनि खुलासा भएको छ ।

सीआइबीले तीन व्यक्ति पक्राउ गरेलगत्तै उपप्रधानमन्त्रीको व्यंग्यसहितको अभिव्यक्तिले फेरि एकपटक शंका उत्पन्न गराएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला