
सल्यानको कपुरकोट गाउँपालिकामा “हो, हामी क्षयरोग अन्त्य गर्छौं—राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नाराका साथ दिवस मनाइएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा पुनले महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। समुदायस्तरमै सचेतना फैलाउन उनीहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँको भनाइ थियो। गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले क्षयरोग दिवसलाई सचेतना र प्रतिबद्धताको अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। साझा प्रयासबाट मात्र क्षयरोग नियन्त्रण र न्यूनीकरण सम्भव हुने उल्लेख गर्दै उहाँले “खोज, पहिचान र उपचार” कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने, रोग लाग्न नदिने तथा रोग लागेमा समयमै उपचार गर्ने नीति अवलम्बन गरिएको उहाँले स्पष्ट पार्नुभयो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शुबाश हमालका अनुसार अघिल्लो वर्ष ३८ जनामा क्षयरोग पुष्टि भएको थियो भने चालु आर्थिक वर्षमा हालसम्म १६ जना बिरामी फेला परिसकेका छन्। जाँचको दायरा विस्तार गरी रोगी पहिचान र समयमै उपचारमा जोड दिनुपर्ने उहाँको भनाइ छ। यसै अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरूबीच क्षयरोगसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो। हाजिरी जवाफ प्रतियोगितामा बिजय हुनेलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरूले क्षयरोग नियन्त्रणका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।
