सल्यानको कुमाख गाउँपालिकामा तीन दिने कृषि सशक्तीकरण तालिम सम्पन्न

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ जेष्ठ ३१, आईतबार (१ महिना अघि)
  • ११९ पटक पढिएको

सल्यानको कुमाख गाउँपालिकामा तीन दिने कृषि सशक्तीकरण तालिम सम्पन्न

वातावरणमैत्री, दिगो र स्वस्थ कृषि प्रणालीको विकासमार्फत स्थानीय उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण तथा अर्गानिक कृषि प्रविधिको प्रयोग र विस्तार गर्ने उद्देश्यले कुमाख गाउँपालिकामा तीन दिने कृषि सशक्तीकरण तालिम सम्पन्न भएको छ।ग्रीन नेपाल मल्टिप्रपोज प्रा।लि।को आयोजनामा तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा गाउँपालिकाभित्रका कृषक, युवा तथा कृषि क्षेत्रमा रुचि राख्ने सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिमको उद्घाटन गर्दै कुमाख गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि मान बहादुर बुढाथोकीले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत गाउँपालिकाको आर्थिक विकास सम्भव रहेको बताउँदै कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन आग्रह गर्नुभयो।

उहाँले कृषि विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको समेत जानकारी दिनुभयो। विशिष्ट अतिथि लाल बहादुर रावतले यस्ता व्यवहारिक तालिमले कृषि क्षेत्रको दिगो विकासमा टेवा पुग्ने बताउँदै सिकेका ज्ञान व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। आयोजक संस्था ग्रीन नेपाल मल्टिप्रपोज प्रा।लि।का अध्यक्ष खिम डी।सी।ले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयआर्जन बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले एक वर्षभित्र कुमाखको अर्गानिक बेसारलाई ब्राण्डिङ गर्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो।

तालिममा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख तथा वनस्पति वैज्ञानिक डा. मित्र पाठकले कुमाखको भौगोलिक तथा जलवायुगत अवस्थाअनुसार टिमुर, तेजपात, चिराइतो, सतुवा, कुरिलो, रोजमेरी लगायत उच्च मूल्यका जडीबुटी तथा मसला बालीहरूको व्यावसायिक खेतीको सम्भावनाबारे प्रस्तुति दिनुभयो। त्यसैगरी अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटका संयोजक डा। घनश्याम भण्डारीले अदुवा र बेसार खेतीको आधुनिक प्रविधि, रोग–कीरा व्यवस्थापन र बजार सम्भावनाबारे प्रशिक्षण दिँदै यी बालीलाई नगदे बालीका रूपमा विकास गर्न सकिने बताउनुभयो। परियोजना कार्यान्वयन एकाइ सल्यानका प्रमुख अनिल बानियाँले अर्गानिक खेती प्रणाली, जैविक मल तथा जैविक विषादीको प्रयोग, माटो संरक्षण र सुरक्षित खाद्य उत्पादनबारे सहजीकरण गर्नुभयो। उहाँले रासायनिक विषादीको अत्यधिक प्रयोगले स्वास्थ्य र वातावरणमा पार्ने असरबारे पनि जानकारी दिनुभयो।

तीन दिनसम्म सञ्चालन भएको तालिममा सैद्धान्तिक तथा व्यवहारिक दुवै सत्र समावेश गरिएको थियो। सहभागीहरूले स्थानीय स्रोत र सम्भावनामा आधारित कृषि तथा जडीबुटी खेतीबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताएका छन्। समापन अवसरमा वक्ताहरूले कृषि व्यवसायीकरण, जडीबुटी विस्तार र अर्गानिक उत्पादनमार्फत कुमाखलाई कृषि उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे। सहभागीहरूले प्राप्त ज्ञान व्यवहारमा लागू गरी उत्पादन र आम्दानी वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्।

तालिमपछि ४५ जना सहभागीलाई जैविक तथा वनस्पतिजन्य विषादी बनाउन ड्रम तथा आवश्यक सामग्री समेत प्रदान गरिएको थियो।कार्यक्रम आयोजक खिम डी।सी।ले पालिकाको कुनै एक क्षेत्रमा जडीबुटी विशेष पकेट क्षेत्र विकास गर्ने र त्यहाँ रोपिएका बिरुवा बचाउने कृषकलाई ‘एक बोट बराबर २० रुपैयाँ’ प्रोत्साहन कार्यक्रम लागू गरिने जानकारी दिनुभयो। उहाँ लामो समयदेखि युवाहरूको हकहितका लागि सक्रिय रहँदै आउनुभएको छ।त्यस्तै, वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा। मित्र पाठकले पकेट क्षेत्र विकास भएमा बिरुवा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली