
सल्यान जिल्लामा विकास निर्माणसँग सम्बन्धित संघीय तथा प्रदेश मातहतका कार्यालय र स्थानीय तहको आर्थिक वर्ष २०८२र८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सल्यानको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा दुईदिने समीक्षा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तह, संघीय तथा प्रदेश मातहतका कार्यालय र गैरसरकारी संस्थाले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन गरेका कार्यक्रम, बजेट खर्च, योजनाको प्रगति तथा सम्पन्न भएका आयोजनाबारे जानकारी गराएका थिए। समीक्षा कार्यक्रमको पहिलो दिन जिल्लाका १० वटै स्थानीय तह र दुईवटा गैरसरकारी संस्थाले आफ्नो वार्षिक कार्यप्रगति प्रस्तुत गरेका थिए। दोस्रो दिन संघीय तथा प्रदेश मातहतका कार्यालयहरूले कार्यप्रगति प्रस्तुत गरेका थिए। कार्यालय प्रमुखहरूले गत आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रम तथा योजनाको अवस्था, बजेट कार्यान्वयन र खर्चको विवरण, सम्पन्न भएका तथा सञ्चालनमा रहेका योजनाको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीलगायतका विषयमा जानकारी गराएका थिए। जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै सांसद अधिकारीले कानुन तथा नीति–नियमको पालना गर्दै काम गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो। उहाँले प्रत्यक्ष रूपमा जनतासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर गम्भीरतापूर्वक काम गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी सल्यानका सहसंयोजक रशेम कुमार गौतमले वार्षिक समीक्षा कार्यक्रमले आगामी दिनमा सञ्चालन गरिने काम तथा योजनाका बारेमा सिकाइ र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। गत वर्ष गरिएका कामको समीक्षा गर्दै उदाहरणीय अभ्यासलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो। जिल्लामा बेरुजुको अवस्था बढी देखिएकाले त्यसलाई घटाउँदै लैजान आवश्यक रहेको समेत उहाँले बताउनुभयो। वार्षिक समीक्षा कार्यक्रमले जिल्लामा सञ्चालन भएका विकास निर्माण तथा अन्य कार्यक्रमको प्रगति, बजेट कार्यान्वयनको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
