नेकपा एकीकृत समाजवादीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले बिचार मिल्ने कम्युनिस्ट संग पार्टी एकता हुने बताउनुभएको छ । ब्यक्तिवादी सोच र बिचार हाबी हुदा नेकपा एमाले फूटेको बताउदै उहाँले ब्यक्तिगत लाभ र सोचलाई त्याग गरेर बिचार र निष्ठा बोकेर हिड्ने पार्टीसंग मात्रै एकता हुने बताउनुभएको हो ।
नेकपा एकीकृत समाजवादी सल्यानको नवौं जिल्ला अधिबेशनको बुधबार जिल्लाको सदरमुकाम खलंगामा उद्घाटन गर्दै उहाँले भन्नुभयो जनताले मत दिएर दुइतिहाइको सरकार बनाएकै हो, केपि वलीले एकल निर्णय लाद्न खोज्दा कम्युनिस्टहरु एकता टिक्न सकेन, केपिकै अहमताका कारण एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको हो ।
उहाँले जनताको बिस्वास लिएर समाजवादको आधार स्तम्भ तयार पारिने बताउनुभयो । पुर्वमन्त्री समेत रहनु भएका पाण्डेले बिकास र समृद्धिको संकल्प पुरा गर्नको लागी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
यस्तै पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुख प्रकाश ज्वालाले प्रतिगमन र पार्टी भित्रको मनपरीतन्त्रका विरुद्धमा पार्टी भित्रको बिद्रोहको जग कर्णालीबाट सुरु भएकोले त्यसयता पार्टीले नयाँ गति नयाँ गन्तव्य सुरु गरेको बताउनुभयो । हामी समयको माग अनुसार अघि बढेका छौ, जनताको हितमा काम गरेर अघि बढि रहेका छौ, सुशासन र पारदर्शितालाई मुख्य केन्द्रमा राखेर हामीले काम गरिरहेका छौ, उहाँले भन्नुभयो जनताका मुद्दामा हामी प्रतिवद्व भएर लाग्छौ । यो राजतन्त्र वा सामान्तीको युग नभएको भन्दै उहाँले चिहानमा पुगेको राजतन्त्र फर्केर कहिल्यै नआउने बताउनुभयो ।
यस्तै पार्टीका केन्द्रिय सचिब चन्द्र बहादुर शाहीले पार्टीलाई जीवन्त राख्न सबै नेताकार्यकर्ता एकीकृत हुन आवश्यकता रहेको बताउनुभयो । पार्टीका प्रदेश कमिटी ठगेन्द्र प्रकाश पुरीले पार्टीलाई बलियो र एकतावद्व बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएको बताउनुभयो ।
यस्तै पार्टीका केन्द्रिय सदस्यहरु उदय बहादुर बोहरा, भद्रसिंह बुढा, लोक बहादुर डाँगी, शारदा परियार, प्रेमा अधिकारी, हरी केसी, प्रदेश कमिटी सचिब धिर बहादुर बिष्ट, सुर्खेत जिल्ला अध्यक्ष खड्ग बहादुर केसीले पनि बोल्नु भएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मान बहादुर मल्ल, रास्वपाका जिल्ला अध्यक्ष प्रकाश नेपाली, नेकपाका केन्द्रिय सदस्य मदन सी लगाएतले बोल्नु भएको थियो ।
पार्टीका जिल्ला कमिटी अध्यक्ष राम कुमार खड्गीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रदेश कमिटी सदस्य भोला केसीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन पार्टी सचिब रमेश गौतमले गर्नुभएको थियो । ४५० प्रतिनिधि सहभागी भएको जिल्ला अधिबेशनले ६७ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गर्ने छ ।