पर्वत : चन्दा संकलन गरेर सामूदायिक भवन ।Merojilla.Com

ZEN Travels


रामकृष्ण लामिछाने
पर्वत ।
कुस्मा ३ दुर्लुङ्गका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायिक भवन निर्माण गरेका छन् । जय माँ आमा समूहको सक्रियतामा चन्दा संकलन गरेर भवन निमार्ण गरेको हो ।
स्थानीयवासीले दुर्लुङ्गको काफ्लचौर परिसरमा २६ लाख ५० हजारको लागतमा सभाहल सहितको सामुदायिक भवन निर्माण गरेका हुन् । सो भवन निर्माणका लागि कुस्मा नगरपालिकाले ७ लाख १० हजार विनियोजन गरेको थियो ।भने,वडा कार्यालयले १ लाख रुपयाँ विनियोजन गरेको थियो ।
स्थानीयस्तरबाट थप रु अठार लाख ५० हजार जुटाएर भवन निर्माण सम्पन्न गरेको भवन निमार्ण समितिका संयोजक प्रितम गुरुङले बताए । भवन नहुदाँ समाजमा हुने स्थानीय स्तरका कार्यक्रमहरु सञ्चालन गर्न निकै समस्या हुने गरेको उनले बताए ।‘कुनै पनि विवाह,बर्तबन्ध,सामूहीक भेला आयोजन गर्न पोखरा,कुस्मा सम्म जानुपर्ने बाध्यता थियो,’गुरुङले भने,‘अब यो समस्या हट्छ ।
भवन निर्माण गर्न विदेशमा पुगेका दुर्लुङवासीहरुले पनि आर्थिक सहयोग गरेका हुन् । सो,भवनमा करिब ६ सय जना सम्म अट्न सक्छन् ।भवन निर्माणपछि महिलाहरुलाई सिप प्रदान गर्ने तालीम, गोष्ठी र बैठक सञ्चालन गर्न खुला चौर, व्यक्तिका घर तथा विद्यालयमा पुग्नुपर्ने समस्याको अन्त्य भएको वडा अध्यक्ष तेजप्रसाद पाध्यायले बताए ।
भवन बनेपछि अहिले त्यस क्षेत्रका स्थानीयहरुमा खुसीयाली छाएको छ । उक्त भवनको प्रतिनिधी सभाका साँसद लालकाजी गुरुङले सोमवार दुर्लुङमा आयोजित कार्यक्रममा उद्घाटन गरेका हुन् ।
सो,अबसरमा बोल्दै गुरुङले आर्थिक उपार्जनमा लाग्न स्थानीयलाई सुझाव दिए । उनले आर्थिक उपार्जनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यत्त गरेका छन् । अवसरका लागि गाउँ छोड्ने क्रम बढेको भन्दै साँसद गुरुङले आर्थिक उपार्जनको माध्यम भए गाउँ छोड्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । । उनले आमा समूहको मिहेनतले सामूदायिक भवन बनेको र यो भवनको सहि सदुपयोग गर्न महिला समूहलाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले आफु साँसद बनेको बेला गाउँ गाउँमा सामूदायिक भवन बनाए पनि ति सामूदायिक भवन सहि सदूपयोग नभएको बताउँदै दुर्लुङ्गबासीहरुलाई सामूदायिक भवनलाई प्रयोग गरि सिप सिक्न आग्रह गरेका छन् ।
सामूदायिक भवन समूदायको हितमा सदुपयोग गर्नुपर्ने जोशीले बताए । २०७४ सालमा निर्माण थालिएको भवन हालै निर्माण सम्पन्न भएको हो । उक्त भवन निर्माणका लागि ८४ पूजाको अवसरमा स्थानीय नारायणप्रसाद गुरुङले ५ रोपनी जग्गा निशुल्क रुपमा प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नवराज गुरुङ, महासमिति सदस्य ऋषिकेश तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, राप्रपाका केन्द्रिय सदस्य ईच्छाबहादुर गुरुङ, राप्रपाका नेता रणबहादुर क्षेत्री, कुश्मा नगरपालिका ३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्या, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य लेखबहादुर गुरुङ, साविकको जिल्ला विकास समितिका उपसभापति रामशर्मा पौडेल, समाजसेवी कृष्णप्रसाद उपाध्याय, भीमकुमारी गुरुङ लगायतले भनाई राखेका थिए ।
जय माँ आमा समूहका कार्यवाहक अध्यक्ष रत्नकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक प्रतिबेदन संयोजक प्रितम गुरुङले प्रस्तुत गरेका हुन् । कार्यक्रममा रेश्मीराज शर्मा, शिक्षक बालकृष्ण शर्मा लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला