सल्यानमा निःशुल्क पिपिआर खोप अभियान सञ्चालन

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ जेष्ठ ७, बिहिबार (२ हप्ता अघि)
  • २३४ पटक पढिएको

सल्यानमा निःशुल्क पिपिआर खोप अभियान सञ्चालन

सल्यानमा भेडाबाख्रामा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि निःशुल्क पिपिआर खोप अभियान सञ्चालन गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जिल्लाका १० वटै स्थानीय तहमा अभियान सञ्चालन गरेको हो । पशुचौपायामा विभिन्न रोगको जोखिम बढ्दै गएपछि रोग नियन्त्रण तथा किसानको क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको कार्यालयले जनाएको छ । अभियान अन्तर्गत जिल्लाभर करिब २ लाख ५० हजार भेडाबाख्रालाई निःशुल्क पिपिआरविरुद्धको खोप लगाइने भएको छ । खोप कार्यक्रम प्रभावकारी बनाउन जिल्लाभर ४५ जना भ्याक्सिनेटर परिचालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी बिरेन्द्र केसी ले जानकारी दिनुभयो । उहाँका अनुसार भेडाबाख्रामा लाग्ने पिपिआर रोग अत्यन्त संक्रामक भएकाले समयमै खोप लगाउन सके पशुधनको क्षति कम गर्न सकिनेछ । कार्यालयले भेडाबाख्रासँगै गाईभैँसीमा देखिने लम्पी स्किन तथा खोरेत रोगविरुद्ध पनि खोप अभियान सञ्चालन गर्ने जनाएको छ । पछिल्लो समय जिल्लाका केही क्षेत्रमा पशुचौपायामा विभिन्न रोगको संक्रमण देखिन थालेपछि किसान थप चिन्तित बनेका छन् । यस्तो अवस्थामा खोप अभियानले रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सूचना अधिकारी केसीका अनुसार खोप अभियानका लागि आवश्यक भ्याक्सिन, प्राविधिक जनशक्ति तथा अन्य व्यवस्थापन पूरा गरिएको छ । किसानलाई आफ्ना पशुचौपायालाई अनिवार्य रूपमा खोप लगाउन तथा रोगका लक्षण देखिए तत्काल नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन समेत आग्रह गरिएको छ । पिपिआर रोग विशेषगरी भेडाबाख्रामा देखिने अत्यन्त संक्रामक रोग हो । यो रोग लागेपछि ज्वरो आउने, नाक तथा आँखाबाट पानी बग्ने, झाडापखाला लाग्ने, घाँस खान छाड्ने तथा अत्यधिक कमजोर हुने समस्या देखिने गर्दछ । समयमै उपचार र खोप नलगाउँदा पशु मर्ने जोखिम उच्च रहने पशु प्राविधिकहरूले बताएका छन् ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली