
सल्यान,वनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण प्रतिवेदनमाथि सरोकारवालासँग विस्तृत समीक्षा गर्दै सार्वजनिक सेवा प्रवाह तथा नागरिक सन्तुष्टि सर्वेक्षण (आर्थिक वर्ष २०८२/०८३) को नतिजा सार्वजनिक गरेको छ। कार्यक्रममा नगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका विकास आयोजना, बजेट कार्यान्वयन, सेवा प्रवाह, सुशासन, पारदर्शिता तथा उत्तरदायित्वको अवस्थाबारे समीक्षा गर्नुका साथै नागरिकबाट प्राप्त सुझावलाई आगामी नीति, कार्यक्रम तथा बजेट निर्माणमा समावेश गर्ने प्रतिबद्धता जनाएको छ।
ग्रामीण विकास सञ्चार केन्द्र, शारदा नगरपालिका–२, सल्यानको सहजीकरणमा आयोजित कार्यक्रममा नगरप्रमुख कर्णबहादुर बुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा विभिन्न वडाबाट सहभागी भएका सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सामाजिक परीक्षणका सहजीकर्ता प्रतीक इच्छुक शर्माले सामाजिक परीक्षण प्रतिवेदन तथा सार्वजनिक सेवा प्रवाह र नागरिक सन्तुष्टि सर्वेक्षणको प्रारम्भिक नतिजा प्रस्तुत गर्दै सामाजिक परीक्षण स्थानीय सरकारको पारदर्शिता, उत्तरदायित्व र सुशासन प्रवर्द्धन गर्ने महत्वपूर्ण सामाजिक जवाफदेहिता उपकरण भएको बताउनुभयो। उहाँले सामाजिक परीक्षणले विकास आयोजना तथा सार्वजनिक सेवाको वास्तविक अवस्था पहिचान गरी सुधारका लागि स्पष्ट मार्गनिर्देशन गर्ने उल्लेख गर्नुभयो।
उहाँका अनुसार प्रतिवेदन नगरपालिकाका वार्षिक योजना, नीति तथा कार्यक्रम, आर्थिक तथा भौतिक प्रगति विवरण, विषयगत शाखा र वडा कार्यालयबाट प्राप्त तथ्याङ्क, स्थलगत अवलोकन, सरोकारवालासँग गरिएको छलफल, सेवाग्राहीसँगको अन्तर्वार्ता तथा सम्बन्धित कानुनी व्यवस्थाको अध्ययनका आधारमा तयार गरिएको हो। प्रतिवेदनमा नगरपालिकाको समग्र अवस्था, आर्थिक व्यवस्थापन, सेवा प्रवाह, विकास आयोजना, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा, सुशासन, सूचना प्रविधि, असल अभ्यास, चुनौती तथा सुधारका सुझावसहित २४ वटा प्रमुख शीर्षक समावेश गरिएको उहाँले जानकारी दिनुभयो।
प्रतिवेदनअनुसार वनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सूचना प्रविधिमा आधारित सेवा विस्तारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। आठ वटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् भने १९० दशमलव ५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको छ। नगरपालिकाले १० प्रकारका सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन थालेको छ भने डिजिटल नागरिक वडापत्र कार्यान्वयनमा ल्याएर सेवाग्राहीलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ।
त्यसैगरी वडा नं. १२ मा अर्गानिक टिमुर उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालन गरिएको, संस्थागत सुत्केरी प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइएको तथा १२ मध्ये ६ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। स्थानीय तहमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाहलाई क्रमशः डिजिटल माध्यममा रूपान्तरण गर्ने प्रयासलाई पनि प्रतिवेदनले सकारात्मक अभ्यासका रूपमा औँल्याएको छ।
सामाजिक परीक्षण प्रतिवेदनले १५ शैयाको आधारभूत अस्पताल निर्माण, सडक तथा यातायात पूर्वाधार विस्तार, कृषि तथा पशुपालन प्रवर्द्धन, विद्यालय पूर्वाधार विकास, सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सूचना प्रविधिमा आधारित सेवा विस्तारलाई नगरपालिकाका प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेको छ। यद्यपि दक्ष जनशक्ति व्यवस्थापन, आन्तरिक राजस्व अभिवृद्धि, बहुवर्षीय आयोजना समयमै सम्पन्न गर्ने, सबै वडामा समानस्तरको सेवा सुनिश्चित गर्ने तथा केही पूर्वाधार आयोजनाको गुणस्तरमा थप सुधार आवश्यक रहेको निष्कर्ष पनि प्रतिवेदनले निकालेको छ।
कार्यक्रमकै अवसरमा सार्वजनिक गरिएको सार्वजनिक सेवा प्रवाह तथा नागरिक सन्तुष्टि सर्वेक्षणमा नगरपालिकाबाट विभिन्न सेवा लिएका २०० जना सेवाग्राहीलाई नमुनाका रूपमा छनोट गरिएको थियो। नेपाल सरकारको सार्वजनिक सेवा प्रवाह मापदण्डअन्तर्गतको ‘सिटिजन रिपोर्ट कार्ड’ विधिअनुसार गरिएको सर्वेक्षणमा सेवा प्राप्तिको सहजता, कर्मचारीको व्यवहार, सूचना प्रवाह, पारदर्शिता, समयपालना, गुनासो सुनुवाइ, कार्यालयको भौतिक अवस्था तथा समग्र सेवा सन्तुष्टिबारे अध्ययन गरिएको थियो।
सर्वेक्षणका क्रममा अधिकांश सेवाग्राहीले नगरपालिकाले पछिल्ला वर्षमा सेवा प्रवाहमा सुधार ल्याउने प्रयास गरेको प्रतिक्रिया दिएका छन्। यद्यपि कर्मचारी अनुपस्थित हुँदा सेवा प्रभावित नहुने वैकल्पिक व्यवस्था गर्नुपर्ने, सेवा लिनुअघि आवश्यक प्रक्रिया तथा आवश्यक कागजातबारे स्पष्ट जानकारी दिने प्रणाली विकास गर्नुपर्ने, कर्मचारीको व्यवहारलाई थप सेवाग्राहीमैत्री बनाउनुपर्ने तथा तोकिएको समयमै सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्।
सहभागीहरूले गुनासो व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन, कार्यालय समयमा कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्न तथा सेवा लिन आउने नागरिकलाई अनावश्यक रूपमा लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सर्वेक्षणमा प्रविधिमैत्री सेवा विस्तारको माग पनि प्रमुख रूपमा उठेको छ। मोबाइल एप वा वेब प्रणालीमार्फत फाराम भर्ने, निवेदन दर्ता गर्ने, आवश्यक कागजात अपलोड गर्ने तथा सेवा प्रक्रियाको अवस्था अनलाइनमार्फत हेर्न सकिने व्यवस्था विकास गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका छन्। नगरपालिकामा डिजिटल सूचना बोर्ड सञ्चालन गरी सार्वजनिक सूचना, नागरिक वडापत्र, सेवा प्रक्रिया तथा जनचेतनामूलक सामग्री नियमित रूपमा प्रदर्शन गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
