
जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावका कारण फेरि शल्यक्रिया सेवा बन्द भएको छ । एनआईएस कार्यक्रमअन्तर्गत दुई महिनाका लागि खटिनुभएका एमडिजिपी डा. रहिस कोजु र मेडिकल अधिकृत डा. सुमन यादवको कार्यअवधि सकिएपछि शनिबारदेखि शल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार शल्यक्रिया सेवा बन्द भएपछि जिल्लामै न्यून शुल्कमा उपचार पाउँदै आएका बिरामी अहिले दाङ, नेपालगञ्ज र सुर्खेतका अस्पताल धाउन बाध्य भएका छन ्। विशेषगरी दुई–तीन घण्टा गाडी वा एम्बुलेन्समा यात्रा गर्नुपर्ने भएकाले जटिल अवस्था भएका गर्भवती महिलाले थप जोखिम र सास्ती बेहोर्नुपरेको छ ।
जटिल गर्भवती महिलालाई लक्षित गर्दै जिल्ला अस्पताल सल्यानमा करिब डेढ दशकअघि शल्यक्रिया सेवा सुरु गरिएको थियो । सेवा बन्द भएसँगै जिल्लाका विभिन्न पालिकामा रहेका आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट रिफर भएर आउने बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन । ग्रामीण क्षेत्रबाट ठूलो खर्च गरेर जिल्ला अस्पताल पुग्ने बिरामीलाई उपचार नपाई पुनः बाहिरी जिल्लामा जानुपर्दा आर्थिक र मानसिक दुवै भार थपिएको छ ।
“पहिले पनि शल्यक्रिया सेवा बन्द भएपछि दुई महिनाका लागि एक जना एमडिजिपी र एक जना मेडिकल अधिकृत पठाइएको थियो । उहाँहरूको अवधि सकिएपछि शनिबारदेखि फेरि अप्रेसन सेवा बन्द भएको हो,“ डा. बुढाले भन्नुभयो । उहाँका अनुसार सेवा पुनः सञ्चालनका लागि संघीय र प्रदेश सरकारसँग आवश्यक चिकित्सक पठाइदिन आग्रह गरिएको छ । “जिल्ला अस्पताल सल्यानमा महिनामा एक सयभन्दा बढी सुत्केरी हुने गर्छन । तीमध्ये करिब १० देखि १२ जनासम्मको शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । अस्पतालमै सेवा उपलब्ध होस् भन्ने हाम्रो चाहना हो, तर दक्ष चिकित्सक नहुँदा बिरामीलाई बाहिर रिफर गर्न बाध्य भएका छौं,“ उहाँले भन्नुभयो । उहाँका अनुसार दक्ष जनशक्तिको अभावका कारण जिल्ला अस्पतालमा बेला–बेलामा अत्यावश्यक स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । वि.सं. २०४४ सालमा स्थापना भएको जिल्ला अस्पताल सल्यान १५ शय्याको स्वीकृत दरबन्दी भए पनि हाल ४० भन्दा बढी बेड सञ्चालन गरी विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
