
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सल्यानका तीन प्रमुख सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले एक सूचना जारी गर्दै असोज ८ देखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म ती सडकखण्डमा यातायात सञ्चालन रोक लगाएको जनाएका छ ।
सल्यानका प्रमुख जिल्ला अधिकारी वन्धना कुमारी केसीका अनुसार राप्ती राजमार्गअन्तर्गत लुहाम–कपुरकोट–तुल्सीपुर सडकखण्ड, राप्ती राजमार्गकै बाङ्गेलाखुरी–झुल्नेटा सडकखण्ड र तुल्सीपुर–कालीमाटी–सुर्खेत सडकखण्डअन्तर्गत कालीमाटीदेखि काल्चेसम्मको सडकखण्ड रातिको समयमा सवाचरी आवागमनमा रोक लगाइएको हो । यी सडक खण्डमा भारी वर्षाका समयमा पहिरो, बाढी तथा सडक अवरुद्ध हुने जोखिम बढ्ने भएकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी सडक बन्द गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैलाई सूचनाको पालना गर्न तथा जोखिमयुक्त समयमा ती सडकखण्डमा यात्रा नगर्न आग्रह गरेको छ । वर्षाको अवस्था र सडकको जोखिमलाई ध्यानमा राखी आवश्यक निर्णय तथा समन्वय गरिने प्रशासनले जनाएको छ । सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न सडक बन्दसहित आवश्यक पूर्वतयारी गरिएको जानकारी प्रजीअ केसीले जानकारी दिनुभयो ।
