‘गैह्र आवासिय नेपालीबाट पञ्चासे केवलकारमा ४० करोड लगानीको प्रतिबद्धता’

ZEN Travels

पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रर्बद्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पुर्वाधार निर्माण गर्ने योजनामा गैह्र आवासिय नेपालीबाट ४० करोड भन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन ।संयुक्त अरब इमिरेट्स(युएइ)मा भएको पर्वत समाज अन्तराष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केवलकारमा लगानी गर्न गैह्र आवासिय नेपालीले प्रतिबद्धता जनाएका हुन ।पोखरा महानगरपालिका –३३ घाँटीछिनादेखि पर्वतको कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकार सहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ । पञ्चासे केवलकार गण्डकी प्रदेशकै सबैभन्दा ठुलो परियोजना भएकोले बिभिन्न देशमा रहेका गैह्र आवासिय नेपालीले लगानीको प्रतिबद्धता ब्यक्त गरेको पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । ‘केवलकार परियोजनालाई असाध्यै राम्रो परियोजनाको रुपमा उहाँहरुले स्विकार गर्नुभयो’ बृहत भेलामा सहभागी भएका अध्यक्ष शर्माले भन्नुभयो ‘भेलामा सहभागी पर्वतबासी र अन्य गैह्र आवासिय नेपालीले समेत स्वतस्र्फुत रुपमा लगानी गर्न प्रतिबद्धता जनाउनु भएको छ ।’ देश सम्बृद्ध बनाउने राम्रो एजेण्डामा उहाँहरुको सकारात्मक प्रतिबद्धता सहित लगानीको लागि अग्रसर रहेको आफुँले पाएको शर्माको भनाई छ ।अध्यक्ष शर्माले दिएको जानकारी अनुसार अष्ट्र््ेलियामा बस्ने पर्वतेलीले २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन । बेलायत लगायतका युरोपेली देशबाट १० करोड लगानी गर्ने प्रतिबद्धतता आएको छ भने पर्वत समाज कतारबाट २ करोड,रसियाबाट २ करोड, पर्वत समाज बेल्जियमबाट १० करोड लगानीको प्रतिबद्धता आएको छ । कास्की समाज संग समेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । गैह्र आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले समेत परियोजनाको प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष शर्माले बताउनुभयो । केबलकार साढे ११ अर्ब रुपैयाँ लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर संकलन गर्ने लक्ष्य छ । ४ अर्ब ५५ करोड शेयर मध्ये २ अर्ब ७३ करोड प्रर्बद्धक शेयरबाट संकलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देशबिदेशमा लगानी जुटाउने काम भैरहेको छ । १ अर्ब ८२ करोड भने शेयर निस्कासनबाट संकलन गर्ने लक्ष्य छ । कम्पनीले प्रभावित गाउँमा न्युन आय भएका सर्बसाधरणका लागि रोजगारी सहित शेयर बितरणका लागि शिबीर समेत सञ्चालन गरिरकेको छ । कम्पनीले कुस्मा नगरपालिकाको आर्थर, मोदी गाउँपालिकाको चित्रे र राम्जामा शिबीर सञ्चालन गरिसकेको छ भने आँधीखोला गाउँपालिकाको बाङसिङ, फेदीखोला गाउँपालिकाको बाँगे फड्के, पोखरा महानगरपालिकाको भदौरे र चापाकोट तथा अन्नपुर्ण गाउँपालिकाको सल्यानमा समेत शिबीर सञ्चालन गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी शर्माले जानकारी दिनुभयो ।

२०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ । पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवम् नेपाल सरकारसँग करीब ३ हज्रार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ । पञ्चासे तालदेखि चित्रे गाउँसम्म जीप फ्लायर, पञ्चासे देखि आर्थर सम्म साईकल लेन, पञ्चासे घुम्ने ट्रेकिङ रुट, बाल उद्यान एवम् फन पार्क, श्रवणकुमार आश्रम, हस्तकला विक्रीकेन्द्र एवम् हेरिटेज प्लाजासहित होटल, रिसोर्ट, अल्कोहल जोन तथा होम स्टे तयार गरिने परियोजनाको लक्ष्य छ ।परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजार जनाले रोजगारी सृजना हुने अनुमान छ । सोही समूहले तनहुँको बन्दीपुरमा पनि केबलकार निर्माण गरिरहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला