छत्रेश्वरीमा ‘पानीका कुडा’ सम्मेलन, सुरक्षित खानेपानीलाई दिगो बनाउन जोड

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ अषाढ १५, सोमबार (३ हप्ता अघि)
  • १४५ पटक पढिएको

छत्रेश्वरीमा ‘पानीका कुडा’ सम्मेलन, सुरक्षित खानेपानीलाई दिगो बनाउन जोड

सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरक्षित खानेपानीको दिगो व्यवस्थापन तथा पानीका मुहान संरक्षणका विषयमा ‘पानीका कुडा’ सम्मेलन सम्पन्न भएको छ।
“सबैका लागि सुरक्षित पानी, सबैको जिम्मेवारी” भन्ने नारासहित गाउँपालिकाको वास (WASH) इकाइको आयोजनामा सम्मेलन गरिएको हो। सम्मेलनको उद्देश्य खानेपानीका मुहान संरक्षण, खानेपानी योजनालाई दिगो बनाउने, खानेपानी उपभोक्ता समितिलाई संस्थागत रूपमा दर्ता गराउने, नियमित मर्मत–सम्भार गर्ने तथा नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले खानेपानी आयोजना निर्माण भए पनि दीर्घकालसम्म सञ्चालन हुन नसक्ने समस्या रहेको उल्लेख गर्दै अब उपभोक्ता समितिलाई थप जिम्मेवार, सचेत र सक्षम बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो। यस्ता सम्मेलनले अनुभव आदान–प्रदान, सिकाइ र समन्वयमार्फत खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।


सम्मेलनमा गाउँपालिकाभित्रका ८८ वटा खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले आफ्नो क्षेत्रमा खानेपानी व्यवस्थापनका क्रममा भोगिरहेका समस्या, चुनौती र समाधानका उपायबारे धारणा राखेका थिए।
उपाध्यक्ष बुद्धकुमारी केसीले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दीगो सञ्चालनमा उपभोक्ताको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले खानेपानी योजनालाई दिगो बनाउन गाउँपालिकाले आवश्यक कार्यविधि निर्माण गरी कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो। योजना निर्माणपछि छिट्टै बिग्रिने अवस्थाको अन्त्य गर्न उपभोक्ता समितिलाई थप सक्रिय बनाइने र सरसफाइका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो।
छत्रेश्वरी गाउँपालिका–६ का वडाध्यक्ष टिकाराम बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार तथा अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघ, सल्यानका अध्यक्ष डिल्लीराज रावतले सहजीकरण गर्नुभएको उक्त सम्मेलनले स्थानीय स्तरमा सुरक्षित खानेपानीको पहुँच विस्तार, पानीका मुहानको संरक्षण तथा उपभोक्ता समितिको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली