
दलित विकास समाज (डिडिएस) सल्यानले स्थापनाको २४ वर्ष पूरा गरेको अवसरमा रजत जयन्तीसहित साधारणसभा सम्पन्न गरेको छ। शारदा नगरपालिका–४ साहुटोलमा आयोजित कार्यक्रममा संस्थाले स्थापनादेखि हालसम्म गरेका काम तथा आगामी योजनाबारे जानकारी गराइएको थियो। डिडिएसका अध्यक्ष हेमराज विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलको प्रमुख आतिथ्यता तथा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख रावलले जिल्लामा स्थापना भएको डिडिएसले समुदायको हकहित र सामाजिक रूपान्तरणका क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउनुभयो। शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाका क्षेत्रमा संस्थाले महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँले आगामी दिनमा पनि सामाजिक सेवामा उत्तरदायी भएर काम गर्न सुझाव दिनुभयो। शारदा नगरपालिकाका उपप्रमुख सापकोटाले डिडिएसले समाज र समुदायको परिवर्तनका लागि उत्कृष्ठ तथा उदाहरणीय काम गर्दै आएको बताउनुभयो। स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। विकासका नाममा पूर्वाधार निर्माण मात्रै पर्याप्त नहुने भन्दै उहाँले नागरिकको चेतना र सोचमा समेत विकास आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा डिडिएसका संरक्षक निमबहादुर नेपाली, वरिष्ठ सल्लाहकार रमेशकुमार गौतम, कानुनी सल्लाहकार विष्णु शर्मा तथा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली राज रावतले संस्थाले लैङ्गिक समानता, बालविवाह, जातीय भेदभाव र मानव अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। शिक्षा, स्वास्थ्य तथा विभिन्न विकास परियोजना कार्यान्वयनमा पनि डिडिएसको भूमिका प्रभावकारी रहेको उहाँहरूको भनाइ थियो। कार्यक्रममा वान हर्ड वाइडका प्रतिनिधि ईश्वर बडु, गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी तथा महासंघका सदस्य धनबहादुर नेपालीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारणसभाले संस्थाको लेखापरीक्षण प्रतिवेदन तथा नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको छ। डिडिएस सल्यानले स्थापनादेखि हालसम्म दलित तथा पछाडि पारिएका समुदायको अधिकार, सामाजिक न्याय र सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। संस्थाका अनुसार स्थापना भएदेखि हालसम्म ३५ वटा परियोजना सञ्चालन भइसकेका छन्। कार्यकारी निर्देशक विनायक रेग्मीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न दातृ निकाय तथा स्थानीय सरकारसँगको सहकार्यमा ६ वटा परियोजना सञ्चालनमा छन्। हाल संस्थाले साक्षरता परियोजना, नेपालमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधारका लागि उत्थानशील स्वास्थ्य प्रणाली परियोजना, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार दिगो सबलीकरण परियोजना, स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम, बालविवाहविरुद्धको साझा अभियान ‘सञ्जाल आवाज’ तथा सबैका लागि शिक्षा सुरक्षित गर्न नागरिक समाजको भूमिका परियोजना सञ्चालन गरिरहेको रेग्मीले जानकारी दिनुभयो।
