
विभिन्न आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा फाँटमा कार्यरत सुब्बा निरज परियारलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । सोमबार साँझ पक्राउ परेका उनलाई मंगलबार अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरिएको हो । सुब्बा परियारमाथि सेवाग्राहीलाई दुःख दिएको, मुद्दा मिलाइदिने भन्दै पैसाको बार्गेनिङ गरेको तथा फेक च्याट बनाएको जस्ता आरोप सामाजिक सञ्जालमार्फत लगाइएको थियो । केही दिनअघि जेन्जी सल्यानका संयोजक युवराज खड्कालेमुद्दा मिलाइदिएबापत सेवाग्राहीमार्फत पैसा लिएको र आफूलाई फसाउन गलत च्याट बनाएको आरोप सामाजिक सञ्जालमार्फत लगाएका थिए । यसैगरी अन्य दुई जना व्यक्तिले पनि आफूविरुद्ध फेक च्याट बनाएर चरित्र हत्या गरेको भन्दै सुब्बा परियारविरुद्ध मुद्दा दर्ता गरेका छन् । सोही आधारमा परियारमाथि हाल साइबर अपराध अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यसैबीच, सुब्बा परियारले सेवाग्राहीसँग घुस मागेको भनिएको अडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त अडियोमा “१ लाख २० हजारसम्म दिएमा तपाईंको मुद्दा मिल्छ, नभए नयाँ सीडीओ आउँदा मिलाउन गाह्रो हुन्छ” भन्ने आशयका कुरा गरिएको सुनिन्छ । तर उक्त अडियोमा उल्लेखित व्यक्तिको नाम र मुद्दाको प्रकृति भने स्पष्ट खुलाइएको छैन ।
