
कर्णाली प्रदेश सरकारले विषादीको बढ्दो प्रयोगलाई नियन्त्रण गर्दै सुरक्षित खाद्य प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले ूविषादी प्रयोग मुक्त सप्ताहू सुरु गरेको छ। ूकिसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आहारू भन्ने मूल नारासहित मंगलबार सल्यानको कपुरकोटबाट सप्ताहव्यापी अभियानको शुभारम्भ गरिएको हो। कर्णाली प्रदेशमा पछिल्लो समय तरकारी तथा अन्य बाली उत्पादनमा विषादीको प्रयोग बढ्दै गएको भन्दै यसको न्यूनीकरण र सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न एक सातासम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रदेशकै प्रमुख तरकारी उत्पादन क्षेत्र मानिने कपुरकोटबाट अभियान सुरु गरिएको हो। कार्यक्रममा बोल्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख पर्शुराम रावतले कर्णालीमा विषादीको प्रयोग बढ्दो क्रममा रहेकाले किसान तथा उपभोक्तालाई सचेत गराउन सप्ताहव्यापी अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य र वातावरण दुवैमा नकारात्मक असर पार्ने भएकाले यसको प्रयोगलाई व्यवस्थित र न्यून बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका वक्ताहरूले पछिल्लो समय मुटु, मिर्गौला लगायतका दीर्घरोगीको संख्या बढ्दै गएको भन्दै असुरक्षित खाद्य पदार्थ र विषादीको अत्यधिक प्रयोग पनि त्यसको एक प्रमुख कारण भएको धारणा राखेका थिए। उनीहरूले उत्पादन बढाउने नाममा विषादीको अन्धाधुन्ध प्रयोग नगर्न किसानहरूलाई आग्रह गरेका छन्। दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले विषादीको सुरक्षित र सही प्रयोगमा सबैको ध्यान जानुपर्ने बताउनुभयो। उहाँले गाउँ–गाउँसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी विषादीमुक्त कृषि प्रणालीतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले पालिकाले जैविक तथा अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिनुभयो। उहाँले रासायनिक विषादीको प्रयोग घटाएर स्वस्थ र गुणस्तरीय उत्पादनतर्फ किसानलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक चित्रबहादुर रोकायका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जनचेतनामूलक प्रचारप्रसार, जैविक विषादी तथा पासोजन्य सामग्रीको प्रदर्शन एवं वितरण, विद्यालयस्तरीय अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। उहाँले विषादीको प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वराशक्ति तथा वातावरणमा दीर्घकालीन असर पुर्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोगबारे नागरिकलाई सचेत बनाउनु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कर्णाली प्रदेशका बाली संरक्षण विज्ञ वेदप्रसाद चौलागाईंले सकेसम्म कम विषादी प्रयोग गरेर उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले रासायनिक विषादीको विकल्पका रूपमा जैविक तथा प्राकृतिक उपायहरूको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी अदुवा अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डा। घनश्याम भण्डारीले विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, किसान र उपभोक्ता सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्य, वनस्पति अनुसन्धान कार्यालय सल्यानका प्रमुख डा। मित्र पाठक, कृषि क्षेत्रका प्रतिनिधि, किसान तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सप्ताहभर सञ्चालन हुने कार्यक्रममार्फत विषादीको सुरक्षित प्रयोग, न्यूनीकरण तथा विषादीमुक्त उत्पादन प्रवर्द्धनमा व्यापक जनचेतना फैलाइने अपेक्षा गरिएको छ।
