
कुनै समय गाउँका प्रायः सबै घरमा पशु-चौपाय पालिन्थे। चौपायाहरूका लागि पानीको अभाव नहोस् भनेर घरआँगनदेखि जंगलसम्म साना–साना पोखरीहरू खनिएको हुन्थ्यो।बिशेस गरि भैसीहरुलाई आहाल बस्नको लागि घर नजिकै वा सार्वजनिक धारा/मुहान नजिकै स-सानो पोखरी (पंक्तिकारको गाउँमा खाली भनिन्छ) बनाइएको हुन्थ्यो।
ति पोखरिहरुको प्रयोग केवल पानी खुवाउन मात्र सीमित थिएन।त्यसबाहेक ति पोखरीहरुमा भिमलको हाँगा (डाठ) महिनौ सम्म पोखरीहरुमा डुबाएर राखिन्थ्यो र केहि समय पछी कुहिएका बोक्रा बाट रेशा निकालेर उक्त रेशाबाट पशु चौपायको लागि दाम्लो, बरियो(नाम्लो) तथा ठेकी र मदानीको लागि आवश्यक पर्ने डोरीहरू निर्माण गरिन्थ्यो भने रेशा बिहिन
भाग लाई झर्को (आगो बाल्न प्रयोग गरिने प्रज्वलनशील काठ) को रुपमा प्रयोग गरिन्थ्यो।पंक्तिकार लाई बाल्यकालमा ति पोखरीहरुमा भैसी आहाल बस्दै गर्दा साथीहरु संगै पौडी खेलेको अनुभव ताजै छ ।

बिशेषत नेपालको मध्यपहाडी भू-भागहरूमा गोठालो जाँदा पशु चौपायाहरुलाई पानीको समस्या नहोस भनेर जंगल, खोला वा स-साना खोल्साहरुमा पनि पोखरीहरु बनाइएको हुन्थ्यो । जंगलमा बर्खाको आकाशे पानी ती पोखरीमा जम्मा होस् भनेर स-साना नालिहरू पनि बनाइएका हुन्थ्यो।हरेक बर्ष मनसुन सुरु भएपछी ति पोखरीहरुको मर्मत सम्भार गरिन्थ्यो । पोखरीमा पानि जम्मा गर्नको लागि बनाइएका नालिहरुमा जम्मा भएका पात पतिंगर तथा माटो झिकेर सरसफाई गरिन्थ्यो। यसको लागि न कुनै बजेटको आवश्यकता पर्थ्यो न धेरै स्रोतसाधनको आवश्यकता।त्यस समयमा संभवत हाम्रा अग्रज किसान आमा/बुवाहरुलाई उक्त पोखरीको यस बाहेक अन्य महत्व पनि हुन्छ भन्ने थाहा थिएन होला। बर्षादको समयमा पानी बिस्तारै पोखरीमा भरिन्थ्यो, अनि त्यही पानी जमिनभित्र रसाएर भूमिगत पानीलाई पुनर्भरण गर्थ्यो। सायद त्यसैले होला, पहिले जंगल र खोला वा खोल्सातिर धेरै मुहानहरू रसाइरहेका हुन्थे, चट्टानहरु बाट वर्षभरि नै पानि रसाइरहेको देख्न सकिन्थ्यो।

ति स-साना परम्परागत पोखरिहरुले पर्यावरण स
न्तुलन गर्न ठुलो भूमिका खेलेका हुन्थ्ये।विभिन्न प्रजातिका उभयचर, सरीसृप लाई बासस्थान प्रदान गर्नुका साथै बन्यजन्तु र चराचुरुंगीको लागि पिउने पानीका स्रोत थिए ।कतिपय भ्यागुता प्रजातिको जीवन चक्र नै ति पोखरीहरुमा भर परेको हुन्थ्यो।सम्भवत ति पोखरिहरुले बन्यजन्तुको लागि पानीको स्रोत उपलब्ध गराएकै कारण हुन सक्छ केहि वर्ष अघि सम्म अहिले जस्तो मानव बन्यजन्तु द्वन्द मैले गाउँमा देखेको थिएन।

समय बित्दै गयो, देश द्वन्दको भुमरीबाट शान्ति प्रक्रियामा गयो। गाउँको जीवनशैली पनि बिस्तारै परिवर्तन हुन थाल्यो। मानिसहरू कोही सहरतिर बसाइँ सरे, कोही रोजगारीको खोजीमा गाउँ छोडेर बाहिरिए, कोही बेसीतिर।बिस्तारै गाउँहरु खालि हुन थाले । गाई–भैँसी पाल्ने चलन पनि विस्तारै घट्दै गयो।नेपाल सरकारले गरेको कृषि गणनाको तथ्यांकले पनि यहि भन्छ । बिक्रम सम्बत २०६८ को राष्ट्रिय कृषि गणना अनुसार जम्मा ८८ प्रतिशत किसान परिवारले पशु चौपाय पाल्ने गरेको तथ्यांक छ भने यो संख्या ६ प्रतिशतले घटेर बि.सं. २०७८ मा ८२ प्रतिशतमा झरेको छ।राँगा-भैसी पाल्ने कृषक परिवारको संख्या १६ लाख बाट घटेर १४ लाखमा पुगेको छ ।गाइ-गोरुको संख्या ६४ लाख बाट घटेर ४५ लाख र राँगा-भैसीको संख्या ३१ लाख बाट घटेर २९ लाख पुगेको छ।

गाउँमा पशुचौपाया पालन कम भएपछि तिनका लागि बनाइएका पोखरीहरूको मर्मत सम्भार पनि हुन छाड्यो।बिस्तारै ती पोखरीहरू हराउन थाले। कतै माटोले भरिए, कतै पात-पतिंगर र झाडीले ढाकिए। पहिले पानी बग्ने साना नालाहरू पनि माटोले भरिँदै गए र बिस्तारै देखिनै छोडे।पशु चौपायाको तथ्यांक जस्तो तेस्ता स-साना पोखरिहरु कति मात्रामा थिए होलान त्यसको कुनै अभिलेख भेटिदैन।न ति पोखरी हरुमा निर्भर रहने कुनै उभएचर हरुको बिस्तृत अभिलेख छ । ति पोखरिहरु सुक्दै जाँदा हाम्रो पर्यावरण सन्तुलन राख्ने कतिपय भ्यागुता प्रजाति तथा स-साना जीव-जन्तु /किरा-फट्यांग्रा कतै लोप पो भए कि? तेसको कुनै बिस्तृत अध्ययन भएको छैन।
हाम्रा अग्रजहरुले निर्माण गरेका ति स-साना पोखरीहरु हराउंदै जाँदा प्रकृतिको एउटा सानो तर महत्वपूर्ण चक्र पनि कमजोर हुँदै गयो। वर्षाको पानी पहिले जस्तो जमिनमा रसाएर बस्न पाएन। पानी छिट्टै बगेर खोलामा पुग्न थाल्यो। जमिनभित्र पुग्ने पानी कम हुँदै गयो।यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाब बढ्दै गईराखेको छ । बिस्तारै जंगल र खोल्सामा रहेका साना मुहानहरू सुक्न थाले। पहिले वर्षभरि पानि बग्ने पानीका मुहान/कुवाहरु अहिले कतिपय ठाउँमा मौसमी मात्र हुन थालेका छन् भने धेरै ठाउँमा सुकिसकेका छन्।जंगल, खोला खोल्साहरुमा पानीका मुहान सुक्दा मानव-बन्यजन्तु द्वन्द बढेको छ।पानीका स्रोत घट्दै जाँदा भ्यागुता हरुको संख्या घटेको छ, फलस्वरूप किरा/फट्यांग्रा (जस्तै लामखुट्टे) हरुको संख्या बढिरहेको छ । सायद हामीले कहिल्यै धेरै ध्यान नदिएको ती साना पोखरीहरू वास्तवमा गाउँको पानी प्रणालीलाई जोगाइराख्ने परम्परागत प्रबिधि थिए, हाम्रो पर्यावरण लाई सन्तुलन कायम राख्ने प्रकृतिका अभिन्न अंग थिए। आज ती हराउँदै जाँदा हामीले त्यसको प्रभाव जंगल, खोला–खोल्सा र पानीका मुहानहरूमा अनुभव गर्न थालेका छौँ। निश्चय नै, पानीका मुहान सुक्नुमा जलवायु परिवर्तनको असर पनि पक्कै परेको छ।बर्षाको ढाँचा परिवर्तन हुनु, लामो समयसम्म सुख्खा रहनु, तापक्रम बढ्नु जस्ता कारणहरूले पनि जलस्रोतहरूमा प्रभाव पारिरहेका छन्।कतिपय अध्ययनहरुले भूकम्प, पहिरो जस्ता प्राकृतिक विपद तथा अव्यवस्थित सडक तथा पूर्वाधार निर्माणका कारण पनि पानीका स्रोतहरु सुकेको उल्लेख गरेका छन्।एकाध अध्ययनले उपयोग बिहिन बनेका परम्परागत पोखरीहरु बिस्तारै अन्य भू-उपयोगमा परिवर्तन हुनु र पछिल्ला बर्षहरुमा तेस्ता स-साना पोखरीहरु घट्दै जानु मुहान सुक्ने कारकको रुपमा उल्लेख गरेको देखिएता पनि अधिकांश अध्ययन अनुसन्धानमा परम्परागत पोखरिहरुको भूमिका उल्लेख गरिएको देखिदैन।
बिशेषगरि पहाडी भेगमा हाम्रा अग्रजहरुले राँगा-भैसी लाई आहाल बस्न बनाएका वा अन्य पशुचौपाया हरुको लागि बनाएका परम्परागत हजारौं साना पोखरीहरू हराउँदै जानु पानीका मुहानहरु सुक्दै जानुको एउटा महत्वपूर्ण कारण हुन सक्छ।अब फरक कोण बाट पनि अध्ययन अनुसन्धान गर्न जरुरि देखिन्छ।
फाेटाे : जीवन शर्मा
