बाढी डुबानमा उद्धार गर्न सल्यानको कुपिण्डे तालमा ¥याफ्ट बोट परिक्षण

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ श्रावण २५, सोमबार (३ हप्ता अघि)
  • १३० पटक पढिएको

बाढी डुबानमा उद्धार गर्न सल्यानको कुपिण्डे तालमा ¥याफ्ट बोट परिक्षण

सल्यानमा बाढी, डुबान तथा अन्य जलजन्य विपद्का बेला उद्धारमा प्रयोग गर्ने गरी खरिद गरिएको ¥याफ्ट बोटको परीक्षण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले करिब ५ लाख रुपैयाँमा खरिद गरेको बोट आइतबार वनगाड कुपिण्डे नगरपालिका–८ स्थित कुपिण्डे तालमा लगेर पानीमा सञ्चालनको परीक्षण गरेको हो।
विपद्का बेला तत्काल उद्धारमा खटिनुपर्ने सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गरिएको परीक्षणका क्रममा बोट पानीमा चलाएर यसको सञ्चालन क्षमता र अवस्थाबारे परीक्षण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। विपद्का घटना भएपछि उद्धारका लागि आवश्यक सामग्री तथा उपकरण तत्काल उपलब्ध नहुने अवस्थालाई ध्यानमा राखेर बोट खरिद गरिएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले बाढी तथा डुबानका बेला मानिसको उद्धारका लागि बोट उपयोगी हुने बताउनु भयो । उहाँका अनुसार जिल्लाका नदी, ताल तथा जलाशयमा हुने विपद्मा तत्काल परिचालन गर्न सकिने गरी बोट तयार राख्ने उद्देश्यले परीक्षण गरिएको हो। ‘विपद्का बेला उद्धारका लागि आवश्यक पर्ने भएकाले ¥याफ्ट बोट खरिद गरेका हौं,’ उहाँले भन्नु भयो, ‘यसको अवस्था र पानीमा सञ्चालन गर्न सकिने अवस्था कस्तो छ भनेर परीक्षण गरिएको हो।’


सल्यानमा वर्षायाममा नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले बाढी र डुबानको जोखिम रहने गरेको छ। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने भेरी नदी आसपासका बस्ती तथा अन्य नदी र जलाशयमा पानीको सतह बढ्दा स्थानीय बासिन्दा प्रभावित हुने गरेका छन्। त्यस्ता घटनामा उद्धारका लागि बोट उपयोगी हुने समितिको अपेक्षा छ। कुपिण्डे तालमा गरिएको परीक्षणपछि आवश्यकता परेका बेला जिल्लाका विभिन्न स्थानमा बोट परिचालन गर्न सकिने समितिले जनाएको छ। जिल्लामा मात्र नभई आसपासका क्षेत्रमा पनि ठूलो जलजन्य विपद् भएमा उद्धारका लागि बोट प्रयोग गर्न सकिने प्रजिअ सापकोटाले बताउनु भयो ।

‘जिल्लामा मात्र सीमित नराखी आवश्यकता र घटनाको प्रकृतिअनुसार आसपासका क्षेत्रमा पनि यसको प्रयोग गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, आइतबार गरिएको परीक्षणमा जिल्लामा रहेका चारवटै सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो। विपद्का बेला उद्धारमा प्रत्यक्ष रूपमा खटिने सुरक्षा निकायका जनशक्तिलाई बोट सञ्चालन तथा प्रयोगको अवस्थाबारे जानकारी गराउन पनि परीक्षण उपयोगी भएको समितिले जनाएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले केही समयअघि करिब ५ लाख रुपैयाँ खर्चेर ¥याफ्ट बोट खरिद गरेको थियो। बाढी, डुबान, नदीमा फसेका व्यक्ति तथा पानीजन्य अन्य विपद्मा उद्धारका लागि प्रयोग गर्ने उद्देश्यले बोट खरिद गरिएको समितिले जनाएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली