
जिल्ला प्रशासन कार्यालय सल्यानले प्रशासनमा आउने सेवाग्राहीहरुको लागि निशुल्क सेवा सञ्चालन गरेको छ । सेवाग्राहीलाई आवश्यक पर्ने फाराम भर्ने, फोटोकपी, स्क्यान तथा प्रिन्टलगायतका सेवा निःशुल्क गरेको हो । यसअघि यस्ता कामका लागि सेवाग्राहीले कार्यालयबाहिर गएर शुल्क तिर्नुपर्ने अवस्था रहेकोमा अब प्रशासनमै निःशुल्क सेवा पाउने भएका हुन् ।
कार्यालयले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा विभिन्न सिफारिसका लागि आवश्यक पर्ने निवेदन तथा फाराम भर्ने सेवा निःशुल्क गरेको हो । यस्तै, राहदानी र राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने अनलाइन फाराम भर्ने, कागजात फोटोकपी तथा स्क्यान गर्ने, इमेलमार्फत आवश्यक कागजात पठाउने तथा प्रिन्ट गर्ने सेवासमेत निःशुल्क उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी वन्धना कुमारी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि यी कामका लागि सेवाग्राहीले कार्यालयबाहिरका साइबर तथा फोटो स्टुडियोलगायतका स्थानमा पुगेर रकम तिर्नुपर्ने बाध्यता थियो । प्रशासन कार्यालयमै सेवा निःशुल्क भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने भएको छ । कार्यालयले सेवाग्राहीलाई आवश्यक सहयोगका लागि नागरिक सहायता कक्ष वा सम्बन्धित शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।
