
वैशाख १४ गतेदेखि सञ्चालन हुन गइरहेको कक्षा १२ को वार्षिक परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले तोकिएका केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण तालिम दिइएको छ । राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय घोराहीको आयोजना र शिक्षा बिकास तथा समन्वय इकाइ सल्यानको समन्वयमा गरिएको उक्त तालिममा सदरमुकाम खलंगामा तोकिएका सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता रहेको थियो । यस वर्ष जिल्लामा सञ्चालन हुने परीक्षाका लागि १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ती केन्द्रका लागि १५ जना केन्द्राध्यक्ष खटाइएका छन् । कुल ३ हजार ३ सय ९३ जना परीक्षार्थीले कक्षा १२ को परीक्षामा सहभागिता जनाउने तयारी गरेका छन् ।

तालिमका क्रममा राष्ट्रिय परीक्षा बोर्ड घोराहीका निमित्त प्रमुख डिल्ली बहादुर श्रेष्ठले परीक्षा व्यवस्थापनका पक्षबारे केन्द्राध्यक्षहरूलाई जानकारी गराउँदै परीक्षालाई निष्पक्ष, मर्यादित र शान्त वातावरणमा सम्पन्न गराउनु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले परीक्षा सञ्चालनका क्रममा अपनाउनुपर्ने सतर्कता, उत्तरपुस्तिका व्यवस्थापन, सुरक्षा संयन्त्रसँगको समन्वय तथा आकस्मिक अवस्थाको व्यवस्थापनबारे पनि स्पष्ट निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले विगतका अनुभवलाई मध्यनजर गर्दै यस वर्षको परीक्षामा मोबाइल फोनको प्रयोगलाई पूर्णरूपमा निषेध गर्न विशेष निर्देशन दिनुभयो । उहाँले परीक्षा केन्द्रभित्र विद्यार्थी वा अन्य कसैसँग मोबाइल फेला परेमा कानुनअनुसार कारबाही गरिने र त्यसको जिम्मेवारी सम्बन्धित केन्द्राध्यक्षले लिनुपर्ने स्पष्ट पार्नुभयो । अघिल्ला परीक्षाहरूमा केही विद्यार्थीहरूले मोबाइल लैजाने गरेको पाइएकाले यसलाई नियन्त्रण गर्न केन्द्राध्यक्षहरूको भूमिका अझ महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

शिक्षा बिकास तथा समन्वय एकाइ सल्यानका प्रमुख शेर बहादुर रोकाले केन्द्राध्यक्षहरूलाई परीक्षा अवधिभर उच्च सतर्कता अपनाउँदै कुनै पनि अनियमितता हुन नदिने, परीक्षार्थीहरूलाई सहज र सुरक्षित वातावरणमा परीक्षा दिन सहयोग पु¥याउने तथा समग्र परीक्षालाई स्वच्छ, विश्वसनीय र मर्यादित बनाउने दिशामा जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा सहभागी केन्द्राध्यक्षहरूले पनि आफूहरूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ्। उनीहरूले सिकाइएका निर्देशिकाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निष्पक्ष परीक्षा सञ्चालनमा सक्रिय भूमिका खेल्ने बताएका छन् ।
