
सल्यानको कपुरकोट गाउँपालिका ले आर्थिक वर्ष २०८३र८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पशुपालन, उद्योग, सहकारी तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, खानेपानी र सरसफाइलाई विशेष जोड दिइएको छ। साथै सांस्कृतिक प्रवर्द्धन, गरिबी निवारण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा र सशक्तीकरणका विषयहरू पनि समेटिएका छन्।

त्यसैगरी रोजगारी सिर्जना, भौतिक पूर्वाधार विकासअन्तर्गत सडक र पुल निर्माण, व्यवस्थित सहरीकरण, सञ्चार तथा सूचना प्रविधि र ऊर्जा क्षेत्रलाई समेत कार्यक्रममा प्राथमिकता दिइएको छ। सिंचाइ, वन वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू पनि नीति तथा कार्यक्रममा समावेश गरिएका छन्। कृषि क्षेत्रतर्फ किसानहरूमा कृषि सम्बन्धी प्राविधिक तथा व्यवहारिक सीप विकास गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक टोल विकास क्षेत्रमा “कृषि ज्ञान सञ्चार कार्यक्रम” सञ्चालनलाई निरन्तरता दिइने अध्यक्ष पुनले बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्षको समेत उपस्थिति रहेको थियो। उपाध्यक्षले न्यायिक समितिको प्रगति विवरण प्रस्तुत गर्दै समितिले सम्पादन गरेका कार्य तथा हासिल उपलब्धिबारे जानकारी गराउनुभएको थियो। अधिवेशनमा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अध्यक्षद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि व्यापक छलफलपछि गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल ले जानकारी दिनुभयो। उहाँका अनुसार यस अधिवेशनमार्फत गाउँपालिकाले समग्र विकास, सुशासन, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध कपुरकोट निर्माणप्रति आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ।
