
सल्यानमा पशुचौपायामा देखिने खोरेत रोग को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सरोकारवालासँग अन्तरक्रिया तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय, सल्यानको आयोजनामा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका पशु शाखा प्रमुख, पशु प्राविधिक तथा भ्याक्सिनेटरहरूको सहभागिता रहेको थियो।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख डा. अनुप श्रेष्ठका अनुसार पछिल्लो समय जिल्लामा खोरेत रोगको संक्रमण देखिन थालेपछि समयमै नियन्त्रणका उपाय अवलम्बन गर्न कार्यक्रम आयोजना गरिएको हो। उहाँले कार्यक्रममा रोगको पहिचान, नमुना संकलन गर्ने विधि, प्रयोगशालामा पठाउने प्रक्रिया, खोप व्यवस्थापन तथा प्रभावकारी रूपमा खोप अभियान सञ्चालन गर्ने विषयमा प्राविधिक जानकारी प्रदान गरिएको बताउनुभयो।
यसै अवसरमा खोप अभियान सञ्चालनका लागि आवश्यक भ्याक्सिन क्यारियर, सिरिन्ज, सुई तथा अन्य आवश्यक सामग्री स्थानीय तहका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ।
केही दिनअघि कुमाख गाउँपालिकामा खोरेत रोगको संक्रमण पुष्टि भएपछि रोग अन्य पालिकामा फैलिन नदिन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतको समन्वयमा जिल्लाका सबै स्थानीय तहलाई खोप अभियानका लागि आवश्यक सामग्री उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले पशुजन्य रोग नियन्त्रणमा सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले रोग नियन्त्रणका लागि स्थानीय तह, प्राविधिक र किसानबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतका प्रमुख डा. अर्जुन पण्डितले खोरेत रोग अत्यन्त संक्रामक भएकाले प्रारम्भिक अवस्थामै पहिचान, नियमित खोप र जैविक सुरक्षा (बायो–सिक्युरिटी)का उपाय अपनाउनुपर्ने बताउनुभयो। उहाँले कुनै स्थानमा संक्रमण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराई नियन्त्रणका उपाय प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा खोरेत रोगको रोकथाम, नियन्त्रण, नमुना व्यवस्थापन, खोप अभियानलाई प्रभावकारी बनाउने उपाय तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, रोगको संक्रमण फैलिन नदिन किसानलाई समयमै सचेत गराउँदै नियमित खोप अभियान सञ्चालन गर्न सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए।
