
समयसँगै धेरै कुरा परिवर्तन हुन्छन्, तर सिक्ने चाहना कहिल्यै पुरानो हुँदैन। यसको उदाहरण हुनुहुन्छ सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुदीप केसी । ४० वर्षको उमेरमा उहाँले २० वर्षअघि छुटेको पढाइलाई पुनः सम्हाल्दै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनुभएको छ। दार्माकोटस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट उहाँले पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिनुभएको हो । २०६२ सालमा कक्षा १० सम्म अध्ययन गर्नुभएका केसीले पारिवारिक समस्या र जिम्मेवारीका कारण पढाइ बीचमै छोड्नुपरेको थियो। तर, मनभित्रको अधुरो सपना भने कहिल्यै मरेन।
“पढ्ने इच्छा त सधैं थियो, तर समय र परिस्थितिले साथ दिएन। अहिले फेरि हिम्मत गरेर विद्यालय भर्ना भएँ र एसइई दिइरहेको छु,” वडा अध्यक्ष केसीले भन्नुभयो।
उहाँका अनुसार परीक्षा दिन पाउनु आफैंमा एउटा ठूलो उपलब्धि जस्तो लागेको छ।
“पहिलो दिन परीक्षा दिँदा निकै रमाइलो लाग्यो, खुसी पनि भएँ,” उहाँले थप्नुभयो।
केसी परीक्षा दिन केन्द्र पुगेपछि त्यहाँको वातावरण नै केही फरक देखियो। विद्यार्थीहरूका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभयो ।
“वडा अध्यक्ष पनि हामीजस्तै परीक्षा दिनुभएको छ भनेर नानीबाबुहरू झन उत्साहित भएका छन्,” उहाले मुस्कुराउँदै भन्नुभयो।
उहाँका आफ्नै छोरा–भतिजा समेत त्यहीँ परीक्षा दिइरहेका छन्, जसले उहाँलाई अझ बढी जिम्मेवार र उत्साहित बनाएको छ। परीक्षा अनुभवबारे उहाँले भन्नुभयो ।
“परीक्षा पनि राम्रै भएको छ। पढाइ उमेरले होइन, इच्छाले हुन्छ भन्ने कुरा मैले महसुस गरेँ।”एसइईपछि पनि उहाले आफ्नो पढाइलाई निरन्तरता दिने योजना बनाउनुभएको छ ।
“११ र १२ कक्षा पढ्ने इच्छा छ, सकेसम्म पढ्ने सोच बनाएको छु,” उहाले बताउनुभयो।
स्थानीयस्तरमा जनप्रतिनिधि भएर जिम्मेवारी निभाइरहेका केसीको यो कदमले शिक्षा प्रतिको दृष्टिकोण बदल्न ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
