मानव एकता दिवसको अवसरमा सल्यानमा २८ जनाले रक्तदान गरेका छन् । “रगत नालीमा होइन, नाडीमा बगाऔं” भन्ने बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै शनिबार सन्त निरंकारी मण्डल सल्यान शाखाको आयोजनामा दिवस मनाइएको हो ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ सिंगारीकोटमा आयोजित कार्यक्रममा १४ जना महिला र १४ जना पुरुष गरी जम्मा २८ जनाले रक्तदान गर्नुभएको सन्त निरंकारी मण्डल सल्यानका कार्यक्रम संयोजक रुपलाल गिरीले जानकारी दिए । रक्त सञ्चार केन्द्र घोराही दाङका प्राविधिक दिलिप चौधरी सहित चारजनाको प्राविधि टोली रक्त संकलनमा खटिएको थियो ।
कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले मानव मानव विच हुने सबै प्रकारका असमझदारी र विभेद हटाउनुपर्ने भन्दै मानव एकतामा जोड दिए ।
यस्तै जिल्ला समन्वय समिति सल्यानका सदस्य हरि केसी, वडा नं, ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, सन्त निरंकारी मण्डलका केन्द्रीय सदस्य दल बहादुर राना, नेपाल रेडक्रस सोसाइटी छत्रेश्वरीका अध्यक्ष हिमाल योगी लगाएतले धारणा राखेका थिए । कार्यक्रममा वडा सदस्य निम बहादुर बुढा, आधारभुत स्वास्थ्य सेवा केन्द्र दोहलीका प्रमुख ऐनप्रकाश बुढाथोकी लगाएत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
सो अवसरमा वैदेशिक रोजगारीको क्रममा दुबइ पुगेका सल्यान त्रिवेणी गाउँपालिका ६ का युवराज थापाले ७६ लाख रुपैयाँ ब्लड पनि क्षतिपूर्ति तिर्नुपर्ने भएकाले उनको सहयोगका लागि सन्त निरंकारी मण्डल सल्यानले १४ हजार ९९५ रुपैयाँ संकलन गरेको छ ।