
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सल्यानमा मापसे (मादक पदार्थ सेवन) तथा लागूऔषध सेवन (लापसे) चेकजाँच अभियान सञ्चालन गरिएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला ट्राफिक प्रहरी कार्यालयले वनगाड कुपिण्डे नगरपालिका स्थित सल्लीबजार चौरजहारी सडकखण्डको सल्लीबजारमा संयुक्त रूपमा चेकजाँच अभियान सञ्चालन गरेका हुन् ।
अभियानमा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक पातलीलगायत सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रहरीले सवारी चालकमा मादक पदार्थ तथा लागूऔषध सेवनको परीक्षण गर्दै ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ। सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा सुनिश्चित गर्ने तथा सवारी चालकमा जिम्मेवारीबोध बढाउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। यो अभियान जिल्लाभर चलिरहेको छ ।
