
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले अदुवा तथा बेसारको उत्पादन, प्रशोधन र बजारीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले बीउ उत्पादक, व्यवसायी, उद्योगी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । नार्कले सल्यान, रोल्पा, रुकुम, दाङ, प्युठान, कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासीलगायत जिल्लाका किसान, उद्योगी, व्यवसायी तथा विभिन्न उद्योगका प्रतिनिधि र सरकारी निकायका अधिकारी सँग छलफल गरेको हो । प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिएको अदुवा तथा बेसारको प्रविधि प्रवद्र्धन कार्यक्रमअन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया सँगै छलफल भएको अदुवाबाली अनुसन्धान कार्यक्रम, सल्यानका प्रमुख बरिष्ठ बैज्ञानिक डा. घनश्याम भण्डारीले जानकारी दिनुभयो । उहाँका कार्यक्रममा अदुवा तथा बेसार खेतीको वर्तमान अवस्था, गुणस्तरीय बीउ उत्पादन, रोग तथा कीरा व्यवस्थापन, उत्पादन वृद्धिका लागि आवश्यक प्रविधि, प्रशोधन तथा बजारीकरणका सम्भावनाबारे छलफल गरिएको थियो । सहभागीहरूले अदुवा तथा बेसार खेतीमा देखिएका समस्या, बजारको अनिश्चितता, उत्पादन लागत तथा किसानले भोग्दै आएका चुनौतीबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कृषि अनुसन्धानसँग सम्बन्धित विज्ञ, किसान, बीउ उत्पादक, व्यवसायी, उद्योगी तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उनीहरूले अदुवा तथा बेसार क्षेत्रको विकासका लागि अनुसन्धान, उत्पादन, प्रशोधन र बजार व्यवस्थापनबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
अनुसन्धानबाट प्राप्त नयाँ प्रविधि तथा उपलब्धिहरू किसानसम्म पु¥याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । साथै अदुवा तथा बेसारलाई व्यावसायिक खेतीका रूपमा विकास गरी किसानको आम्दानी वृद्धि गर्न सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व वरिष्ठ वैज्ञानिक गोविन्द केसी, कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास कार्यक्रमका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ तुलसीपुरका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
