
शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ नगरसभामा नगरप्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख सुस्मिता सापकोटाले कुल १ अर्ब ३६ करोड १ लाख २६ हजार ५ सय १३ रुपैयाँ बराबरको बजेट पेश गर्नुभएको हो।
प्रस्तुत बजेटमध्ये चालूतर्फ ६६ करोड ९० लाख २६ हजार ५ सय १३ रुपैयाँ (४९.१८ प्रतिशत) तथा पुँजीगततर्फ ६९ करोड ११ लाख रुपैयाँ (५०.८२ प्रतिशत) विनियोजन गरिएको छ। नगरपालिकाले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै चालू र पुँजीगत खर्चलाई सन्तुलित रूपमा व्यवस्थापन गरेको जनाएको छ।
नगरप्रमुख प्रकाश भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो। नगरभित्रका अधिकांश बस्तीमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै उहाँले खानेपानी क्षेत्रमा मात्रै ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो। सुरक्षित तथा नियमित खानेपानी सेवामा नागरिकको पहुँच विस्तार गर्न विभिन्न खानेपानी आयोजना सञ्चालन गरिने उहाँको भनाइ छ।
यस्तै शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुदृढीकरण, शिक्षक तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। स्वास्थ्य क्षेत्रमा पनि आधारभूत तथा विशेषज्ञ सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि तथा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उद्देश्यका साथ कृषिमा समेत विशेष कार्यक्रम समावेश गरिएको छ। कृषि उत्पादन वृद्धि, किसानको आयआर्जनमा सुधार तथा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइएको नगरप्रमुख भण्डारीले बताउनुभयो। कृषि, पशुपालन तथा उद्यमशीलता प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउने नगरपालिकाको योजना रहेको छ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सडक स्तरोन्नति, युवा तथा महिला सशक्तीकरण, रोजगार प्रवर्द्धन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटलाई “समृद्ध शारदा, सुखी नागरिक” को लक्ष्य हासिल गर्ने आधारका रूपमा लिएको जनाएको छ। स्थानीय आवश्यकताका आधारमा तयार गरिएको बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
नगरसभामा पत्रकार प्रदीप मगर सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
