
सल्यानको सिद्धकुमाख गाउँपालिकाले सुरक्षित आवास सुनिश्चित गर्ने उद्देश्यका साथ ५७ घरधुरीलाई जस्तापाता वितरण गरेको छ। आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमअन्तर्गत खरको छाना भएका घरलाई क्रमशः विस्थापित गरी सुरक्षित आवासको प्रत्याभूति दिलाउने लक्ष्यसहित गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो।
गाउँपालिकाले वर्षायाममा खरको छानाबाट पानी चुहिने, आगलागी तथा अन्य प्राकृतिक विपद्को जोखिम उच्च हुने अवस्थालाई मध्यनजर गर्दै जोखिममा रहेका परिवारलाई जस्तापाता उपलब्ध गराएको जनाएको छ। गाउँपालिकाको नीति अनुसार खरको छाना भएका घरलाई सुरक्षित र व्यवस्थित आवासमा रूपान्तरण गर्ने अभियानअन्तर्गत छनोट भएका ५७ घरधुरीलाई जस्तापाता हस्तान्तरण गरिएको हो।

जस्तापाता वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत गिरीले ग्रामीण बस्तीमा अझै पनि खरको छाना भएका घरधुरीको संख्या उल्लेख्य रहेको भन्दै सुरक्षित आवास नागरिकको आधारभूत आवश्यकता भएकाले गाउँपालिकाले यस विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले वर्षाद्को समयमा खरको छाना चुहिने, हावाहुरी र अन्य विपद्का कारण जनधनको क्षति हुने सम्भावना बढ्ने भएकाले खरको छाना विस्थापन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सबै नागरिकलाई सुरक्षित आवासको पहुँचमा ल्याउने गाउँपालिकाको लक्ष्य रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेतले गाउँपालिकाले नागरिकको जीवनस्तर सुधारका लागि सञ्चालन गरेका कार्यक्रमको दुरुपयोग नगरी सही सदुपयोग गर्न आग्रह गर्नुभयो। प्राप्त सामग्रीलाई निर्धारित उद्देश्यअनुसार प्रयोग गरी घरलाई सुरक्षित बनाउनेतर्फ लाभग्राही सचेत हुनुपर्ने उहाँले बताउनुभयो। गाउँपालिकाले लिएको सुरक्षित आवाससम्बन्धी नीति सफल बनाउन नागरिकको सहयोग र जिम्मेवारी उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
सिद्धकुमाख गाउँपालिकाले सुरक्षित, व्यवस्थित र विपद् प्रतिरोधी आवास निर्माणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि जोखिमयुक्त आवासको पहिचान गरी आवश्यक सहयोगका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रमा सुरक्षित आवास निर्माण अभियानलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।
