
सल्यानको कुमाख गाउँपालिकाले एक विद्यालय समायोजन गरेको छ भने १८ विद्यालयमा तह घटाएको छ । भौगोलिक विकटताका साथै प्रत्येक वर्ष विद्यार्थी संख्या घट्दै गएपछि पालिकाले एक विद्यालय समायोजन र १८ वटा विद्यालयको तह घटाएको हो । पालिकाका शिक्षा शाखा प्रमुख प्रेमलाल केसीका अनुसार विगतदेखि १–५ संचालित बालविकास आधारभूत विद्यालयलाई जनता मावि रागेचौरमा समायोजन गरिएको हो । १–३ कक्षा संचालित सरस्वती, महादेव, मालिका, जनता, कालिका, उपकार आधारभूत विद्यालयलाई बालविकास, १–५ संचालित शान्ति, कालिका, भगवती, बालकल्याण, जनकल्याण, महेन्द्र आधारभूत विद्यालयलाई १–३ मा तह घटाएको छ । १–८ सम्म संचालित जनता, त्रिबेणी, जनजागृत, सिद्ध आविलाई १–५ मा र १–१० संचालित सरस्वती माविलाई १–८ तह घटुवा गरेको छ ।
बसाइँसराइले गाउँका विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको र केही स्थानमा भौगोलिक विकटताले गर्दा साना बालबालिकालाई विद्यालय आउजाउमा समस्या देखिएपछि गाउँ शिक्षा समितिको २०८१ फागुन १५ को निर्णय अनुसार नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय समायोजन र तह घटुवा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपाल खडगाले जानकारी दिए ।
विद्यालय समायोजन तथा तह घटुवा गरेसँगै विद्यालयका दरबन्दी मिलान पनि गरिएको खडगाले बताए । विद्यार्थी संख्या घट्दै गएकाले एक शिक्षकले चार–पाँच जना विद्यार्थीलाई पढाउनु पर्ने अवस्था सृजना भएकाले समायोजन र तह घटुवा गरिएको उनले जानकारी दिए ।
