
जडिबुटी खेती, संकलन, भण्डारण, प्रशोधन तथा बजारीकरण सम्बन्धी अगुवा कृषकहरूको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जेठ १ र २ गते सञ्चालन गरिएको उक्त कार्यक्रम मूलपानी वनस्पति उद्यानस्थित तालिम हलमा सम्पन्न भएको हो। प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत तथा आयुर्वेद स्वास्थ्य केन्द्र, सल्यानको आयोजना तथा समन्वयमा कार्यक्रम सञ्चालन गरिएको थियो भने वनस्पति अनुसन्धान केन्द्र, सल्यानले सहजीकरण तथा प्रमुख प्रशिक्षणको जिम्मेवारी सम्हालेको थियो।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कपुरकोट गाउँपालिकाका ६ वटै वडाबाट सहभागी भएका अगुवा कृषकहरूलाई जडिबुटीको वैज्ञानिक खेती, संरक्षण, संकलन विधि, सुरक्षित भण्डारण, प्रशोधन प्रक्रिया तथा बजार व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो। अभिमुखीकरणमा स्थानीय स्तरमा पाइने बहुमूल्य जडिबुटीको पहिचान, व्यावसायिक उत्पादनको सम्भावना तथा आयआर्जनसँग जोड्ने उपायका बारेमा समेत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी कृषकहरूलाई जडिबुटी खेतीलाई व्यवसायिक रूपमा विस्तार गर्न आवश्यक प्राविधिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम अन्तर्गत मूलपानी वनस्पति उद्यानको फिल्ड भिजिटसमेत गराइएको थियो। फिल्ड अवलोकनका क्रममा विभिन्न जडिबुटी प्रजातिको संरक्षण, उत्पादन र व्यवस्थापनका अभ्यासबारे प्रत्यक्ष जानकारी दिइएको थियो। कृषकहरूले जडिबुटी खेतीको व्यावहारिक पक्ष बुझ्न पाएको बताएका छन्। वनस्पति अनुसन्धान केन्द्र, सल्यानका प्रशिक्षक डा। मित्र पाठक र डा। सम्झना जिसीले प्रशिक्षण सहजीकरण गर्नुभएको थियो। उहाँहरूले जडिबुटी खेतीको सम्भावना, उत्पादनपछिको व्यवस्थापन तथा बजार पहुँच विस्तारका विषयमा सहजीकरण गर्नुभएको थियो। यस्तै जडिबुटीको महत्व, मुल्य लगायत कस्तो खालको जडिबुटी आयुर्वेदिनमा औषधिमा प्रयोग गर्ने, फाइदा बेफाइदाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमले स्थानीय कृषकहरूलाई जडिबुटी खेतीतर्फ आकर्षित गर्नुका साथै आयमूलक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।उद्घाटन तथा समापन कार्यक्रम सहजीकरण एवं फिल्ड ब्रीफिङ बरिस्ठ कबिराज पुस्पा आचार्य शर्माले गर्नुभएको थियो ।
