सल्यानबाट १३ प्रजातिका २२ लाख ६८ हजार किलो जडीबुटी निकासी


सल्यानबाट १३ प्रजातिका २२ लाख ६८ हजार किलो जडीबुटी निकासी

सल्यानबाट गत आर्थिक वर्ष २०८२÷८३ मा २२ लाख ६८ हजार १ सय ६५ किलो जडीबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटै स्थानीय तहका राष्ट्रिय वन तथा निजी आवादीबाट संकलन गरिएको जडीबुटी निकासी गरिएको हो । कार्यालयका अनुसार जडीबुटी निकासीबाट २३ करोड ३६ लाख ८१ हजार ५ सय रुपैयाँ जिल्लामा भित्रिएको छ । विभिन्न १३ प्रजातिका जडीबुटी निकासीबाट २३ लाख ३३ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सल्यानबाट टिमुर, रिठा, तेजपात, काउलोको बोक्रा, चुत्रो, गुजरगानो, अमला, घोडताप्रे, दालचिनीको बोक्रा, गुर्जो, कचुर, झ्याउ र कालिकाठको दानालगायत १३ प्रजातिका जडीबुटी निकासी भएका छन् । तीमध्ये चुत्रो, रिठा र टिमुरको निकासी सबैभन्दा बढी भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा ३ लाख २७ हजार २ सय ४५ किलो टिमुर निकासी भएको थियो । त्यसबाट १० लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको र टिमुरको बिक्रीबाट १७ करोड ९९ लाख रुपैयाँ जिल्लामा भित्रिएको खड्काले बताउनु भयो ।


यस्तै, ५ लाख ५४ हजार २ सय ३२ किलो रिठा निकासीबाट २ करोड २१ लाख रुपैयाँ र ८ लाख ६२ हजार १ सय ७५ किलो चुत्रो निकासीबाट १ करोड ८९ लाख रुपैयाँ जिल्लामा भित्रिएको उनले जानकारी दिए । कार्यालयका अनुसार गुजरगानोबाट ७५ लाख ५४ हजार, तेजपातबाट २४ लाख, काउलोको बोक्राबाट २३ लाख ५० हजार, अमलाबाट ५ लाख ४० हजार, घोडताप्रेबाट १ लाख ८० हजार, दालचिनीबाट ५१ हजार, गुर्जोबाट ९० हजार, कचुरबाट २ लाख, झ्याउबाट १० लाख र कालिकाठको दानाबाट ४ लाख ५० हजार रुपैयाँ जिल्लामा भित्रिएको छ । छत्रेश्वरी गाउँपालिका, शारदा र बनगाड कुपिण्डे नगरपालिकालगायत क्षेत्रमा टिमुरको संकलन तथा निकासी बढी हुने गरेको कार्यालयले जनाएको छ । त्रिवेणी र छत्रेश्वरी गाउँपालिका तथा बागचौर नगरपालिकामा अन्य क्षेत्रको तुलनामा रिठा बढी संकलन हुने गरेको छ ।

यस्तै, बनगाड कुपिण्डे नगरपालिका, कुमाख र दार्मालगायत क्षेत्रमा चुत्रोको बोक्रा तथा कालिमाटी, त्रिवेणी र कपुरकोट गाउँपालिकालगायत क्षेत्रमा तेजपात बढी संकलन हुने गरेको कार्यालयले जनाएको छ । सल्यानबाट अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा १७ लाख ३९ हजार किलोभन्दा बढी जडीबुटी संकलन तथा निकासी भएको थियो । त्यसबाट १९ लाख ३९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा जडीबुटी संकलन तथा निकासीको परिमाण बढेको कार्यालयको भनाइ छ ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली