
सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
त्रिवेणी गाउँपालिका–५ सिंखबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो जीप आज बिहान करिब ८ बजे सिंखस्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका ५ सल्लेका १८ वर्षीया विपना बुढाथोकी, सोही ठाँउ बस्ने बर्ष ५० को डिलीबहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
२ जनाको उपचारको क्रममा सल्यान अस्पतालमा मृत्यु भएको हो भने अर्का एक जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहिमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख डिएसपी दीपक पातलीले जानकारी दिनुभयो। उहाँका अनुसार मृत्यु हुने ३ जना मध्य प्रकाश र विपना एकै घरका दिदी भाइ हुन ।
दुर्घटनामा घाइते हुनेमा जीप चालक त्रिवेणी गाउँपालिका ५ सिंखका २४ वर्षीय भुपाल पुन, सोही ठाउँका गाडी साहु २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् ।
उनिहरुको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ । जिप सडक बाट ९० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
