
रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सल्यानको कुमाख गाउँपालिकाले २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।
गाउँपालिकाले बाढीमा परी सम्पर्कविहीन तथा बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार, घाइतेको सहज उपचार र विस्थापितको सुरक्षित पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष लालबहादुर रावतले विपद्को कठिन समयमा प्रभावित परिवारलाई सहयोग र राहत उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो। साथै, उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय र सहकार्य गर्न गाउँपालिकाले आग्रह गरेको छ।

