शारदा नगरपालिकामा चौथो पालिका स्तरीय पढाइ मेला सम्पन्न

  • मेरो जिल्ला
  • / शिक्षा /
  • २०८३ अषाढ ७, आईतबार (१ महिना अघि)
  • १०८ पटक पढिएको

शारदा नगरपालिकामा चौथो पालिका स्तरीय पढाइ मेला सम्पन्न

|default

शारदा नगरपालिकामा चौथो पालिका स्तरीय पढाइ मेला सम्पन्न भएको छ। नगरपालिका–१ स्थित शिवजन माध्यमिक विद्यालय, शीतलपाटीमा आयोजित मेलामा नगरभित्रका ३९ वटा विद्यालयको सहभागिता रहेको थियो। शारदा नगरपालिकाको आयोजना तथा रुम टु रिड र दलित विकास समाजको प्राविधिक सहयोगमा सम्पन्न मेलाको उद्देश्य बालबालिकामा पठन संस्कृतिको विकास, सिकाइ आदानप्रदान तथा शैक्षिक सामग्रीको प्रयोग प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। मेलाको उद्घाटन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाप्रतिको सचेतना अभिवृद्धि र बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। अन्य स्थानीय तहहरूले समेत यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गुणस्तरीय शिक्षाको आधार बलियो पठन संस्कृतिमा निर्भर रहने उल्लेख गर्दै विद्यालयमा पढ्ने बानीको विकास, सिर्जनात्मक सिकाइ तथा प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो। शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले पढाइ मेलाले विद्यार्थीमा सिर्जनशीलता विकास, पठन सीप अभिवृद्धि तथा अन्तरविद्यालय सिकाइ आदानप्रदानलाई सुदृढ बनाएको बताउनुभयो। उहाँले सानो लगानीबाट सुरु गरिएको अभियान अहिले कर्णाली प्रदेशकै नमूना अभ्यासका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै विद्यार्थीमा पढ्ने बानीको विकास र असल अभ्यासको आदानप्रदानमा मेला प्रभावकारी बनेको धारणा राख्नुभयो।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बबालका अनुसार शारदा नगरपालिकाले पुस्तकालय स्थापना, शिक्षक तालिम, बालमैत्री कक्षाकोठा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।

मेलामा विद्यालयहरूले तयार पारेका शैक्षिक सामग्री, स्थानीय इतिहास तथा संस्कृतिसम्बन्धी प्रस्तुति, पठन सीप अभिवृद्धिका सामग्री तथा विद्यार्थीका सिर्जनात्मक गतिविधिहरू प्रदर्शनीमा राखिएका थिए। साथै पठन सीप मापन, चित्रकला, चित्रकथा लेखन, कथा वाचन, लोकगीत, भिडियो सामग्री निर्माण, सांस्कृतिक प्रस्तुति तथा करियर परामर्शलगायतका विविध कार्यक्रम सञ्चालन गरिएका थिए।

पढाइ मेलाले विद्यार्थी, शिक्षक तथा अभिभावकबीच सिकाइ अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयमा पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली