
सल्यानमा देखिएको खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन ग्यास डिलर व्यवसायीलाई निर्देशन दिएको छ।
जिल्लाभर ग्यास अभाव भएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा ग्यास डिलर व्यवसायी, उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र सञ्चारकर्मीसँग छलफल गरिएको हो।
व्यवसायीका अनुसार चैत महिनायता सल्यानमा ग्यास सिलिन्डरको आपूर्ति करिब ६० प्रतिशतले घटेको छ। लामो समयदेखि पर्याप्त ग्यास नआउँदा उपभोक्ता समस्यामा परेका छन् भने बजारमा मूल्यवृद्धिको असर समेत देखिएको छ।
छलफलमा प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले ग्यासको आपूर्ति भएपछि रातिको समयमा अनलोड नगर्न, प्राप्त भएको ग्यास पारदर्शी र पालोका आधारमा वितरण गर्न तथा वितरणको स्पष्ट अभिलेख राख्न निर्देशन दिनुभयो। साथै, कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास सिलिन्डर स्टक नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो।
उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुले अभावको अवस्थालाई अवसरका रूपमा प्रयोग गरी उपभोक्तालाई मर्कामा पार्ने काम नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो। उहाँले उपलब्ध हुने ग्यास सबै उपभोक्ताले समान रूपमा पाउने गरी निष्पक्ष वितरण गर्नुपर्नेमा जोड दिनुभयो।
छलफलले हाल आपूर्ति भइरहेका मनकामना र राप्ती ग्याससँगै भेरी ग्याससँग पनि समन्वय गरी आपूर्ति बढाउने, राति ८ बजेदेखि बिहान ४ बजेसम्म ग्यास सिलिन्डर अनलोड नगर्ने तथा व्यक्तिगत घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि वितरण गरिएको ग्यासको छुट्टाछुट्टै अभिलेख राख्ने निर्णय गरेको छ।
प्रशासनले निर्णयको प्रभावकारी कार्यान्वयनबाट ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेको छ।
