सल्यानमा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी मिडियाकर्मीका लागि सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ अषाढ ८, सोमबार (१ महिना अघि)
  • ७७ पटक पढिएको

सल्यानमा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी मिडियाकर्मीका लागि सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न

सल्यानमा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी मिडियाकर्मीहरूका लागि सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा जिल्लाका सञ्चारकर्मीहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो।
स्वास्थ्यसम्बन्धी विषयवस्तुहरूलाई प्रभावकारी रूपमा सञ्चार माध्यममार्फत आम नागरिकसम्म पुर्‍याउने, तथ्यमा आधारित स्वास्थ्य समाचार प्रवाहलाई प्रोत्साहन गर्ने तथा स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत भुवन पुनले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै अधिकृत पुनले स्वास्थ्यका धेरै महत्वपूर्ण विषयहरू अझै पनि पर्याप्त रूपमा सार्वजनिक बहस र सञ्चारको दायरामा आउन नसकेको बताउनुभयो। पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगहरूको समस्या बढ्दै गएको, जीवनशैलीसँग सम्बन्धित विभिन्न रोगहरूको जोखिम वृद्धि भइरहेको तथा स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीबारे नागरिकलाई समयमै सचेत गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
उहाँले पत्रकार तथा सञ्चारकर्मीहरूले तथ्यपरक र जिम्मेवार स्वास्थ्य सामग्री उत्पादन गरी जनमानसमा सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। स्वास्थ्यसम्बन्धी सही जानकारीको प्रसारले नागरिकको स्वास्थ्य व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने तथा रोगको रोकथाम र नियन्त्रणमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो।
कार्यक्रममा स्वास्थ्य र सञ्चारबीचको अन्तरसम्बन्ध, स्वास्थ्य सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका, स्वास्थ्यसम्बन्धी गलत सूचना तथा भ्रमको न्यूनीकरण, स्वास्थ्य सेवाको निगरानी तथा जवाफदेहिताको प्रवर्द्धन, र स्वास्थ्य अभियानहरूको प्रभावकारी प्रचारप्रसारका विषयमा छलफल गरिएको थियो।
यस्तै, सुर्तीजन्य पदार्थको उत्पादन, बिक्री तथा वितरणसम्बन्धी कानुनी व्यवस्था, यसको सेवनबाट स्वास्थ्यमा पर्ने नकारात्मक असर, सार्वजनिक स्थानमा धूमपान निषेधसम्बन्धी प्रावधान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सरकारले गरेका प्रयासबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्य क्षेत्रका मुद्दाहरूलाई अझ प्रभावकारी रूपमा सञ्चार माध्यममार्फत उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले स्वास्थ्यसम्बन्धी सूचना प्रवाहलाई थप सशक्त बनाउन तथा सञ्चारकर्मी र स्वास्थ्य क्षेत्रबीच समन्वय बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली