घरेलु मदिराविरुद्ध प्रशासनमा उजुरी, १३ होटलबाट बरामद मदिरा नष्ट

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ आश्विन ७, बुधबार (१ हप्ता अघि)
  • १११ पटक पढिएको

घरेलु मदिराविरुद्ध प्रशासनमा उजुरी, १३ होटलबाट बरामद मदिरा नष्ट

घरेलु मदिरा सेवनका कारण शान्ति सुरक्षामा असर परेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा लिखित उजुरी परेपछि प्रशासनले बजार क्षेत्रका होटल तथा रेस्टुरेन्टमा अनुगमन तीव्र पारेको छ । प्रशासनको नेतृत्वमा गरिएको अनुगमनका क्रममा १३ होटल तथा रेस्टुरेन्टबाट करिब ७ हजार ४ सय रुपैयाँ बराबरको घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।
शारदा नगरपालिका–२ र ३ का केही होटल तथा रेस्टुरेन्टमा अनुगमन गरिएको हो । केही दिनअघि ती वडाका बासिन्दाले घरेलु मदिरा सेवनबाट शान्ति सुव्यवस्थामा खलल पुगेको भन्दै जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द बिष्टको संयोजकत्वमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको समन्वयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा विभिन्न होटल तथा रेस्टुरेन्टबाट बरामद गरिएको घरेलु मदिरा इलाका प्रहरी कार्यालय शीतलपाटीको परिसरमा नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी धुर्ब खत्रीले बताए ।


उनका अनुसार अनुगमनका क्रममा केही होटलमा घरेलु मदिरा भेटिएपछि बरामद गरी नष्ट गरिएको हो । चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिरहेका बेला प्रशासनमा परेको उजुरीका आधारमा शारदा नगरपालिका–२ र ३ मा अनुगमन गरिएको उनले बताए ।
‘घरेलु मदिरा सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पुगेको भन्दै प्रशासनमा लिखित उजुरी परेको यो पहिलो घटना हो,’ खत्रीले भने, ‘बजार क्षेत्र भएकाले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने तयारी छ।’
प्रशासनले चाडपर्वका बेला मदिरा तथा अन्य उपभोग्य वस्तुको अवैध बिक्री–वितरण र गुणस्तरहीन वस्तुको कारोबार हुन नदिन बजार अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ । चाडपर्व लक्षित अनुगमनका लागि जिल्लाका अन्य बजारमा समेत तयारी भइरहेको प्रशासनले जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली