सल्यानको छत्रेश्वरी गाउँपालिकामा रोजगारीमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिहरुलाई वडाबाट नै रोजगार व्यवस्थापन सुचना प्रणालीमा आवद्ध गरिने भएको छ । बेरोजगार व्यक्तिहरुको सही तथ्यांक संकलन गर्दै तिनीहरुलाई रोजगारीको सञ्जालमा आबद्ध गराउनका लागि वडास्तरबाट नै सेवा दिने प्रयास थालिएको हो । यसका लागि गाउँपालिकाले वडाका कर्मचारीहरुलाई तालिम प्रदान गरिरहेको छ । बुधबारदेखि सुरु भएको तालिम शुक्रबार सम्म सञ्चालन हुने छ । यसअघि यो काम गाउँपालिकाबाट मात्रै हुनेगरेको थियो ।
नेपाल सरकारको नीति अनुरूप रोजगारीका अवसर सिर्जना गर्ने, बेरोजगार जनशक्तिलाई सक्षम बनाउने र प्रभावकारी सेवा प्रवाहमार्फत स्थानीय तहमा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित रोजगार व्यवस्थापन प्रणाली र सूचना प्रविधि क्षमता विकास सम्बन्धी तालिम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिनुभयो । “सूचना प्रविधिको प्रयोगमार्फत वडास्तरमै बेरोजगारको पहिचान, वर्गीकरण र व्यवस्थापन गर्न सजिलो हुन्छ”, उहाँले भन्नुभयो, “यसले सेवा प्रवाहलाई सहज बनाउने तथा बेरोजगार नागरिकलाई रोजगारीका अवसर सृजना गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ ।” वडा सचिव तथा सामाजिक परिचालकहरु सम्बन्धित वडाका नागरिकहरूसँग प्रत्यक्ष परिचित हुने भएकाले सही व्यक्तिको पहिचान गरी सेवामा पहुँच दिन सहज हुने गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको भनाई छ ।
तालिममा कर्मचारीहरुलाई एमएस अफिस प्याकेज र अन्य आधारभूत तथा आवश्यक सूचना प्रविधिसम्बन्धी विषयहरूमा समेत ज्ञान, सीप प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले बताउनुभयो । यसबाट कर्मचारीहरुले अनलाइन प्रणाली, डेटा इन्पुट, सूचना व्यवस्थापन र डिजिटल रिपोर्टिङमा दक्ष बन्ने तथा सेवा प्रवाहको गुणस्तर अझ बढ्ने उहाँको विश्वास छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ अनुसार बेरोजगार दर्ताका लागि पारिवारिक विवरण र रोजगार अवस्थासम्बन्धी जानकारी संकलन गरी सो विवरणलाई अनलाइन प्रणालीमा प्रविष्ट गर्नका लागि वडाको जनशक्तिलाई पोख्त बनाउने उद्देश्य रहेको गाउँपालिकाका रोजगार संयोजक पवन खत्रीले बताउनुभयो । सूचना प्रविधि र डिजिटल प्रणालीको सहायताबाट पारदर्शी, प्रभावकारी र नागरिकमैत्री सेवा प्रदानका लागि ध्यान दिइएको गाउँपालिकाले जनाएको छ