सरकारको इच्छा र सभामुखको प्रयासमा कांग्रेस बाधक

ZEN Travels

काठमाडौं ।

सरकारको चाहना र योजना मुताविक बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै पारित गराउने सभामुख कृष्णबहादुर महराको प्रयास मंगलबारका लागि विफल भएको छ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्ना पूर्वसभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई सरकारले विघटनको प्रक्रियामा लाने निर्णय सच्याएर केन्द्र सरकारकै मातहतमा नल्याएसम्म सदन चल्न नदिने अडान लिएपछि सरकारको योजना आजका लागि विफल भयो।

मंगलबार अपरान्ह ३ बजेका लागि डाकिएको बैठकमा कांग्रेस नेता प्रकाशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियादेखि संविधान लेखन कार्यमा अग्रणी भूमिका निर्वाह गरेका नेताहरुको नाममा सञ्चालित अस्पताल केन्द्र सरकारको मातहतमा सञ्चालन हुने निर्णय नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याए।

त्यसपछि सभामुख कृष्णबहादुर महराले पूर्वनिर्धारित कार्यसूचि वमोजिम शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई संसदीय समितिले तयार पारेको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक सदनमा छलफलका लागि पेश गर्न समय दिने तयारी गरी प्रक्रिया अघि बढाउन लाग्दा कांग्रेस सांसदहरुले वेल घेराउ गरे।

सभामुख महराले पटक पटक बस्न र सदनको कारबाही सुचारु ढंगले अघि बढाउन मद्दतका लागि गरेको आग्रहका बाबजूद पनि विपक्षीले वेल घेर्दै नारावाजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरे।

त्यसपछि सुरु भएको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरुले वेल घेराउ गरेपछि सभामुख महराले जबरजस्ती प्रक्रिया अघि बढाउँदै कार्यसूचि अनुसार मन्त्री पोखरेललाई विधेयक सदन समक्ष पेश गर्न समय दिए।

विपक्षी दलले सदनमा घेराउ र नारावाजी गरिरहेको अवस्थामा पनि सभामुखले पछिल्लो राजनीतिक परिवर्तन पश्चात अपनाउँदै आएको संसदीय अभ्यास र परम्पराविपरित जबरजस्ती प्रक्रिया अघि बढाएपछि कांग्रेसका सांसदहरुले उनको तटस्थ भूमिकाप्रति प्रश्न उठाएका थिए।

त्यसपछि आफ्नो सिटबाट विधेयक पेश गर्न उठेका मन्त्री पोखरेललाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देबप्रसाद गुरुङले अगाडि हिड्दै र बिचमा मन्त्री त्यसपछि नेकपा सांसद खगराज अधिकारी, शान्ता चौधरी लगायतका सदस्यहरुले घेर्दै रोष्ट्रममा पुर्याउने असफल प्रयास गरेका थिए।

मर्यादा पालकको बाक्लो र बलियो उपस्थितिका बाबजूद पनि विपक्षी दलका सांसदहरुले वेल घेर्दै मन्त्रीलाई फिर्ता जान भन्दै घेरेपछि सभामखु महराले बाध्य भएर सदनको कारबाही पुनः १५ मिनेटका लागि स्थगित गरे।

त्यसपछि सभामुख महराले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयासका लागि समय लिएपनि कुनै सहमतिको वातावरण नबनेपछि सभामुखको निर्देशनमा महासचिव मनोहरप्रसाद भट्टराइले सूचना प्रकाशित गर्दै अर्को बैठक शुक्रबार अपरान्ह १ बजे बस्ने जानकारी दिए।

यसरी आजको बैठक सूचना मार्फत स्थगित भएपछि त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीसँग भएको सहमति विपरित तयार भएको विधेयक पारित हुने प्रक्रियामा तीन दिन ढिलाई हुने देखिएको छ।

आजको बैठकमा विपक्षी दलको असहमतिका बाबजूद पनि सत्तापक्षको दबाब र प्रभावमा परेका सभामखु महराले निश्पक्ष भूमिका निर्वाह गर्ने भन्दा सत्तापक्षकै सदस्यको रुपमा भूमिका निर्वाह गरेपछि विपक्षी सांसदहरुले उनको भूमिकाप्रति गम्भिर प्रश्न उठाएका छन्।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला