भेनेजुएला प्रकरणमा ओलीतिर लक्षित गर्दै दाहालले भने– व्यक्तिको भनाइले अर्थ राख्दैन

ZEN Travels

चितवन-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको बताएका छन् । पार्टी सचिवालयले समेत विज्ञप्तिको भावनाअनुसार वक्तव्य जारी गरेको भन्दै दाहालले व्यक्तिको भनाइको अर्थ नहुने टिप्पणी गरे ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले बोली चिप्लिएको या अरू कसैले फसाएको भन्ने कुराको खण्डन गरेका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित अमेरिकी राजदूतसँगको भेटमा अध्यक्ष दाहालको ‘शब्द चिप्लिए’को बताएको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री ओलीले हिजो नेपाल टेलिभिजनको एक कार्यक्रममा अध्यक्ष दाहालले भेनेजुएला प्रकरणमा प्रयोग गरेको भाषा र समय उपयुक्त नभएको टिप्पणी गरेका थिए ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीले कुन सन्दर्भमा कसरी भन्नुभयो त्यो आफुलाई थाहा नभएको भन्दै भेनेजुएला प्रकरणमा जारी वक्तव्य राजनीतिक भएको र स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रमा कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको जिकिर गरे । ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो, मैले आफैंले हेरेको, बुझेको छैन,’ उनले आफ्नो वक्तव्यको औचित्य प्रष्ट्याउँदै भने, ‘त्यो वक्तव्य एउटा पोलिटिकल वक्तव्य थियो, एउटा स्वतन्त्र, सार्वभौम सत्तासम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्य थियो ।’

परराष्ट्र मन्त्रालयबाट जारी वक्तव्य पनि त्यही रुपबाट आएको उनको भनाइ थियो । 

प्रधानमन्त्रीसमेत उपस्थित सचिवालयको बैठकले हस्तक्षेपको विरोधमा वक्तव्य जारी गरिसकेकाले व्यक्तिको भनाइले केही अर्थ नराख्ने उनको भनाइ थियो । पार्टीको तर्फबाट जे वक्तव्य आयो, त्यही नै सही भन्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियाका विषयमा पश्चिमा राष्ट्रहरूको संयुक्त वक्तव्य नेपाल मामिलामा हस्तक्षेपको रूपमा लिएको बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला