सिद्धकुमाखमा रैथाने बालीको प्रवर्द्धनका लागि परिकार निर्माण तालिम, २२ जना सहभागी

  • मेरो जिल्ला
  • / कृषि /
  • २०८३ जेष्ठ २८, बिहिबार (१ महिना अघि)
  • १२७ पटक पढिएको

सिद्धकुमाखमा रैथाने बालीको प्रवर्द्धनका लागि परिकार निर्माण तालिम, २२ जना सहभागी

स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण, प्रवर्द्धन तथा उपभोगलाई बढावा दिने उद्देश्यले सिद्धकुमाख गाउँपालिकामा रैथाने बालीबाट विभिन्न परिकार निर्माण सम्बन्धी तालिम सञ्चालन गरिएको छ। सिद्धकुमाख गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा सञ्चालन भएको तालिममा होटल व्यवसायी, विद्यालयका बालविकास सहजकर्ता, सामुदायिक विद्यालयका क्यान्टिन सञ्चालक तथा महिला स्वास्थ्य स्वयंसेविकासहित २२ जनाको सहभागिता रहेको छ। गाउँपालिकाभित्र उत्पादन हुने कोदो, भटमास, बदाम लगायतका रैथाने कृषि उपजलाई दैनिक उपभोगमा प्रयोग गर्न प्रेरित गर्ने तथा तिनको मूल्य अभिवृद्धि गरी आयआर्जनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कृषि शाखा प्रमुख सूरज पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार पछिल्ला वर्षहरूमा स्थानीय रैथाने बालीको उत्पादन तथा प्रयोग घट्दै गएकाले रैथाने बालीको महत्वबारे जानकारी गराउनुका साथै ती बालीबाट आकर्षक र स्वादिष्ट परिकार बनाउन सकिने सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो।

तालिममा सहभागीहरूलाई कोदो, भटमास, बदाम तथा अन्य स्थानीय कृषि उपजको प्रयोग गरी समोसा, मोमो, नम्किन लगायत विभिन्न परिकार तयार गर्ने व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको छ । तालिम प्राप्त प्रशिक्षकमार्फत सञ्चालन भइरहेको कार्यक्रममा रैथाने बाली बाट के के बन्छ कसरी यसलाई प्रयोगमा ल्याउनु सकिन्छ भन्ने बारे सिकाइएको छ । शाखा प्रमुख पौडेलका अनुसार स्थानीय उत्पादनलाई आधुनिक स्वाद र बजारको मागसँग जोड्न सकिएमा रैथाने बालीप्रति आकर्षण बढ्नुका साथै किसानले उत्पादन गरेको बालीको उचित मूल्य समेत प्राप्त गर्न सक्नेछन्।

विद्यालय, होटल तथा विभिन्न सार्वजनिक कार्यक्रमहरूमा समेत रैथाने बालीबाट बनेका परिकारको प्रयोग बढाउन सके स्थानीय उत्पादनको बजार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ।तालिमपछि सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्थानीय उत्पादनको प्रयोग बढाउने, पोषणयुक्त खाद्य परिकारको प्रवर्द्धन गर्ने तथा साना व्यवसाय सञ्चालनमार्फत आयआर्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली