सल्यानमा बितेको एक महिनामा २० वटा विपद्जन्य घटनाबाट ५० लाखभन्दा बढीको क्षति

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ जेष्ठ २, शनिबार (३ हप्ता अघि)
  • ५१ पटक पढिएको

सल्यानमा बितेको एक महिनामा २० वटा विपद्जन्य घटनाबाट ५० लाखभन्दा बढीको क्षति

सल्यानमा बितेको एक महिनाको अवधिमा विभिन्न विपद्जन्य घटनाबाट ५० लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बैशाख महिनाभर आगलागी, हावाहुरी, चट्याङ तथा अविरल वर्षाका कारण जिल्लाभर ५० लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
प्रहरीका अनुसार सबैभन्दा बढी क्षति आगलागी, हावाहुरी र अविरल वर्षाबाट भएको छ । यी घटनाबाट मात्रै ४९ लाख ३७ हजार रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीका घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाले ३ वटा सामुदायिक वनमा क्षति पु¥याउनुका साथै ७ वटा घरगोठ जलेर नष्ट भएका छन् । यस्तै अविरल बर्षा चट्याङले ३ घरगोठमा क्षति भएको छ । सुख्खा मौसम, बढ्दो गर्मी र लापरवाहीका कारण आगलागीका घटना बढ्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार चट्याङका घटनाबाट घरगोठ तथा जंगलमा क्षति हुँदा १ लाख १० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । बैशाख महिनामा सबैभन्दा बढी आगलागी, हावाहुरी र अविरल वर्षाले क्षति पु¥याएको प्रहरीको तथ्यांकले देखाएको छ ।


त्यस्तै, बैशाख महिनामा आएको हावाहुरीले दुई वटा घरगोठ तथा एक विद्यालय भवनमा क्षति पु¥याएको छ । कतिपय स्थानमा छाना उडाउने, विद्युत् लाइन अवरुद्ध गर्ने तथा रूख ढाल्ने घटना समेत भएको जनाइएको छ । यता, अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । विशेषगरी तरकारी बाली, गहुँ प्रभावित भएको स्थानीय कृषकहरूले बताएका छन् । वर्षासँगै आएको पहिरोका कारण जिल्लाका दुई सडक खण्ड समेत अवरुद्ध भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । विपद्का घटनाहरू बढ्न थालेसँगै जिल्लामा पूर्वतयारी, जनचेतना र सतर्कता आवश्यक रहेको स्थानियले बताएका छन् । विशेषगरी गर्मीयाम र वर्षायाम सुरु भएसँगै आगलागी, पहिरो तथा चट्याङका घटना बढ्न सक्ने भएकाले स्थानीय तह, सुरक्षा निकाय तथा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली