सल्यानको कुमाख गाउँपालिका–५ का महिलाहरूलाई बाँसबाट घरायसी सजावटका सामग्री निर्माण गर्ने सीप तालिम प्रदान गरिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजना र कुमाख गाउँपालिकाको सहकार्यमा सञ्चालित ४५ दिने तालिममा १० जना सहभागी भए, जसमा ९ जना महिला र १ जना पुरुष छन्।
तालिम प्रशिक्षक तुलबहादुर केसीले बाँसबाट विभिन्न सजावटी सामग्री बनाउन प्रशिक्षण दिनुभयो। कार्यालयका प्रमुख श्यामलाल खरालका अनुसार स्थानीय उत्पादन विस्थापित हुने अवस्थामा पुगेकाले यस्तो सीपमूलक तालिमले ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। “बाँसबाट थुप्रै सामग्री बनाइँदै आए पनि घर सजावटका सामग्रीको निर्माण भने न्यून छ, त्यसैले यसपटक त्यही क्षेत्रमा ध्यान केन्द्रित गरिएको हो,” खरालले भन्नुभयो।
तालिममा सहभागी रोशन बुढाथोकीले सिकेको सीप व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै, उत्पादित सामग्री बिक्रीका लागि पहल आवश्यक रहेको बताउनुभयो। “सीप त सिक्यौं, अब प्रयोग गर्न सामग्रीको व्यवस्था र बजारको पहुँच हुन जरुरी छ,” उहाँले भन्नुभयो।
तालिम समापन कार्यक्रममा कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले तालिमले दिएको सीपलाई निरन्तर अभ्यासमार्फत व्यवहारिक बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। “प्रत्येक वर्ष यस्तो तालिम हुँदै आएको छ, अब सिकेकालाई आत्मनिर्भरतासँग जोड्नुपर्छ,” उहाँले भन्नुभयो।
उपाध्यक्ष लालबहादुर रावतले सीपले रोजगारी सिर्जना गर्ने र महिलालाई आत्मनिर्भर बनाउने बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमपछि व्यवसायिकरूपमा अघि बढ्न सहभागीलाई आग्रह गर्नुभयो।
वडाध्यक्ष पदमबहादुर बुढामगरले पनि सिकेको सीप तत्काल व्यवहारमा उतार्न आग्रह गर्दै पालिकाले बजार व्यवस्थापनमा सहयोग पुर्याउने बताउनुभयो।
उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |